लिमीको मतपेटिका आइतबार मात्र हेलिकप्टरबाट ढुवानी गरिने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

लिमीको मतपेटिका आइतबार मात्र हेलिकप्टरबाट ढुवानी गरिने


३१ बैशाख २०७९, शनिबार


हुम्ला । नाम्खा गाउँपालिका ६ लिमीको मतपेटिका भोलि (आइतबार) मात्र हेलिकोप्टरबाट ढुवानी हुने भएको छ ।

मतदान कार्य वैशाख ३० गते हिजो (शुक्रबार) नै सम्पन्न भए पनि शनिबार हेलिकोप्टरको व्यवस्था हुन नसकेपछि आइतबार मात्र लिमीका मतपत्र ढुवानी हुने भएको हो ।

बराहाल दल गुल्म रानीवनका गुल्मपति गणेश खड्काका अनुसार शनिबार हेलिकोप्टरको व्यवस्था हुन नसकेपछि आइतबार मात्र लिमीका तीन वटा मतदान केन्द्रका मतपेटिका हेलिकोप्टरबाट ढुवानी हुने बताइएको छ ।

लिमीबाट आउने नारा र न्यालु लेकमा हिउँ जमेको कारण तीन मतदान केन्द्रका मतपेटिका हेलिकोप्टरबाट ल्याउन लागिएको हो ।

लिमीका तीन वटा मतदान केन्द्रहरुमा हिमशिखर प्रावि तिल, सुनखानी प्रावि हल्जी र भृकुटी प्रावि जाङमा ५ सय भन्दा बढी मत खसेको छ ।

लिमीमा मतदान कार्य गर्न खटिएका कर्मचारीहरु चार हजार आठ सय मिटर अग्लो नारा लेकको हिउँ सशस्त्र प्रहरीको सहयोगमा छिचोलेर पार गर्न सफल भएका हुन् ।

मतदान र अघिल्लो दिन लिमी जाने दुवै लेकमा हिमपात भए पनि कर्मचारी पैदल आउन नसक्ने अवस्था थियो ।

यसका लागि दुई दिन ढिलो गरी भए पनि निर्वाचन आयोग मतपेटिका हेलिकोप्टरमा ढुवानी गर्न राजी भएपछि जेठ १ गते मतपेटिका गाउँपालिका केन्द्र याल्वाङ आउने भएका हुन् ।

लिमीको मतपेटिका नआउँदासम्म नाम्खा गाउँपालिकाको मत गणना नहुने भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस