संघीय मन्त्रीसँग बजेट माग्दै कर्णालीका मुख्यमन्त्री कँडेल काठमाडौँमा  « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

संघीय मन्त्रीसँग बजेट माग्दै कर्णालीका मुख्यमन्त्री कँडेल काठमाडौँमा 


१४ बैशाख २०८१, शुक्रबार


काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल यतिबेला बजेट माग गर्दै संघीय मन्त्रालय धाइरहेका छन् । बिहीबार संसदबाट विश्वासको मत लिएका मुख्यमन्त्री कँडेल शुक्रबार बिहान काठमाडौँ पुगेका हुन् ।

संघीय सरकार नीति तथा कार्यक्रम र बजेट निर्माणको तयारीमा जुटिरहेका बेला मुख्यमन्त्री कँडेलले अर्थमन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ र ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतलाई भेटेका हुन् ।

मुख्यमन्त्री कँडेलले संघीय सरकारका मन्त्रीसँगको भेटमा आगामी वर्षको बजेटमा कर्णाली प्रदेशलाई विशेष प्राथमिकता दिएर पर्याप्त बजेट विनियोजन गर्न आग्रह गरेका छन् । उनले कर्णाली सरकारको तर्फबाट ध्यानाकर्षण पत्र समेत बुझाएका छन् ।

कँडेलले कर्णाली प्रदेशका महत्त्वपूर्ण र रणनीतिक आयोजनाहरू कर्णाली करिडोर, भेरी करिडोर, कोहलपुर–सुर्खेत चार लेन सडक निर्माण, सुर्खेत विमानस्थल विस्तार, भूकम्प प्रभावित जाजरकोट र रुकुममा पुनर्निर्माण, सुर्खेत उपत्यकाको तल्लो तटीय क्षेत्र डुबानबाट रोक्न निकास खोला नियन्त्रण लगायतका आयोजनाहरूलाई विशेष प्राथमिकतामा राखी दिन माग गरेका छन् ।

कर्णालीको विकास तथा देशकै समुन्नतिको लागि रणनीतिक महत्त्व राख्ने रूपान्तरणकारी आयोजनाको रूपमा रहने गरी आवश्यक बजेको व्यवस्थापन गर्न आग्रह गरेका छन् । नेपाल सरकारको विगतका वार्षिक नीति तथा कार्यक्रममा उल्लेख भएको तथा हालसम्म कार्यान्वयनमा जान नसकेको योजना कर्णाली थुप्रै छन् । ती आयोजनाहरूलाई पनि कार्यान्वयनमा लैजानेगरी बजेट विनियोजन गर्न कँडेलले माग गरेका छन् ।

चालु आर्थिक वर्षको बजेटमा कर्णाली राजमार्गलाई केन्द्र सरकारले बजेट दिएको थिएन । ती योजनाहरूमा आवश्यक संरचना सहितको बजेट विनियोजन गर्न पनि संघीय मन्त्रीहरूलाई कँडेलले आग्रह गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस