सरकार बनाउन बाम एकताबारे छलफल हुँदै छ ? « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सरकार बनाउन बाम एकताबारे छलफल हुँदै छ ?


१६ मंसिर २०७९, शुक्रबार


काठमाडौँ । नेकपा एमालेका सचिव रघुवीर महासेठले बाम एकताको विषयमा कुनै छलफल नभएको बताएका छन्।

शुक्रबार बिहान प्रेस चौतारी धनुषाले जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव महासेठले संघीय सरकार गठनका लागि अहिलेसम्म बाम एकताको कुरा नभएको दाबी गरे।

पत्रकारको जिज्ञासामा उनले भने, ‘पार्टी अध्यक्ष ओलीज्यूले प्रचण्डलाई जितको बधाई दिनुभयो। प्रचण्डजीले पनि उहाँलाई बधाई दिनुभएको हो। तर, सरकार निर्माण वा बाम एकताको विषयमा त्यस्तो कुनै कुराकानी भएको छैन।’ यथास्थितमा बाम एकता गर्न नसकिने बताउँदै महासेठले भने, ‘शेरबहादुरजीलाई नेता मान्नेहरूसँग तत्काल बाम एकता सम्भव पनि छैन।’

समानुपातिकतर्फको मतपरिणाम आइसकेको अवस्थामा मात्रै सङ्घ र प्रदेशका सरकार गठनको विषयमा पार्टीभित्र छलफल हुने उनले प्रस्ट्याए।

अर्को प्रसङ्गमा उनले विगतमा केपी ओली नेतृत्वले गरेको विकास निर्माणको काम देखेर मधेसी जनताले एमालेलाई विश्वास गरेर मत दिएको बताए। ‘पाँच वर्षअघिसम्म मधेसमा एमालेको नाम सुन्न कोही तयार थिएन,’ उनले भने, ‘तर, ओलीज्यूको नेतृत्वमा दुई हजारभन्दा बढी लोकप्रिय योजनाहरूमा काम गर्दा एमालेप्रति मधेसी जनताको विश्वास बढेको छ।’

अब बन्ने सरकारले तीन महिनाभित्र अङ्गीकृत नागरिकका सन्तानलाई नागरिकता नदिए एमालेले मधेस प्रदेशमा आन्दोलन गर्ने उनको चेतावनी छ।

Tags :
प्रतिक्रिया दिनुहोस