बाँकेमा १०१ मतदान स्थल अति संवेदनशील « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

बाँकेमा १०१ मतदान स्थल अति संवेदनशील


२२ चैत्र २०७८, मंगलबार


नेपालगञ्ज । बाँकेका विभिन्न ६ स्थानीय तहमा रहेका १०१ मतदान स्थल अति संवेदनशीलका रूपमा रहेका छन् ।

जिल्लामा रहेका १३६ मतदानस्थलमध्ये ३५ मतदान स्थल संवेदनशील मतदान स्थलको रूपमा रहेको जिल्ला निर्वाचन कार्यालय, बाँकेले जनाएको छ ।

‘वादविवाद हुने, झैँ झगडा हुने वा बुथ क्याप्चरको सम्भावना रहेकालाई संवेदनशील मतदान स्थलको रूपमा लिएका छौँ’ प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले भने । उनले संवेदनशील र अति संवेदनशील क्षेत्रलाई वर्गीकरण गरेर सुरक्षा व्यवस्था सुदृढ गरिने जानकारी दिँदै मतदान स्थललाई आन्तरिकरुपमा व्यवस्थापन गरिने बताए ।

यसैबिच स्थानीय तह निर्वाचनका लागि जिल्ला सुरक्षा समितिले विभिन्न स्थानीय तहका मतदान स्थलको अनुगमन सुरु गरेको छ । कोहलपुर नगरपालिकाका १४ तथा खजुरा गाउँपालिकाका आठ मतदान स्थलको अनुगमन गरिएको प्रजिअ खत्रीले जानकारी दिए । उनले मतदान स्थल केहीमा पर्खाल नभएको, चर्किएको र केहीलाई मर्मतसम्हार गरेर प्रयोगमा ल्याइने उल्लेख गरे ।

विसं २०७४ को स्थानीय निर्वाचनमा जिल्लामा दुई लाख ४६ हजार १०३ मतदाता रहेकोमा यस वर्ष कूल तीन लाख २९ हजार ४७३ मतदाता छन् । जिल्लामा मतदान केन्द्र ३७९ छन् । मतदाता सङ्ख्या बढेकाले ५२ मतदान केन्द्र थपिएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी युवराज पन्तले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस