सिडिओ सा’पको लगौंटियार ! « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

सिडिओ सा’पको लगौंटियार !


२५ आश्विन २०७९, मंगलबार


जीवनराम र संयम सँगसँगै स्कुल पढेका साथी थिए । आइए पनि सँगसँगै पढे । उनीहरूको दोस्ती दमदार थियो-भनौँ भने लगौंटीयार जस्तै थिए ती दुई । दुवैले सँगै आइए पास गरे । पास भए लगत्तै लोक सेवा आयोगले गरेको नायब सुब्बाको विज्ञापनमा दुवैले फाराम भरे । राम्ररी पढे । जाँच दिए । दुवै पास भए । अन्तर्वार्ता पछि निस्किएको अन्तिम योग्यताक्रममा संयम अगाडि थिए, जीवन पछाडि । आइएको जाँचमा पनि थोरैले भए पनि संयमकै प्राप्ताङ्क ज्यादा थियो ।

जीवनराम भाग्यले भनौँ वा मेहनतले भनौँ वा क्षमताले भनौँ वा यी तीनैको त्रिवेणीले त्यसपछि क्रमशः उकालो चढ्दै गए । सिडिओ भए-त्यो पनि महत्त्वपूर्ण जिल्लाको । करियर अझै बाँकी नै थियो । त्यसैले उनको उकालो यात्राको क्रमले निरन्तरता पाउने निश्चितजस्तै थियो ।

नियति वा परिस्थितिले बिचरा संयमलाई भने सुब्बा सा’पको सुब्बा सा’प नै बनाइरहेको थियो । नियति र परिस्थिति यसकारण कि उनी कुनै मानेमा पनि जीवनराम भन्दा कमजोर थिएनन् । न पढाइ लेखाइमा, न अरू कुनै कुरामा । उनको पनि करियर लगभग त्यति नै बाँकी थियो जति जीवनरामको । तर उनलाई सुब्बाबाट नै निवृत्त हुनुपर्ने हो कि भन्ने भयले सताउँदो थियो । अघिल्लो वर्ष पनि अधिकृत हुने चानस चालुगिरी र ठालुगिरीमा उस्ताद ट्रेड युनियनको एउटा खुराफाती नेताले उछिट्टाइ दिएपछि त झन् उनको चिन्ता दुगुना भएको थियो ।

संयोग यस्तो बन्दियो कि जुन जिल्लामा संयम कार्यरत थिए त्यही जिल्लाको सिडिओ भएर आए जीवनराम । जिल्लाको सिडिओ भनेपछि जिल्लाभरिका सबै हाकिमहरूका पनि हाकिम । यस्तै पदलाई राणाहरूले बडाहाकिम त्यसै भनेका थिएनन् ।

 जिल्लाका सबै हाकिमहरूले सिडिओलाई रिपोर्टिङ गर्नै पर्छ । सिडिओको कुरा सुन्नै पर्छ । मान्नै पर्छ ।

संयमका हाकिमलाई पनि सिडिओ कहाँ जानै पर्‍यो । तर प्रत्यक्ष चिनजान थिएन । सिडिओ सा’प संयमका एक जमानाका एकदमै नजिकका साथी भन्ने कता कताबाट उनले पत्तो पाएछन् । संयमले आफैँले भने यो कुरा भनेका थिएनन् । भन्न पनि मन लागेको थिएन उनलाई ।

सिडिओलाई भेट्न संयमलाई नलिई नजाने भए उनी । दुवैजना सिडिओलाई भेट्न जिल्ला प्रशासन कार्यालय पुगे । मन नलागी नलागी गएका संयमको उति सारो रुचि थिएन सिडिओलाई भेट्न । शायद मनोवैज्ञानिक समस्या थियो उनमा । वा लघुताभासले लैस थिए । अलिअलि डाह, अलिअलि ईर्ष्या, धेरै दिक्दारी, थोरै छटपटी पनि थियो होला । उनको यो अवस्थामा यस्तो हुनु स्वभाविक पनि होला । ती दुईले सिडिओ सा’पलाई कार्यकक्षमै भेटे ।

दुई सखा धेरै पछि भेट हुँदा गफिने नै भए । पुराना दिनहरू सम्झिने नै भए ।

`फलानो कहाँ छ ?´ `के गर्दै छ ?´ `ढिस्कानुको के छ खबर ?´ भन्नेदेखि थुप्रै कुराहरू भए । गाउँका कुराहरू भए । शहरका कुराहरू भए । ठुला गफहरू भए । साना गफहरू भए । अलिअलि हेडसरको कुरा भए । म्याथ सरले दिएको उटपट्याङ सजायको कुरा पनि भए । आइएको परीक्षा सकेर संयम, जीवनलगायत अरू साथीहरू मिलेर बेस्मारी जाँड धोकेपछिको हर्कत पनि सम्झिए । केटा थर्काएको सम्झिए । केटी जिस्क्याएको सम्झे ।

ती दुई भाइको गफ गराइ यस्तो थियो कि दुवैले त्यहाँ तेस्रो व्यक्ति अर्थात् संयमका हाकिम पनि छन् भन्ने कुरा दुवैले बिर्से । सिडिओ र सुब्बा बिच कुनै दिवार थियो भने त्यो भत्काइदिए । खाडल थियो भने त्यो पनि पुरिदिए । बादल थियो भने त्यो पनि फटाइदिए । अघिसम्म भेट्न मन नगरिरहेका संयमको उन्मुक्त हाँसो र कान्तिमय चेहराले यसैलाई पुष्टि गर्थ्यो ।

यता संयमका हाकिमलाई भने ती दुई भाइले जोकर जस्तो बनाइदिए । बिचरा उनी घरी जीवनरामको मुखमा, घरी संयमको मुखमा हेर्दै दाँत चिच्याउँदै ङिच्च परेर बसिरहे । उनीसँग अरू विकल्प पनि थिएन । चिनजान, चियापान, फोन नम्बर आदान प्रदान पछि दुवै फर्किए । भेटघाटको उद्देश्य जे थियो त्यो पूरा भयो ।

अर्कोपल्ट पनि दुवै जना गए । सरासर गएर भेटे । यसपल्ट सिडिओ सा’प संयमका हाकिमसँग पनि मजैले गफिए ।

जिल्लामा सिडिओ कहाँ गइरहनु अथवा धाइरहनु जिल्लाका हाकिमहरूको एउटा दिनचर्या हो । काम भन्ने कुरा त्यस्तै उस्तै हो ।

फेरि अर्कोपल्ट पनि जानुपर्ने भो ।

संयमका हाकिमले सोधे-`जाने हो संयमजी सिडिओ सा’पलाई भेट्न ?´

`अघिल्लोपल्ट आफूलाई नलिई जाँदै जान्न भन्ने मान्छे अहिले जाने हो भनेर पो प्रश्न सोध्छन् ।´

`निकै चाँडो नजिकिएछन् दुई भाइ !´

संयमले लख काटे। हाकिमको प्रश्नमा सँगै जाउँ भन्ने भावना भन्दा नगैदिए हुन्थ्यो भन्ने आग्रह ज्यादा थियो ।

यति कुरो संयमले बुझिहाले।

र भने-`तपाईँ एक्लै जानुस् म जाँदिन।´

उनी एक्लै गए ।

एवम् रीतले संयमका हाकिम र सिडिओको मित्रता प्रगाढ बन्दै गयो । शायद यही दोस्ती बरकरार राख्न होला एक दिन सिडिओ सा’प संयमको अफिस पनि आए । `मालदार´ भनेर चिनिएको संयमको कार्यालयको गरिमा बढाए । उसो त जिल्लाका जुनसुकै कार्यालयको नियमित वा आकस्मिक निरीक्षण गर्नु सिडिओको अधिकार भित्रकै कुरा हो । यो भ्रमणपछि संयमका हाकिम र सिडिओ सा’प झन् नजिक भए ।

दुवैजना एक अर्काप्रति अनुग्रहित भए । दुवैले एक अर्काको प्रशंसा गरेर नअघाउने भए । अस्तिसम्म अपरिचित दुई मनुवाको बिचमा यति छिटो यति गहिरो मित्रता भएको थियो । यो दोस्तीको सूत्रधार संयम नै भए पनि यति गहिरो मित्रताको कारक भने संयम थिएनन् । कारक को थियो वा के थियो ? यो संयमका हाकिम र सिडिओ सा’प बाहेक अरूलाई थाहा हुने कुरै भएन ।

सिडिओ सा’प आउने दिन संयम पनि आफ्नो अफिसमै थिए । आफ्नै काममा व्यस्त थिए । तर उनको विषयमा न सिडिओ सा’पले केही कुरा उक्काए, न उनका हाकिमले नै बताए ।

सिडिओ सा’प हिँडेपछि संयमका हाकिमले कुन्नि के कामले हो संयमलाई सम्झे । तुरुन्तै आफ्नो च्यामबरमा बोलाए । कामको विषयमा सोधपुछ गरे । र, अन्त्यमा भने-`सिडिओ सा’पले तपाईँलाई सोध्नुभए छ रे है।´

निक्कै अचम्म मान्दै उनले आफ्ना हाकिमलाई एकोहोरो हेरिरहे । एकछिनपछि फिस्स हाँस्दै भने-`म सँग त प्रश्न नै बाँकी भएन के सोधौँ र सर।´

Tags :
प्रतिक्रिया दिनुहोस