निर्वाचनलाई आवश्यक कर्मचारीको विवरण सङ्कलन « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

निर्वाचनलाई आवश्यक कर्मचारीको विवरण सङ्कलन


५ बैशाख २०७९, सोमबार


महेन्द्रनगर । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सम्पन्न गर्न कञ्चनपुरमा एक हजार ८०० कर्मचारी आवश्यक पर्ने देखिएको छ ।

निर्वाचन सम्पन्न गर्न आवश्यक कर्मचारीको विवरण सङ्कलनका साथै छलफलमा जुटेको निर्वाचन कार्यालय कञ्चनपुरले जनाएको छ ।

‘निर्वाचनका लागि आवश्यक पर्ने जनशक्तिका लागि छलफल भइरहेको छ’, जिल्ला निर्वाचन कार्यालयका प्रमुख उदयराज जोशीले भने, ‘निर्वाचन अधिकृत र जिल्ला निर्वाचन अधिकारीलाई तालिम/प्रशिक्षण दिइसकेका छौँ ।’

त्यसै गरी आगामी बिहीबारभित्र यहाँको भीमदत्त नगरपालिकामा मुख्य निर्वाचन अधिकृत र बाँकी आठ वटा पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने तयारी निर्वाचन कार्यालयको छ ।

‘निर्वाचन अधिकृतको कार्यालय नौ वटै पालिकामा रहन्छ’, प्रमुख जोशीले भने, ‘निर्वाचनसम्बन्धी सबै खाले तयारीमा हामी जुटेका छौँ ।’ दुई लाख ९५ हजार ३५४ मतदाता रहेको कञ्चनपुरमा निर्वाचनका लागि ३४१ मतदान केन्द्र र १३२ मतदान स्थल तोकिएको छ ।

यहाँ निर्वाचनका लागि सुरक्षा निकायले निर्वाचन सुरक्षा लक्षित योजना ल्याउन आन्तरिक गृहकार्य थालिसकेका छन् ।

विसं २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा कञ्चनपुरमा यहाँका नौमध्ये पाँच पालिकामा नेकपा एमाले र दुई/दुई पालिकामा नेपाली काँग्रेस र माओवादी केन्द्र विजयी भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस