कैलाली ४ मा रोचक बन्दै चुनाव, भिड्दै छन् काँग्रेस र एमाले प्रदेश कमाण्डर  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

कैलाली ४ मा रोचक बन्दै चुनाव, भिड्दै छन् काँग्रेस र एमाले प्रदेश कमाण्डर 


२५ आश्विन २०७९, मंगलबार


काठमाडौँ । कैलाली क्षेत्र नम्बर ४ को निर्वाचन रोचक देखिएको छ । प्रमुख दुई पार्टीका सुदूरपश्चिम प्रदेश नेतृत्व चुनावी मैदानमा आमनेसामने भएपछि चुनावी रौनक बढेको हो । 

त्यस क्षेत्रमा नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर गठबन्धनबाट र नेकपा (एमाले)का प्रदेश अध्यक्ष लेखराज भट्ट चुनावमा भिड्दै छन् ।  

काँग्रेसले प्रदेश सभापति बलायरलाई डोटीबाट कैलाली ४ मा चुनाव लड्न पठाएको छ भने एमालेले यसअघि नै पार्टीका सचिव एवं प्रदेश इन्चार्ज लेखराज भट्टलाई उम्मेदवार बनाएको छ ।  

यसरी पार्टीको प्रदेश कमाण्ड समालिरहेका दुई नेता एकै ठाउँबाट चुनाव लड्ने भएपछि कैलाली ४ ले सबैको ध्यान तानेको छ ।

एमालेका भट्ट यसै क्षेत्रबाट चौथो पटक चुनाव लड्ने तयारीमा छन् भने बलायर पनि डोटीबाट ३ पटक चुनावमा लडिसकेका छन् । भट्ट दुई पटक र बलायर एक पटक विजयी भएका छन् । 

संसद प्रवेशका लागि यो दुवैको चौथो प्रतिस्पर्धा हो । 

पहिलो पटक २०६४ सालको संविधानसभा निर्वाचनमा भट्ट १७ हजार ९७९ मतसहित तत्कालीन कैलाली क्षेत्र नम्बर ५ बाट निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दीर्घराज भाटले १३ हजार ६३८ मत प्राप्त गरेका थिए । 

त्यसपछि उनी पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा श्रममन्त्री भएका थिए । त्यसपछि बाबुराम भट्टराई नेतृत्वको सरकारमा पनि भट्टले वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्हालेका थिए ।

कैलालीबाटै २०७० सालको चुनावमा भने भट्ट नेपाली कांग्रेसका दीर्घराज भाटसँग पराजित भएका थिए । 

उनी तेस्रो पटक २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धनबाट काँग्रेस उम्मेदवार सुनिल भण्डारीलाई १० हजार ३ सय ९९ मत अन्तरले हराउँदै कैलाली ४ बाट निर्वाचित भएका थिए । भट्टले ३१ हजार ३५९ मत पाए भने प्रतिद्वन्द्वी सुनिल भण्डारीले २० हजार ९६० मत पाएका थिए । त्यसपछि उनी २०७६ सालमा केपी शर्मा ओली सरकारमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री बनेका थिए ।

नेकपा माओवादी, नेकपा हुँदै एमाले बनेका भट्टलाई एमालेले २०७८ सालमा सुदूरपश्चिम इन्चार्ज तोकेको थियो । २०१६ साल चैत्र ११ मा डोटीको साबिक गडसेरा गाविस-९ मा जन्मेका भट्ट २०२९ सालमा राजनीतिमा प्रवेश गरेका थिए ।

उनले २०३२ सालमा मोहनविक्रम सिंहको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी (चौथो महाधिवेशन)को सदस्यता लिए । उनी पछि नेकपा (मसाल) र नेकपा (एकता केन्द्र)मा सामेल भई २०५१ सालमा नेकपा-माओवादीको पूर्णकालीन सदस्य बनेका थिए । उनी माओवादीले सुरु गरेको सशस्त्र द्वन्द्वका क्रममा ६ महिना जेल परेका थिए ।

यता बलायर पनि पहिलो पटक डोटीबाट २०६४ सालमा संविधानसभाको उम्मेदवार बनेका थिए । त्यतिबेला उनी पराजित भए । 

त्यसपछि २०७० सालको संविधानसभा निर्वाचनमा डोटी–१ बाट निर्वाचित बलायरले २०७४ सालमा शेरबहादुर देउवा नेतृत्वको संघीय सरकारमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । बलायर प्रधानमन्त्री शेरबहादुर देउवाका साथै देउवा पत्नी आरजुको पनि विश्वास पात्रका रूपमा चिनिन्छन् ।

डोटीबाटै चुनाव लडेका बलायर २०७४ सालको निर्वाचनमा एमाले नेता प्रेमबहादुर आलेमगरसँग प्रतिनिधिसभा सदस्यमा पराजित भएका थिए । त्यतिबेला नेकपा गठबन्धन बनेको थियो । 

आले ३२ हजार ५१० मतसहित विजयी हुँदा बलायरले ३० हजार ८७८ मत प्राप्त गरेको थिए । बलायर हाल आफूलाई पराजित गरेका आलेलाई डोटी निर्वाचन क्षेत्र छोड्दै कैलालीबाट उम्मेदवार बन्न तयार भएका छन् ।

बलायरको जन्म विसं २०२२ साल भदौ ४ गते डोटी जिल्लाको लाटामाण्डौ-६ मा भएको थियो । 

३ वर्ष ६ महिना बन्दी जीवन बिताएका बलायर ०४६ सालको जनआन्दोलनताका निकै चर्चित विद्यार्थी नेता थिए । 

२०३३ सालदेखि राजनीतिमा प्रवेश गरेका बलायर २०३६ सालदेखि राजनीतिमा सक्रिय छन् ।

नेपाली काँग्रेसको डोटी जिल्ला सभापति रहिसकेका बलायर २०७८ मा भएको महाधिवेशनबाट प्रदेश सभापतिमा निर्वाचित भएका थिए । ६८८ मत ल्याएर सभापतिमा विजयी हुँदा उनका प्रतिद्वन्द्वी नारायणदत्त मिश्रले २८० मत मात्रै ल्याएका थिए ।

कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ अन्तरगत गोदावरी र गौरीगङ्गा नगरपालिका, चुरे गाउँपालिका तथा मोहन्याल गाउँपालिकाको वडा नम्बर ५ लाई समेटिएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस