स्थानीय निर्वाचन आज, एक लाख ४५ हजार ११ जना चुनावी प्रतिस्पर्धामा « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

स्थानीय निर्वाचन आज, एक लाख ४५ हजार ११ जना चुनावी प्रतिस्पर्धामा


३० बैशाख २०७९, शुक्रबार


काठमाडौँ । स्थानीय तहमा जनप्रतिनिधि चयनका लागि शुक्रबार देशभर निर्वाचन हुँदैछ । निर्वाचन आयोगले त्यसका लागि सबै तयारी पुरा भइसकेको जनाएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन आयोगले सबै पक्षसँग सहयोगको आग्रह गरेको छ ।

निर्वाचनमा विभिन्न राजनीतिक दलका ३५५ जना विभिन्न पदाधिकारी निर्विरोध निर्वाचित भइसकेका छन् भने छ वडाध्यक्षसहित ३५ जना स्वतन्त्र सदस्य निर्विरोध निर्वाचित भएका छन् । यो निर्वाचनमा १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रबाट एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले जम्मा ३५ हजार २२१ जनामध्ये निर्विरोध निर्वाचित भएका बाहेकका पदमा प्रतिनिधि छनोट गर्नेछन् ।

मतदान केन्द्रमा आवश्यक हुने निर्वाचन सामग्रीसहित एक लाख नौ हजार ८८ जना कर्मचारी र ६५ हजार ८६५ जना स्वयंसेवक आआफ्नो मतदान केन्द्रमा पुगिसकेका छन् । निर्वाचनमा भाग लिने भनी दर्ता भएका ७९ वटा राजनीतिक दलमध्ये जम्मा ६५ वटा राजनीतिक दल चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

पचपन्न हजार ६९८ जना महिला र ८९ हजार ३१३ जना पुरुष गरी विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारसमेत जम्मा एक लाख ४५ हजार ११ जना चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

निर्वाचनमा मतदाताले शान्तिपूर्ण वातावरणमा निर्वाधरूपले मतदान गर्ने अधिकारको सुनिश्चितताका लागि शान्ति सुरक्षाको कडा व्यवस्था मिलाउन नेपाल सरकारलगायत सम्बन्धित स्थानीय प्रशासनलाई आवश्यक निर्देशन दिइसकिएको र सो बमोजिम निर्वाचन सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

यसैबिच राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचनमा निर्धक्क भई मतदान गर्न सबै दिदीबहिनी तथा दाजुभाइमा हार्दिक आह्वान गरेकी छन् ।

उनले जारी गरेको सन्देशमा निर्वाचन लोकतन्त्रको सबैभन्दा ठुलो उत्सव भएको हुनाले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा हरेक नागरिकले आफ्नो मताधिकार प्रयोग गर्ने वातावरण निर्माण गर्नु सबैको दायित्व भएको बताएकी छन् ।

समाज र राष्ट्रका विकासका मुद्दाहरूलाई जनताको घरदैलोसम्म पुर्‍याउने विशेष अवसरका रूपमा निर्वाचनलाई ग्रहण गर्नुपर्ने बताउँदै उनले लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष नै जनताले निर्वाचित गरेका प्रतिनिधिबाट मुलुकको शासन सञ्चालन गर्नु भएको उल्लेख गरेकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस