लागुऔषध कारोबारी र दुर्व्यसनी पक्राउ « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

लागुऔषध कारोबारी र दुर्व्यसनी पक्राउ


१९ बैशाख २०७९, सोमबार


सप्तरी । जिल्ला प्रहरी कार्यालयले चालु आर्थिक वर्षको हालसम्म ९१ लागुऔषध कारोबारी र दुर्व्यसनीलाई पक्राउ गरेको छ ।

पछिल्लो समय लागुऔषध नियन्त्रणमा आक्रामक तरिकाले कामलाई अगाडि बढाएको प्रहरीले लागुऔषधसम्बन्धी ८३ वटा उजुरी दर्ता गरी उनीहरुलाई पक्राउ गरेको हो ।

उजुरी दर्ता भएकामध्ये पाँच जना आरोपित भने पक्राउ पर्न सकेका छैनन् । घरमै भण्डारण गरी लागुऔषध बिक्री गर्दै आएका बोदेबर्साइन नगरपालिका–९ देउरीका १९ वर्षीय शङ्कर यादवलाई प्रहरीले लागुऔषधसहित शुक्रबार सार्वजनिक गरेको थियो ।

इलाका प्रहरी कार्यालय कडरबोना सप्तरीका प्रहरी निरीक्षक बालिस्टर सिंहका अनुसार यादवको घरबाट एक हजार २५० ट्याब्लेट नाइट्रोभेट–१० तथा ७५०/७५० एम्पुल डाइजेपाम, फेनारगन र नुफिन बरामद गरिएको छ ।

भारतबाट साइकलमा लागुऔषध ओसारिरहेका दुई युवालाई प्रहरीले गत पुस २३ गते पक्राउ गरेको थियो । राजगढ गाउँपालिका–६ बनैनिया बरदाही जाने भित्री सडकखण्डबाट लागुऔषधसहित विष्णुपुर गाउँपालिका–४ का २३ वर्षीय श्यामकुमार यादव र तिलाठी कोइलाडी गाउँपालिका–८ का २० वर्षीय परमानन्द महतो पक्राउ परेका थिए ।

उनीहरूको साथबाट ४०८ क्याप्सुल एपिएम प्रोक्सिभन, चार बोतल डाइलेक्स डिसी र चार ट्याब्लेट नाइट्राभेट–१० बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अविनारायण काफ्लेले जानकारी दिए ।

सप्तरीबाट काठमाडौँ लैजान ठिक पारेको दुई हजार १०० ट्याब्लेट नाइट्रोभेट–१०, एक सय मिलिग्रामको ३९९ बोतल डाइलेक्स डिसी सिरफ र २८८ क्याप्सुल प्रोक्सीभोन प्रहरीले राजविराज–२ स्थित गुलाब ग्यारेजमा राखिएको ना८ख ५८३७ नम्बरको विशाल मेट्रो बसबाट गत पुस १० गते बरामद गरेको थियो ।

लागुऔषधका पटके आरोपित सोही बसका सहचालक कञ्चनरूप नगरपालिका–८ का सञ्जय भुजेल र बोदेबर्साइन – ५ जाँजरका २१ वर्षीय अब्दुल मियाँलाई पक्राउ गरेको थियो ।

ठुलो परिमाणका कारोबारीसँगै प्रहरीले दुर्व्यसनी र ओसारपसारमा संलग्नलाई पक्राउ गर्न थालेपछि सप्तरी प्रहरीका हिरासत कक्ष अहिले लागुऔषधका आरोपितहरूले भरिएका छन् ।

जिल्ला प्रहरी कार्यालय र मातहतको ‘क’ श्रेणीका तीन इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका अधिकांश लागुऔषध आरोपित रहेको प्रहरीले जनाएको छ ।

बरामद भएका लागुपदार्थको परिमाण र उजुरी दर्ता पनि बर्सेनि बढ्दै गएको छ । प्रहरीले आर्थिक वर्ष ०७६/०७७ मा लागुऔषधसम्बन्धी ५१ उजुरी दर्ता गरी ७१ जनालाई पक्राउ गरेको थियो । ती मध्ये तीन जना अझै फरार छन् ।

यस्तै आर्थिक वर्ष ०७७/०७८ मा ८८ उजुरी दर्ता गरी १५३ जनालाई पक्राउ गरेको थियो । ती मध्ये नौ जना फरार छन् । खुला सिमानाको फाइदा उठाउँदै पर्याप्त मात्रामा लागुऔषध छिमेकी मुलुक भारतीय सीमाबाट प्रवेश हुने गरेको प्रहरी अधिकारीहरू बताउँछन् ।

प्रहरी उपरीक्षक काफ्लेका अनुसार पैदल, साइकल, अटो रिक्सा, मोटरसाइकललगायतमा लोड गरी लागुऔषध भारतबाट सप्तरी भित्रिने र बसमार्फत हेटौँडा, काठमाडौँ, पोखरासम्म पुग्ने गरेको बताउनुभयो ।

लागुऔषध नियन्त्रण ऐन, २०३३ अनुसार लागुऔषध भन्नाले गाँजा, औषधोपयोगी गाँजा, अफिम वा तयारी अफिम, औषधोपयोगी अफिम, कोकाको झारपात, अफिम वा कोकाको सार तत्त्व मिश्रण वा लवणसमेत मिलाइ तयार गरिने पदार्थ र सरकारले तोकिदिएको प्राकृतिक तथा कृतिम लागुऔषध बुझिने प्रहरीले जनाएको छ ।

कानुनले लागु पदार्थको अवैध ओसारपसार, सञ्चय तथा प्रयोग गर्न बन्देज लगाएको छ । लागुऔषध ९नियन्त्रण० ऐन २०३३ अनुसार लागुऔषध दुर्व्यसनीलाई दुई महिनासम्म कैद र रु दुई हजारसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

दुर्व्यसनीबाहेक अन्य निषेधित कार्य गर्नेलाई दुई वर्षदेखि १० वर्षसम्म कैद र रु एक लाखदेखि २० लाखसम्म जरिवाना हुने व्यवस्था रहेको प्रहरी उपरिक्षक काफ्लेले जानकारी दिए ।

आफ्नो घर, जग्गा वा सवारीमा निषेध गरिएको काम गर्न अनुमति दिनेलाई छ महिनादेखि पाँच वर्षसम्म कैद वा रु दश हजारसम्म जरिवाना हुनेछ ।

घर, जग्गा वा सवारी धनीले नै अपराध गरेकोमा वा अपराध गर्न अनुमति दिएकोमा त्यस्तो घर, जग्गा वा सवारीसमेत जफत हुनसक्ने व्यवस्था छ ।

प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले लागुऔषध नियन्त्रणमा सप्तरी प्रहरी आक्रामक शैलीमा लागेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस