काँग्रेस-एकीकृत समाजवादीका कार्यकर्ताबिच झडप, पाँच प्रहरीसहित ११ जना घाइते « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

काँग्रेस-एकीकृत समाजवादीका कार्यकर्ताबिच झडप, पाँच प्रहरीसहित ११ जना घाइते


२३ बैशाख २०७९, शुक्रबार


बाजुरा । बाजुरामा सत्तारुढ गठबन्धनकै बिच झडप हुँदा पाँच प्रहरीसहित ११ जना घाइते भएका छन् । जिल्लाको बुढीनन्दा नगरपालिका ९ पाण्डुसैनको अगाउपानीमा नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादी(एस) का कार्यकर्ताबिच शुक्रवार दिनभर झडप हुँदा स्थिति असामान्य बन्न पुगेको थियो ।

झडपमा ५ प्रहरी, नेकपा (एस) का चार र दुई जना काँग्रेस कार्यकर्ता गरी ११ जना घाइते भएका छन् । जसमध्ये नेकपा(एस)का चार जना शक्त घाइते रहेको जिल्ला प्रशासन बाजुरा स्रोतले प्रशासनलाई जानकारी दिएको छ ।

झडपका क्रममा प्रहरी चौकीमाथि आक्रमण भएको छ भने स्थिति नियन्त्रणमा लिन प्रहरीले डेढ दर्जन राउन्ड हवाई फायर गरेको थियो।

स्थिति बिग्रन नदिन सदरमुकाम मार्तडीबाट प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलसहित सुरक्षा निकायका प्रमुखको टोली घटनास्थल पुगेको छ । अहिले स्थिति सामान्य र घाइतेहरूलाई लिएर फर्किँदै गरेको प्रजिअ पौडेलले प्रशासनलाई जानकारी गराएका छन् । ‘अति सामान्य विषयमा विवाद हुँदा झडपको स्थिति सिर्जना भएसँगै त्यसलाई रोक्न र थप दुर्घटना नहोस् भन्नका लागि मलगायत सुरक्षा प्रमुखहरू नै घटनास्थल पुग्यौँ’ प्रजिअ पौडेलले भने, ‘अहिले जनजीवन सामान्य बनाएर घाइतेहरूलाई लिएर फर्किँदै छौँ’

उनले अहिले आफू बाटोमै रहेकोसमेत जनाएका छन् ।

अहिले सेना, प्रहरी, सशस्त्र र म्यादी प्रहरी गरी एक सय बढीको सङ्ख्यामा सुरक्षाकर्मी परिचालित रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

एक प्रहरीका अनुसार नेकपा एसका कार्यकर्ताले कुकुरलाई हिर्काएको आरोपमा काँग्रेसका कार्यक्रताहरुले ढुङ्गा प्रहार गरेपछि दोहोरो झडपको अवस्था सिर्जना भएको थियो ।

तर नेपाली काँग्रेसका कार्यकर्ताहरूले भने नेकपा एसका कार्यकर्ताले काँग्रेस कार्यकर्तामाथि ढुङ्गा हानेपछि झडप सुरु भएको बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस