सर्वोच्चले पाँच वर्षभन्दा पुराना मुद्दा हेर्न छुट्टै इजलास गठन गर्ने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सर्वोच्चले पाँच वर्षभन्दा पुराना मुद्दा हेर्न छुट्टै इजलास गठन गर्ने


२५ कार्तिक २०७९, शुक्रबार


काठमाडौँ । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पाँच वर्षभन्दा पुराना मुद्दालाई हेर्न छुट्टै इजलास गठन गर्ने बताएका छन् । नेपाल कानुन व्यवसायी परिषद्ले शुक्रबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै कायममुकायम प्रधानन्यायाधीश कार्कीले १३ वर्षदेखिको मुद्दाको चाङ न्यायालयमा रहेको उल्लेख गर्दै त्यसलाई सम्पादन गरेर पीडितलाई न्याय दिन सो व्यवस्था गर्न लागिएको समेत स्पष्ट पारे ।

उनले पुराना मुद्दालाई सल्टाउनका लागि आफूले त्यसलाई स्थगितको लिष्टमा नपर्ने गरी आवश्यक व्यवस्था मिलाएको पनि बताए । कायममुकायम प्रधानन्यायाधीश कार्कीले पुराना मुद्दाहरूलाई स्थगित नगरी प्राथमिकताका साथ अघि बढाउन कानुन व्यवसायीहरूलाई समेत आग्रह गरे ।

कायममुकायम प्रधानन्यायाधीश कार्कीले न्यायालयको स्वतन्त्रतामाथि हस्तक्षेप गर्न खोज्नेहरूलाई निस्तेज पार्ने काममा नेपाल बारले खेल्दै आएको भूमिकाको प्रशंसा समेत गरे । न्यायालयको स्वतन्त्रतामाथि हस्तक्षेप गर्न खोजिएको इतिहास स्मरण गराउँदै उनले त्यसलाई जोगाउनका लागि नेपाल बारले खम्बाकोरुपमा काम गरेको बताए । कायममुकायम प्रधानन्यायाधीश कार्कीले बार र बेञ्चको सहकार्यमा मात्रै न्यायालयलाई उचाइमा पुर्‍याउन सकिने पनि बताए ।

कायममुकायम प्रधानन्यायाधीश कार्कीले न्यायपालिकालाई उचाइमा पुर्‍याउनका लागि बार र बेञ्चबीच हातेमालो गरेर अघि बढ्नुपर्ने पनि पटक-पटक दोहोर्‍याए । त्यसका लागि सहकार्यका साथ अघि बढ्न आफूहरू सदा तयार रहेको उनको भनाई थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस