गठबन्धनबाट काठमाडौँको मेयरमा सिर्जना सिंह उम्मेदवार « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

गठबन्धनबाट काठमाडौँको मेयरमा सिर्जना सिंह उम्मेदवार


१० बैशाख २०७९, शनिबार


काठमाडौँ । सत्तारुढ गठबन्धनले काठमाडौँ महानगरपालिकाको मेयरमा सिर्जना सिंहलाई उम्मेदवार बनाउने भएको छ ।

गठबन्धनमा काठमाडौँको मेयर पदमा नेपाली काँग्रेसले उम्मेदवारी दिने सहमति छ ।

उम्मेदवार छान्न बसेको काँग्रेसका शीर्ष नेताहरूको बैठकले काठमाडौँको मेयरमा सिर्जना सिंहलाई उम्मेदवार बनाउने सहमति जुटाएको हो ।

सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले उम्मेदवार छान्न बिहीबारदेखि पार्टीभित्र शीर्ष नेताहरूसँग छलफल गरिरहेका छन् ।

हिजो (शुक्रबार) राति पनि अबेरसम्म छलफल भएको थियो । बैठकमा काठमाडौँको मेयरमा सिर्जना सिंहलाई उम्मेदवार बनाउने सहमति भएको बैठकमा सहभागी एक नेताले पुष्टि गरे । काँग्रेसकी महाधिवेशन प्रतिनिधि रहेकी सिंह नेता प्रकाशमान सिंहकी पत्नीसमेत हुन् ।

‘काठमाडौँमा सिर्जना सिंहलाई उम्मेदवार बनाउने सहमति भयो, बाँकी महानगरपालिकाको हकमा सहमति हुन सकेको छैन, छलफल हुँदै छ,’ ती नेताले भने, ‘अहिले नौ बजेबाट फेरि छलफलमा जुट्दै छौँ ।’

उम्मेदवारको टुङ्गो लगाउन सभापति देउवाले बिहान ११ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा कार्यसम्पादन समितिको बैठक राखेका छन् । बैठक अघि उम्मेदवारको नाम टुङ्गो लगाउने र बैठकमा अनुमोदनका लागि पेस गर्ने नेताहरूको तयारी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस