निर्वाचनका बेला नेपाल-भारत सीमा ७२ घण्टा सिल गरिने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

निर्वाचनका बेला नेपाल-भारत सीमा ७२ घण्टा सिल गरिने


३ कार्तिक २०७९, बिहिबार


काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सुरक्षा व्यवस्था मजबुत बनाउन निर्वाचनको समयमा ७२ घण्टा सीमा सिल गर्ने सहमति भएको छ । 

भारतको उत्तराखण्ड प्रदेशको उद्धमसिंहनगर जिल्लाको रुद्रपुरमा आज सम्पन्न नेपाल-भारत संयुक्त बैठकले यस्तो निर्णय गरेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले जानकारी दिए ।

कैलाली-कञ्चनपुरका प्रशासन तथा सुरक्षा निकायका प्रमुख र भारतीय अधिकारीहरूबीच छलफल भएको थियो । उनका अनुसार बैठकमा सीमा नाकामा हुने आपराधिक गतिविधि हुन नदिन आ-आफ्नो क्षेत्रमा सुरक्षा निगरानी बढाउने सहमति भएको छ । 

उनले पश्चिमी सीमा नाका गड्डाचौकीमा नेपालीहरूमाथि दुर्व्यवहार हुने गुनासो आएकाले यस विषयमा पनि भारतीय सुरक्षा अधिकारीसमक्ष नाकामा मैत्रीपूर्ण व्यवहारको वातावरण बनाउन आग्रह गरिएको बताए ।

संयुक्त बैठकमा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी अर्याल, कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापा, कैलाली कञ्चनपुरका प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरू, राष्ट्रिय अनुसन्धानका अधिकारीहरू, कञ्चनपुर भन्सार कार्यालय र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख, महाकाली सिँचाइ तेस्रो चरण आयोजनाका निर्देशक, नापी तथा डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुखलगायतको सहभागिता थियो ।

भारतीयपक्षबाट उद्धमसिंहनगर उत्तराखण्डका डीएम युगल किशोर पन्त, भारतीय सीमा सुरक्षा बल (एसएसबी) का ५७ बटालियन सीतारगञ्जका प्रमुख अनिल कुमार, उद्धमसिंहनगरका प्रहरी प्रमुख एसएसपी मञ्जुनाथ टिसीलगायतका अधिकारीहरूको सहभागिता थियो । 

स्थानीयस्तरका समस्या समाधान र अपराध नियन्त्रणका लागि हरेक तीन/तीन महिनामा नेपाल-भारत संयुक्त बैठक हुँदै आएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस