स्थानीय तह निर्वाचन : गोदावरी नगरमा पूर्वाधार निर्माण प्रमुख एजेन्डा « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

स्थानीय तह निर्वाचन : गोदावरी नगरमा पूर्वाधार निर्माण प्रमुख एजेन्डा


२० बैशाख २०७९, मंगलबार


ललितपुर । गोदावरी नगरपालिकामा प्रमुखका उम्मेदवारले सडक, ढल, खेलमैदानलगायतका पूर्वाधार निर्माणलाई नै जोड दिएर नागरिकको घरदैलो गरिरहेका छन् । पाँच वर्ष पहिले नगरपालिका बने पनि यस नगरमा आवश्यक पूर्वाधारको विकास हुन सकेको छैन ।

कतिपय वडामा सडक कालोपत्र हुन बाँकी छ भने कतिपयमा पहिले कालोपत्र भएका सडक अहिले भत्किएर नागरिकले कष्ठपूर्णयात्रा गर्न बाध्य भइरहेको छन् । नगरमा अधिकांश स्थानमा ढल निर्माण हुन बाँकी छ । सडकमा बत्ती, पैदल यात्रु मार्ग, खेलमैदान निर्माणलाई पनि उम्मेदवारले प्राथमिकतामा राखेका छन् ।

बितेको पाँच वर्ष पूर्वाधार विकासको जग बसेकोमा त्यसलाई सशक्त रुपमा अघि बढाउने उम्मेदवारको भनाइ रहेको छ । नेपाली काँग्रेसबाट प्रमुखका उम्मेदवार गजेन्द्र महर्जन आफूले पहिलो कार्यकालमा सुरु गरेको पूर्वाधार निर्माणलाई सम्पन्न गर्नुपर्ने भएकाले पनि प्रमुखका रुपमा अझै पाँच वर्ष काम गर्न चाहेको बताए । पाँच वर्षको अनुभवका आधारमा आउँदा दिनमा अघि बढ्ने उनको योजना छ ।

पूर्वाधार निर्माणको काम ललितपुरको महानगरपालिकालगायत अन्य स्थानीय तहसँग दाँजेर हेर्दा कम देखिए पनि नयाँ नगर भएकाले शून्यबाट सुरु गरिएकाले आफूले धेरै काम सुरु गरेको उनी दाबी गर्छन् । ‘कतिपय पूर्वाधार बनेर सञ्चालनमा आइसकेको छ भने कतिपय संरचना बन्ने क्रममा छन्’, उनले भने ।

गोदामचौर र विसङ्खुनारायणमा सडक कालोपत्र भइसकेको र देवीचौर, डुकुछापलगायतका ठाउँमा सडक नगरको आन्तरिक स्रोतबाट अघि बढाइएको प्रमुखका उम्मेदवार महर्जनले बताए । यी स्थानमा सङ्घीय र प्रदेश सरकारबाट बजेट प्राप्त नभएकाले नगरको आफ्नै आन्तरिक स्रोतले सडक निर्माण सुरु गरेको उनले बताए । वार्षिक रु ५० लाखका दरले यी सडकमा बजेट छुट्टाएर पहिले चार/छ मिटर चौडा सडकलाई अहिले आठ मिटर चौडा बनाइएको छ । ‘अब फेरि विजयी भएपछि त्यो सडक कालोपत्र गर्ने योजना छ’, उनले भने ।

नगरको टाखेल–टौखेल सडक पनि गत वर्ष सुरु भए पनि गति लिन सकेको छैन । प्रदेश सरकारले न्यून बजेट छुट्टाएकाले यसले गति लिन नसकेको उनको भनाइ छ । उनले भने, ‘ठुला महत्त्वका योजनामा ठुलो रकम चाहिने भएकाले त्यस्ता सडक नगरको आन्तरिक स्रोतबाट मात्रै बनाउन सक्ने अवस्था छैन ।’

पूर्वाधार विकास शून्यबाट सुरु भएकाले अझै पनि ढल, सडक, सडक बत्तीलगायतका संरचना बनाउन बाँकी रहेको महर्जनले बताए । सबै ठाउँमा सडकको दायाँबायाँ हरियालीका लागि वृक्षरोपण गर्ने उनले बताए । नगरमा आवश्यक पूर्वाधार निर्माण गर्ने र सुन्दर नगर बनाउन आवश्यक प्रक्रिया गरिने उनको योजना छ । ‘अबको दिनमा सडक पेटी, जेब्राक्रस निर्माण गर्ने योजना छ’, उनले भने ।

हालसम्म नगरको फोहर उपत्यकाका अरु पालिकामा जसरी नै नुवाकोट लगेर विसर्जन हुँदै आएको छ । आगामी दिनमा नगरभित्रको फोहर व्यवस्थापनका लागि देवीचउरमा आधुनिक प्रशोधन निर्माणको योजना बनाउने उनले बताए । नगरको गौरवको आयोजनाका रुपमा निर्माण सुरु भएको अन्तर्राष्ट्रियस्तरको मिनि रङ्गशाला अबको कार्यकालमा पूरा गर्ने उनले दाबी गरे । उनले भने, ‘रङ्गशालाले नागरिकको जीवनमा सकारात्मक परिवर्तन ल्याउने आशा गरिएको छ ।’

नेकपा (एमाले) बाट प्रमुखका उम्मेदवार गम्भिरबहादूर रानाले सडक निर्माण र भइरहेका सडक सुधारलाई नै आफ्नो पहिलो प्राथमिकतामा राखेका छन्। कान्ति लोकपथ खाल्डाखुल्डी हुँदा नागरिकले दुःख पाइरहेको भन्दै उनले त्यसमा सुधारका लागि पहल गर्ने बताए ।

सडकमा ड्रेन र ढल नभएकाले कालोपत्र गरे पनि चाँडो भत्कने समस्या रहेकाले आफू निर्वाचित भएपछि यी कुरामा पनि ध्यान दिने उनले बताए। अहिलेसम्म धेरै सडकमा कालोपत्र गुणस्तरीय नभएकाले अबका दिनमा निगरानी बढाइने योजना उनले सुनाए । ‘नगरमा भएका विकास निर्माणमा त्यहाँको वडा कार्यालय र जनप्रतिनिधिले निगरानी बढाउनुपर्छ’, उनले भने ।

नगरको केन्द्र रहेको चापागाउँसम्म जाने सातदोबाटो–चापागाउँ सडक साँघुरो र सवारीसाधनको चाप बढिरहेकाले जामको समस्या छ । यो सडकको विकल्प बन्न सक्ने नख्खु करिडोरलाई विकास गरेर जाने उनको योजना छ ।

नख्खु खोलाको क्षेत्र र निजी जग्गा छाडेर सडक निर्माण गरिने उनले बताए। यो सडक सम्पन्न भएर पूर्णरुपमा सञ्चालनमा आउँदा गोदावरी नगरसँगै ललितपुरका तीन गाउँपालिकालाई समेत सुविधा पुग्नेछ । उनले भने, ‘तीनै पालिकासँग मिलेर यो सडक सञ्चालनमा ल्याउने योजना छ ।’

सडक सबै वर्ग, उमेर समूह र सबैका लागि र अरु विकासका लागिसमेत आवश्यक हुँदा त्यसलाई प्राथमिकता दिइने रानाले बताए । उनका अनुसार विद्यार्थी, बिरामी आउजाउ गर्ने तथा तरकारी र फलफूल लैजाने भएकाले पहिलो प्राथमिकता सडकमा छ । अहिले नगरभित्र सार्वजनिक सवारीसाधनको पहुँच सजिलो नभएकाले त्यसतर्फ काम गर्ने उनको योजना छ । ‘यहाँ निजी साझेदारीका रुपमा विभिन्न रुटमा गाडी चलाउन सकिनेछ’, उनले भने ।

सातदोबाटो–चापागाउँ सडकमा यात्रुवाहक र मालवाहक दुवै सवारीसाधन गुड्दा एकातिर जामको समस्या र अर्कातिर सडक चाँडो बिग्रिने गरेकाले ती सवारीसाधन छुट्टाछुट्टै रुपमा सञ्चालन गर्न सकिने रानाले बताए । खासगरी कार्यालय र विद्यालयका गाडी गुड्ने समयमा मालवाहक सवारीसाधनलाई रोक्ने वा वैकल्पिक सडकमा पठाउने उनको योजना छ ।

अहिले विकसित र कम विकसित सबै वडामा एकनासले रकम विनियोजन हुँदा समानुपातिक विकास नभएको भन्दै रानाले समानुपातिक विकासको योजना सुनाए । सुगम र दुर्गममा एउटै रकम भएकाले पनि अहिलेको विकास समानुपातिक नभएको उनको धारणा छ । सुगम वडा र दुर्गम वडाका फरक फरक आवश्यकता भएकाले त्यसैका आधारमा योजना बनाइने र बजेट विनियोजन गर्ने उनको योजना छ । उनले भने, ‘महानगरसँग जोडिएका र विकास भइसकेका ठाउँमा सडक, ढल आवश्यकता छ भने कतै खानेपानी त कतै अरु आवश्यकता हुनसक्छ ।’

नगरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट उम्मेदवार बनेका राजकुमार महर्जनले अधिकांश ठाउँमा सडक पुगेकाले आफू विजयी भएमा तीनको सुधारमा लाग्ने बताए । आफूले ठुला योजना बनाउनेभन्दा पनि समय आएपछि गरेर देखाउने उनको भनाइ छ । निर्वाचनमा विजयी हुँदा वा नहुँदा पनि नगरको विकासमा सधैँ लागिपर्ने उनले बताए । उनले भने, ‘अझै पनि यहाँ शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा सुधार गर्न आवश्यक छ ।’

यस नगरमा छ पालिकामध्ये प्रमुखका उम्मेदवार सबैभन्दा बढी २१ रहेका छन् । यहाँ उपप्रमुखमा १०, वडाध्यक्ष ७६, वडा सदस्य ११०, महिला सदस्य ४८ र दलित महिला ३९ गरी ३३६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस