३२ प्रतिशतले बढ्यो आयात , ९ महिनामै १३ खर्ब व्यापार घाटा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

३२ प्रतिशतले बढ्यो आयात , ९ महिनामै १३ खर्ब व्यापार घाटा


२८ बैशाख २०७९, बुधबार


काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आर्थिक वर्ष २०७८/७९ को ९ महिनामा कुल वस्तु आयात ३२ प्रतिशतले बढेको जनाएको छ ।

राष्ट्र बैङ्कले सार्वजनिक गरेको तथ्याङ्क अनुसार साउनदेखि वैशाखसम्म आयात ३२ प्रतिशत बढेर १४ खर्ब ६६ अर्ब पुगेको हो ।

अघिल्लो वर्षको सोही अवधिमा १३.१ प्रतिशतले आयात बढेको थियो । यस वर्ष भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २४.४ प्रतिशत, २८.६ प्रतिशत र ५९.२ प्रतिशतले बढेको राष्ट्र बैङ्कको विज्ञप्तिमा उल्लेख छ ।

सरकारले व्यापार घाटा बढेको भन्दै विभिन्न वस्तुहरुको आयातमा कडाइ गरे पनि त्यसको खासै प्रभाव देखिएको छैन ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधि, कच्चा पाम तेल, अन्य मेसिनरी तथा पार्टस्, सुनलगायतका वस्तुको आयात बढेको छ ।

रासायनिक मल, सिमेन्ट, दाल, मोलासीस सुगरलगायतका वस्तुको आयात भने घटेको राष्ट्र बैङ्कले जनाएको छ ।

त्यसो त यस अवधिमा निर्यातमा पनि ६९.४ प्रतिशतको उच्च वृद्धि देखिएको छ । अघिल्लो वर्षको सोही अवधिमा २०.२ प्रतिशतले निर्यात बढेको थियो । यस आर्थिक वर्ष वैशाखसम्म १ खर्ब ६० अर्ब ५७ करोड रुपैयाँको वस्तु नेपालबाट निर्यात भएको राष्ट्र बैङ्कको तथ्याङ्क छ ।

नेपालबाट भारत तथा अन्य मुलुकमा भएको निर्यात क्रमशः ८६.९ प्रतिशत र २५.५ प्रतिशतले बढेको छ । चीनतर्फको निर्यात भने २१.८ प्रतिशत घटेको छ ।

नेपालबाट पाम तेल, सोयाबिन तेल, धागो, ऊनी गलैँचा, पिनालगायत वस्तुको निर्यात बढ्दा अलैँची, चिया, तार, दन्तमञ्जनलगायतको घटेको छ ।

निर्यात बढे पनि व्यापार घाटा अझै फराकिलो बनेको छ । ९ महिनामा व्यापार घाटा २८.५ प्रतिशतले बढेर १३ खर्ब ६ अर्ब ९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १२.५ प्रतिशतले बढेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस