सन्दीप पक्षका वकिल जिल्ला अदालतको आदेशविरुद्ध पुनरावेदन जाने तयारीमा  « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सन्दीप पक्षका वकिल जिल्ला अदालतको आदेशविरुद्ध पुनरावेदन जाने तयारीमा 


१८ कार्तिक २०७९, शुक्रबार


काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको पक्षमा बहस गरेका कानुन व्यवसायीहरूले जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत जाने तयारी गरेका छन् । सन्दीपलाई पुर्पक्षका लागि कारागार चलान गर्ने जिल्ला अदालत काठमाडौँको आदेशविरुद्ध उनका कानुन व्यवसायीले पुनरावेदनमा जाने तयारी गरेका हुन् ।

सन्दीपक्षको पक्षमा बहस गरेकी अधिवक्ता सुधा रिजालले आफूहरूसँग बलियो प्रमाण भएकाले उच्च अदालतबाट न्याय पाउने आशा लिएको बताइन् । 

‘आज सम्मानित अदालतबाट सन्दीप लामिछानेलाई थुनामा राखेर मुद्दा अगाडि बढाउने वा थुनाबाट बाहिर राखेर मुद्दालाई निरन्तरता दिने भन्ने बहस पैरवी भएको थियो । सम्मानित अदालतको बेन्चबाट लामिछानेलाई कारागारभित्रै राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश भएको छ । हामी यसको रिभ्यूमा जान्छौँ । हामीसँग प्रमाणहरू छन् । सम्भवतः जिल्ला अदालतबाट नपाएको न्याय माथिल्लो अदालतबाट पाउँछौँ भन्ने आशा लिएका छौँ, ‘उनले भनिन् । 

तर अर्का अधिवक्ता यज्ञमणि न्यौपानेले भने बलात्कारको आरोप लागेका व्यक्तिहरू उच्च अदालतमा जाँदा पनि जिल्ला अदालतकै निर्णयलाई स्वीकार गरिसकेको नजिर रहेकाले सन्दीप पक्षधर वकिलहरूले यसबारेमा सल्लाह गरेर अघि बढ्ने बताए । उनले नेपालको संविधान पुरानो भएकाले त्यसलाई परिमार्जन गरेर अघि बढ्न आवश्यक रहेको बताए । उनले पुरानो ऐन, कानुनले गर्दा छुट्ने व्यक्तिहरू पनि कारागार जान बाध्य भइरहेको दाबी गरे । 

सन्दीपले गत भदौ ५ गते राति काठमाडौँस्थित एक होटेलमा लगेर जबरजस्तीकरणी गरेको भन्दै नाबालिकाको तर्फबाट भदौ २१ मा प्रहरीमा उजुरी परेको थियो । त्यसको भोलिपल्ट २२ गते प्रहरीले लामिछानेविरुद्ध जाहेरी दर्ता गरेर अनुसन्धान सुरु गरेको थियो । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले गत सोमबार लामिछानेविरुद्ध १० देखि १२ वर्षसम्म कैद र पीडितलाई अभियुक्तबाटै यथोचित क्षतिपूर्ति भराउन माग दाबी गर्दै काठमाडौं अदालतमा मुद्दा दायर गरेको थियो ।

सन्दीपलाई बलात्कार मुद्दामा पुर्पक्षका लागि केन्द्रीय कारागार सुन्धारा पठाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस