गृहमन्त्री खाँणसँग दक्षिण कोरियाका राजदूतको भेटवार्ता « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

गृहमन्त्री खाँणसँग दक्षिण कोरियाका राजदूतको भेटवार्ता


६ बैशाख २०७९, मंगलबार


काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सुकले शिष्टाचार भेटघाट गरेका छन् ।

राजदूत चोङ सुक गृहमन्त्रीलाई भेट्न मंगलबार दिउँसो सिंहदरबारस्थित गृहमन्त्रालय पुगेका थिए । गृहमन्त्री र राजदूतबीच नेपाल र दक्षिण कोरियाबीच आपसी सम्बन्ध थप प्रगाढ बनाउने विषयमा कुराकानी भएको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

भेटमा गृहमन्त्री खाँणले नेपालको भौतिक पूर्वाधार विकासमा दक्षिण कोरियाले गरेको सहयोगका लागि धन्यवाद दिएका थिए । त्यस्तै, उच्च शिक्षा अध्ययन गर्न नेपाली विद्याथीहरू कोरिया जाने गरेको र इपीएसको माध्यमबाट रोजगारीका लागि नेपालीहरूलाई कोरिया लगेकोमा दक्षिण कोरिया सरकार, कोरियाली जनता र कोरियाका उद्योगीको पनि गृहमन्त्रीले चर्चा गरेका थिए ।

पछिल्लो समय विविधतायुक्त संस्कृति तथा भूगोलको अवलोकन गर्न कोरियन पर्यटक नेपाल आउने गरेको गृहमन्त्री खाँणले बताएका थिए । उनले नेपालमा कोरियन लगानीमा सञ्चालित विकास योजनाहरू निर्वाधरूपमा अघि बढाउने वातावरण सरकारले निर्माण गरिरहको जानकारी दिएका थिए ।

भेटमा दक्षिण कोरियाका राजदूत चोङ सुकले कोभिड– १९ का कारण रोकिएको ईपीएस अब पुनस् सुरु हुने चरणमा रहेको गृहमन्त्रीलाई जानकारी गराएका थिए । कोभिडकै कारण कोरियन पर्यटक पछिल्ला वर्षमा कम भएको र अब पुरानै अवस्थामा कोरियन पर्यटक नेपाल आउने सम्भावना बढेको राजदूतको भनाइ थियो । राजदूतले वर्षमा करिब ३० हजार कोरियन पर्यटक नेपाल आउने आँकलन राजदूतावासले गरेको बताएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस