गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउन माग गर्दै सांसदले बुझाए प्रधानमन्त्रीलाई ज्ञापन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउन माग गर्दै सांसदले बुझाए प्रधानमन्त्रीलाई ज्ञापन


३० जेष्ठ २०७९, सोमबार


काठमाडौँ । गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको छ ।

प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूले गेटा मेडिकल कलेजलाई मेडिकल राष्ट्रिय चिकित्सा विश्वविद्यालयका रूपमा अगाडि बढाउने तर्फ सरकारको ध्यान जानुपर्ने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका हुन् ।

कैलालीमै रहेको सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल, बयलपाटा अस्पताल र डडेलधुरामा रहेको सङ्घीय अस्पतालका अन्य जिल्ला अस्पतालहरूलाई समेत विश्वविद्यालय अन्तर्गत आङ्गिक मेडिकल संस्थानका रूपमा सञ्चालन गर्न सकेमा त्यसले सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रमा ठुलो फड्को मार्ने देखिएको उनीहरूको भनाई छ ।

राष्ट्रिय चिकित्सा विश्वविद्यालय, गेटाको आवश्यकताबारे उनीहरूले विभिन्न सात वटा कारणहरू दर्साएका छन् । प्रस्तावित गेटा मेडिकल कलेजलाई स्तरोन्नति गरेर राष्ट्रिय चिकित्सा विश्वविद्यालयका रूपमा अघि बढाउँदा सुदूरपश्चिम मात्र नभई समग्र नेपालमै स्वास्थ्य क्षेत्रको अध्ययन, अध्यापन, अनुसन्धान गर्नेदेखि लिएर अध्ययनका लागि पनि आफ्नै क्षेत्रमा वातावरण बन्ने र यसबाट वर्षेनी कराडौंं रुपैयाँ मेडिकल शिक्षाका लागि बाहिर जानबाट रोकिने भनिएको छ ।

यस्तै वर्षौँदेखि गुणस्तरीय स्वास्थ्य सेवा नपाइरहेका नागरिकहरूले अहिले पनि नेपालगन्ज, चितवन, काठमाडौँ वा भारतका विभिन्न ठाँउहरुमा धाउनुपर्ने बाध्यता रहेको भन्दै गम्भीर प्रकृतिका बिरामीले सास्ती खेप्नु परेकाले गेटा मेडिकल विश्वविद्यालय निर्माण भए त्यसबाट नागरिकले सर्वसुलभ र प्रभावकारी सेवा लिन सक्ने बताइएको छ ।

समग्र सुदूरपश्चिमको आर्थिक गतिविधि देखि स्वास्थ्य पर्यटन लगायतका अन्य विविध विषयमा पनि मद्दत पुग्नुका साथै स्वास्थ्य क्षेत्रमा ठुलो रूपान्तरण हुने भनिएको छ । ‘विश्वविद्यालय स्थापना भएमा देशभित्र र देश बाहिरबाट पनि ठुलो मात्रामा जनशक्ति फर्केर आउने छन्’ प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापनमा भनिएको छ ‘यहाँ विश्वविद्यालय स्थापना भएपछि स्वदेशमै रोजगारीको अवसर सिर्जना हुनेछ। जसबाट बिदेसिएको जनशक्ति पनि आफ्नै क्षेत्रमा आएर सेवा दिनका लागि अग्रसर हुने अवस्था पनि सिर्जना हुनेछ’

यसैगरी विश्वविद्यालयको स्थापना भएसँगै यसले कैलालीको गेटा क्षेत्र मात्रै होइन समग्र सुदूरपश्चिम र देशकै स्वास्थ्य अवस्थामा देखिएको समस्यामा आमूल परिवर्तन ल्याउने र मुख्य गरी सुदूरपश्चिमका पहाडी जिल्ला र तराइका जिल्लाहरूमा पनि अहिले नागरिकलाई पाउँदै आएको स्वास्थ्य सेवा भन्दा अझ बढी गुणस्तरीय स्वास्थ्य सेवा पाउने वातावरण बन्ने ठहर सांसदहरूको छ ।

विश्वविद्यालय स्थापना भएसँगै यहाँ मेडिकल शिक्षाका विभिन्न कार्यक्रमहरू जस्तै, फार्मेसी, पब्लिक हेल्थ, मेडिकल ल्याबोरेटरि, फिजियोथेरापी, डेन्टल, अप्टोमेट्रि र फड साइन्स लगायत आधुनिक चिकित्सा विज्ञानका नयाँ र आवश्यक विधाका कोर्सहरू सञ्चालन हुनेछन् भने यसबाट दक्ष जनशक्ति उत्पादन गर्नेछ। विभिन्न विदेशी विद्यार्थी, प्राध्यापक लगायतका अध्ययन अनुसन्धान गर्न चाहने मानिसहरू पनि यहाँ आउनेछन्। जसका कारणले यस प्रदेशको समग्र विकासको प्रक्रियाले गति लिनेछ ।

विश्वविद्यालय स्थापना गरेर अघि बढ्न सकेको खण्डमा आम नागरिकले पनि मेडिकल अध्ययनका लागि अवसर प्राप्त गर्दै बढ्दो बेरोजगारी समस्याले उत्पादन भएका जनशक्ति बिदेसिनु पर्ने जुन समस्या छ त्यसलाई न्यूनीकरण गर्ने कार्य हुने छ ।

ज्ञापन बुझाउने प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरू

प्रतिनिधिसभा

१. आशाकुमारी विक, बझाङ, नेकपा एमाले
२. कलुदेवी विश्वकर्मा, कैलाली, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल
३. गणेशसिंह ठगुन्ना, दार्चुला, नेकपा एमाले
४. झपटबहादुर रावल, कैलाली, नेकपा एमाले
५. दामोदर भण्डारी, बैतडी, नेकपा एमाले
६. दिलेन्द्रप्रसाद बडू, दार्चुला, नेपाली काँग्रेस
७. डा.दीपकप्रकाश भट्ट, कञ्चनपुर, नेकपा एमाले
८. नरबहादुर धामी, कञ्चनपुर, नेकपा एमाले
९. नारदमुनि राना, कैलाली, नेकपा एमाले
१०. निरादेवी जैरु, डडेलधुरा, नेकपा एकीकृत समाजवादी
११. निरुदेवी पाल, कञ्चनपुर, नेकपा एमाले
१२. प्रकाश रसाइली(स्नेही), बझाङ, नेपाली काँग्रेस
१३. प्रेमबहादुर आले, डोटी, नेकपा एकीकृत समाजवादी
१४. बिना मगर, कञ्चनपुर, नेकपा माओवादी केन्द्र
१५. भीमबहादुर रावल, अछाम, नेकपा एमाले
१६. भैरवबहादुर सिंह, बझाङ, नेकपा एमाले
१७. यज्ञबहादुर बोगटी, अछाम, नेकपा एमाले
१८. रामबहादुर विष्ट, अछाम, नृृेपाली काँग्रेस
१९. लक्ष्मी कुमारी चौधरी, कैलाली, नेकपा एकीकृत समाजवादी
२०. लालबहादुर थापा, बाजुरा, नेकपा एमाले
२१. विनादेवी बुढाथोकी, कञ्चनपुर, नेकपा एकीकृत समाजवादी

राष्ट्रियसभा
१. इन्दु कडरिया विष्ट, नेकपा एमाले
२. जगतबहादुर पार्की, नेकपा माओवादी केन्द्र
३. तारामान स्वाँर, नेकपा माओवादी केन्द्र
४. नारायणदत्त मिश्र, नेपाली काँग्रेस
५. मदनकुमारी शाह(गरिमा), नेकपा एकीकृत समाजवादी
६. महेशकुमार महरा, नेकपा माओवादी केन्द्र
७. शारदा देवी भट्ट, नेकपा एमाले
८. हरिराम चौधरी, नेकपा माओवादी केन्द्र
स्वास्थ्य क्षेत्रका विज्ञहरू
१. प्रा. डा. चेत राज पन्त
२. प्रा. डा. शेखरबावु रिजाल
३. प्रा. डा. मुकुन्द जोशी
४. डा. एस पी कलौनी

सामाजिक अभियन्ता
१. अभयराज जोशी

Tags :
प्रतिक्रिया दिनुहोस