फेवातालको मापदण्ड घटाउनुका कारणबारे लिखित जवाफ दिन पोखरा महानगरलाई सर्वोच्चको आदेश « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

फेवातालको मापदण्ड घटाउनुका कारणबारे लिखित जवाफ दिन पोखरा महानगरलाई सर्वोच्चको आदेश


२१ जेष्ठ २०७९, शनिबार


काठमाडौँ । पोखरा महानगरलाई फेवातालको मापदण्ड घटाउनुका कारणबारे लिखित जवाफ दिन सर्वोच्च अदालतले आदेश दिएको छ।

सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले १५ दिनभित्र लिखित जवाफ दिन आदेश दिएको हो।

‘फेवातालका विषयमा के कसो भएको हो ? निवेदकको माग बमोजिम आदेश किन नदिने ? आधार र कारण छ भने पेस गर्न पोखरा महानगरलाई आदेश दिएको छ,’ अधिवक्ता खगेन्द्र सुवेदीले भने, ‘बाटोको म्यादबाहेक १५ दिनभित्र लिखित जवाफ दिन उत्प्रेषण परमादेश आएको छ।’

फेवातालसहित पोखराका ९ वटै तालको मापदण्ड आधाभन्दा बढी घटाएको भन्दै अधिवक्ता सुवेदी, सरोजनाथ प्याकुरेल, कृष्णहरि खड्का र दीपेन्द्रप्रसाद घिमिरेले जेठ ११ मा सर्वोच्च अदालतमा रिट दिएका थिए।

रिट निवेदनमा उनीहरूले पोखरा महानगर, राष्ट्रिय ताल संरक्षण समिति काठमाडौँ, पोखरा उपत्यका नगर विकास समिति र प्रदेश सरकार मातहतको ताल संरक्षण विकास प्राधिकरणलाई विपक्षी बनाएका थिए। अधिवक्ता सुवेदीका अनुसार सर्वोच्चले यी सबै संस्थालाई उक्त आदेश दिएको छ।

सर्वोच्च अदालतले फेवाताल संरक्षणका सम्बन्धमा अन्तरिम आदेश दिने कि नदिनेबारे छलफल गर्न यही जेठ २३ गते वादी र प्रतिवादी दुवै पक्षलाई बोलाएको छ।

आदेशमा भनिएको छ, ‘निवेदकले अन्तरिम आदेशसमेत माग गरेका सन्दर्भमा विचार गर्दा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने सम्बन्धमा दुवै पक्षलाई राखी छलफल गर्न उपयुक्त देखिँदा छलफल प्रयोजनार्थ २३ गते उपस्थित हुनू।’

रिट निवेदकले महानगरले तालको मापदण्ड घटाउने निर्णय लिएपछि अवैध संरचनाले वैधता पाउने बाटो खुलेको, ताल अतिक्रमणलाई प्रोत्साहन दिएको र वातावरण विनाश गरेको भन्दै तत्काल रोक्न अन्तरिम आदेश माग गरेका थिए।

सर्वोच्चमा जेठ २३ गतेको छलफलपश्चात् अन्तरिम आदेशका विषयमा सर्वोच्च अदालतले निर्णय लिने अधिवक्ता सुवेदीले बताए।

महानगरको गत चैत १६ गते बसेको ५५ औँ कार्यपालिका बैठकले फेवातालसहित पोखराका तालहरूको मापदण्ड घटाएको थियो। यसअघि जिल्ला परिषदबाट तोकिएको फेवातालको ६५ मिटर मापदण्डबाट घटाएर महानगर कार्यपालिका बैठकले ३० मिटर कायम गरेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस