चितवनका अनिल परियारको हत्याको विरोधमा प्रदर्शन, सवारी साधन तोडफोड « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

चितवनका अनिल परियारको हत्याको विरोधमा प्रदर्शन, सवारी साधन तोडफोड


२६ बैशाख २०७९, सोमबार


काठमाडौँ । नेपाली काँग्रेसका अनिल परियारको हत्या भएको विषयलाई लिएर चितवन मेडिकल कलेजका अगाडि तनाव भएको छ ।

काँग्रेस निकट युवाहरूले पूर्व–पश्चिम राजमार्ग बन्द गराएर प्रदर्शन गराएका छन् । उनीहरूले सत्ता गठबन्धनले चुनाव प्रचारप्रसारमा प्रयोग गरेको सवारी साधनसमेत तोडफोड गरेका छन् ।

आइतबार साँझ ७ः३० बजे भरतपुर-१२ निवासी अनिल परियारको भरतपुर-७ कृष्णपुरको फुटबल मैदान नजिक हत्या भएको थियो ।

घटना भएको यतिका समयसम्म पनि प्रशासनले दोषी पत्ता नलगाएको र पार्टी नेतृत्वले घटनालाई गम्भीरतापूर्वक नलिएको आरोप लगाउँदै मृतक परियार निकट युवाहरूले प्रदर्शन गरेका छन् ।

परियारको शव चितवन मेडिकल कलेजमा राखिएको छ । शव उठाउनसमेत उनीहरूले दिएका छैनन् । शवलाई भरतपुर अस्पतालमा लगेर पोस्टमार्टम गर्न प्रहरीले सकेको छैन ।

हत्या भएको स्थानमा प्रहरी ढिला पुगेको र उपचार गर्न समयमा नै नल्याउँदा परियारको मृत्यु भएको प्रदर्शनकारीको आरोप छ ।

चितवन मेडिकल कलेजमा समेत तोडफोड हुन सक्ने देखिएपछि अस्पताल क्षेत्रमा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । अस्पतालको मूल गेटमै प्रहरीहरू तैनाथ छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस