मानसिक स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको जुम्ला घोषणापत्र जारी « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

मानसिक स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको जुम्ला घोषणापत्र जारी


२४ बैशाख २०८१, सोमबार


कर्णाली । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पहिलो पटक सम्पन्न अन्तर्राष्ट्रियस्तरको ‘सामुदायिक मानसिक स्वास्थ्यसम्बन्धी सम्मेलन’ले जुम्ला घोषणापत्र जारी गरेको छ ।

प्रतिष्ठान र म्यासाचुसेट्स जनरल हस्पिटल अमेरिका, स्थानीय तथा ग्लोबल इनिसियटिभ्स फर मेन्टल हेल्थ इक्विटी (एलजीआइएमएफ) कार्यक्रमअन्तर्गत ‘सबैका लागि मानसिक स्वास्थ्यमा नवप्रवर्तन र सहकार्य’ विषयमा सिएमसी, हेल्थ फाउण्डेसन, मेन्टल हेल्थ संस्था र हेल्थ कोप्र्स नेपालको सहकार्यमा यही वैशाख २२ देखि २३ गतेसम्म सञ्चालित अन्तर्राष्ट्रिय सम्मेलनले ‘जुम्ला घोषणापत्र’ जारी गरेको हो ।

सम्मेलनले विशेष गरी मुलुकमा विशाल समस्याका रूपमा देखिएको सामुदायिक मानसिक स्वास्थ्यको अन्तराल र समस्याको पहिचान गरी त्यसको सम्बोधन तथा मानसिक रोग विशेषज्ञ र सेवाको उपलब्धता लागि नवप्रवर्तन र सहकार्य आवश्यक भएको निष्कर्ष निकाल्दै नौ बुँदे जुम्ला घोषणापत्र जारी गरेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मङ्गल रावलले जानकारी दिए ।

उनका अनुसार घोषणापत्रमा तीन बुँदे ग्लोबल सिफारिस गरिएको छ । त्यसमा समानता र न्यायको सिद्धान्तका आधारमा मानसिक स्वास्थ्य अवस्था सुधारका लागि स्रोत जुटाउन अन्तर्राष्ट्रिय सरकारी तथा गैर सरकारी र दाता निकायबाट स्वास्थ्यका क्षेत्रमा बजेट विनियोजन तथा कोष वृद्धि गर्ने, मानसिक स्वास्थ्यका लागि दिगो क्षमता विकास गर्न उच्च आय भएका देश, अनुसन्धान तथा प्राज्ञिक संस्थासँगको सहकार्य बढाउने र अधिकारमा आधारित सामुदायिक मानसिक स्वास्थ्य कार्यक्रमलाई सशक्त बनाएर लैजाने विषय सिफारिस गरिएको हो ।

त्यस्तै सो घोषणापत्रमा छ बुँदे निष्कर्षसहितको प्रतिबद्धता गरिएको छ । त्यसअनुसार नेपालका धेरै स्वास्थ्य केन्द्र तथा प्राज्ञिक संस्थाले मानसिक रोग विशेषज्ञ तथा मनोवैज्ञानिक पाउन ठुलो सङ्घर्ष गरिरहेका छन् ।

यसका लागि नेपालमा सरकारी तथा गैरसरकारी निकायले मानसिक स्वास्थ्य क्षेत्रमा गरेको प्रगति र सम्बोधन तथा मानसिक स्वास्थ्य समस्याको पहिचान गरी थप कार्यगत योजना अगाडि बढाउनुपर्दछ ।

घोषणापत्रमा सिङ्गो नेपालको मानसिक स्वास्थ्यावस्थामा सुधार ल्याउन साझेदार निकायले समुदाय स्तरमै गएर काम गर्नुपर्ने र योगदान तथा सेवालाई बढोत्तरी गर्नुपर्ने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको साइक्याट्री विभाग तथा प्रादेशिक अस्पतालको सशक्तीकरण गर्न र मानसिक स्वास्थ्य सेवा प्राप्तिका लागि सम्बन्धित निकायले अवसरको अन्वेषण गर्नुपर्ने औँल्याइएको छ ।

त्यसैगरी साझेदार निकायले स्थानीय स्तरमा प्राप्त सामुदायिक स्रोत तथा सहयोगका लागि विद्यमान अवस्थामा काम गर्दै आएको जनशक्तिलाई मानसिक स्वास्थ्यसम्बन्धी तालिम प्रशिक्षण दिएर उनीहरूको प्रवर्द्धन गर्ने र सामुदायिक मानसिक स्वास्थ्यको मुद्दालाई अगाडि बढाउन आयोजक संस्थाहरूले पुनः आगामी वर्षमा पनि यही मुद्दामा अन्तर्राष्ट्रियस्तरको सम्मेलनको आयोजना गर्ने निष्कर्ष निकालिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस