डेंगीका १, २ र ३ सेरोटाइप पुष्टि  « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

डेंगीका १, २ र ३ सेरोटाइप पुष्टि 


२२ मंसिर २०७९, बिहिबार


काठमाडौँ । यो वर्ष महामारीको रूपमा फैलिएको डेंगीका ३ सेरोटाइप (समूह) पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार देशभरबाट लिइएको ३३४ नमुनाबाट सेरोटाइप १, २ र ३ पुष्टि भएको हो ।

त्रिभुवन विश्वविद्यालयमा ५० वटा नमुना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २७२ र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १२ वटा नमुना परीक्षणमा यी ३ सेरोटाइप पुष्टि भएका हुन् ।

ईडीसीडीका कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा.गोकर्ण दाहालले १५४ नमुनामा सेरोटाइप १, ३४ वटा नमुनामा सेरोटाइप २ र ८१ वटा नमुनामा सेरोटाइप ३ देखिएको जनाए ।

७७ वटै जिल्लामा फैलिएको डेंगीबाट साउनयता ५३ हजार ९५१ जना संक्रमित र ६२ जनाको मृत्यु भइसकेको छ । डेंगी शून्य नै नभए पनि केशहरु हाल निकै कम भइसकेका छन् । तथ्याङ्क हेर्ने हो भने दैनिक १० देखि १२ जनामा डेंगी पुष्टि भइरहेको छ ।

नेपालमा सन् २००४ मा पहिलो पटक डेंगी पुष्टि भएको थियो । सन् २००६, २०१०, २०१३, २०१६, २०१७ तथा २०१९ मा डेंगीका सबैभन्दा धेरै केश पुष्टि भएका थिए । सबैभन्दा धेरै सन् २०१९ मा १७ हजार ९ सय ९२ जनामा डेंगी पुष्टि भएको थियो जसले महामारीको रूप लिएको थियो । त्यतिबेला ६८ जिल्लामा फैलिएको डेंगीबाट ६ जनाको मृत्यु भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस