उदयपुर हत्या प्रकरणमा सहपाठीकै संलग्नता, दुई जना पक्राउ « प्रशासन
Logo २८ बैशाख २०८१, शुक्रबार
   

उदयपुर हत्या प्रकरणमा सहपाठीकै संलग्नता, दुई जना पक्राउ


२२ चैत्र २०७८, मंगलबार


काठमाडौँ । उदयपुरको बेलका नगरपालिका–१ मा भएको विद्यार्थी कविता सुनुवारको हत्यामा उनकै सहपाठीको संलग्नता देखिएको छ ।

प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानका क्रममा सुनुवार र उनकै कक्षामा अध्ययनरत अर्की विद्यार्थीबीचको झगडाका क्रममा हत्या भएको देखिएको हो ।

वियरको बोतल र ढुङ्गा प्रहार गरेर हत्या गरेको अभियोगमा प्रहरीले १९ वर्षीय विनोद ढकाल र १७ वर्षीया नाबालिकालाई पक्राउ गरेको छ ।

पक्राउ परेकी नाबालिका मृतक कविता सुनुवारसँगै कोसी जनता माध्यमिक विद्यालय रामपुरको कक्षा १० मा पढ्थिन् ।

जिल्ला प्रहरी कार्यालय, उदयपुरका एक उच्च अधिकृतले भने, ‘मृतक र अर्की नाबालिकाबीच अलि अगाडिदेखि मनमुटाब रहेछ, त्यही विवादमा काकाका छोरा विनोदसँग मिलेर हत्या गरिएको पाइएको छ ।’

प्रहरीका अनुसार प्रवेशिका परीक्षाका लागि ट्युसन पढ्नलाई मंगलबार बिहान तिनै जना सँगै निस्किएका थिए । ‘विनोद त्यो स्कुलमा पढ्ने होइनन्, तर बहिनीलाई पुर्‍याउन भन्दै गएका थिए’ अनुसन्धानमा संलग्न अधिकृत भन्छन्, ‘बाटोमा विवाद बढ्यो र सुरुमा वियरको बोतल र पछि ढुङ्गाले हानेर हत्या गरेको पाइएको छ ।’

प्रहरीले घटनामा प्रयोग गरिएको वियरको बोतलको टुक्रा र ढुङ्गा पनि बरामद गरेको छ । शवलाई पोस्टमार्टमका लागि लैजाने प्रहरीको तयारी छ ।

सम्बन्धित समाचार : उदयपुरमा एक स्कुले छात्राको हत्या

Tags :
प्रतिक्रिया दिनुहोस