खुलामञ्चमा आकाशे पानी पुनः भरण हुने गरी काम गरिँदै « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

खुलामञ्चमा आकाशे पानी पुनः भरण हुने गरी काम गरिँदै


२४ बैशाख २०८१, सोमबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खुलामञ्चको ग्रेडिङ र लेभलिङ सुरु गरेको छ । काम गर्न पूर्वाधार कम्पनीसँग आइतबार सम्झौता भएपछि आजदेखि काम थालिएको महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको रोहवरमा भएको सम्झौतामा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र केसी र महानगरपालिकाका तर्फबाट सार्वजनिक निर्माण विभागका प्रमुख सुरज शाक्यले हस्ताक्षर गरेका छन् ।

यस्ता पूर्वाधार निर्माण र परामर्शमा सहकार्य गर्न नेपाल सरकारको स्वामित्व भएको पूर्वाधार निर्माण कम्पनीसँग यही वैशाख १० गते नीतिगत सहमति पत्रमा हस्ताक्षर भएको थियो । त्यसै सहमतिका आधारमा वैशाख २३ गते विभागले खुलामञ्चको ग्रेडिङ र लेभलिङका लागि सम्झौता गरेको हो ।

कामको निरीक्षणका लागि प्रमुख प्रशासकीय अधिकृत परियार, कम्पनीका प्रमुख कार्यकारी अधिकृत केसी, महानगरपालिकाको सार्वजनिक निर्माण विभागका प्रमुख सुरज शाक्यसहित इञ्जिनियरहरु मञ्च पुगेका थिए ।

त्यस अवसरमा प्रमुख प्रशासकीय अधिकृत परियारले भने, ‘नीतिगत निर्णय भएको १३ दिनपछि काम गर्ने सम्झौता गर्‍यौँ । त्यसको भोलिपल्टैबाट काम थालिएको छ । हामी पूर्वाधार निर्माणको काम यही गतिमा अगाडि बढाउने प्रयासमा छौँ ।’

नेपाल पूर्वाधार निर्माण कम्पनी विसं २०७६ साल असार २५ गते दर्ता भएको सरकारको स्वामित्व भएको कम्पनी हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत केसीले भने, ‘कम्पनीका लागि यो एउटा अवसर पनि हो । यसलाई तोकिएको समयमा सम्पन्न गरिनेछ ।’

खुलामञ्च २३ हजार चार सय १५ वर्गमिटर (४६ रोपनी १ दाम) क्षेत्रमा फैलिएको छ । सार्वजनिक निर्माण विभागका प्रमुख शाक्यका अनुसार आगामी जेठ मसान्तभित्र काम सकिनेछ ।

यसपछि वर्षाको पानी भेल भएर बग्दैन । जमिनमुनि प्रवेश गर्ने गरी काम अघि बढाइएको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस