राजु र दिया सगरमाथा आरोहण गर्दै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राजु र दिया सगरमाथा आरोहण गर्दै


२१ चैत्र २०७८, सोमबार


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि जान लागेका मङ्गोलिन हार्टका गायक राजु लामा र अभिनेत्री दिया पुनलाई आज बिदाइ गरेका छन् ।

मन्त्रालयमा आयोजना गरिएको एक कार्यक्रममा मन्त्री आलेले लामा र पुनलाई नेपालको राष्ट्रिय झन्डा प्रदान गरेर बिदाइ तथा आरोहणको शुभकामना दिएका हुन् । मन्त्री आलेले सगरमाथा आरोहण गर्न लागेका गायक लामा र अभिनेत्री पुनलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

मन्त्री आलेले भने, ‘सतर्कता र सावधानीपूर्वक हिमाल चढ्नुहोला, आवश्यक पर्ने सहयोग भन्नु होला हामी सहयोग गर्न तयार छौँ ।’ जलवायु परिवर्तनले ल्याएको असरको सन्देश दिन गायक लामा र नायिका दियाले हिमाल आरोहण गर्न लागेको बताए ।

यसै गरी मन्त्री आलेले लामा र पुनलाई शुभकामना पत्रसहित झन्डा हस्तान्तरणसमेत गरेका थिए । गायक लामाले सगरमाथा आरोहणसहित छ हजार ५०० मिटर उचाइको क्याम्प २ मा वैशाख दोस्रो साता साङ्गीतिक कार्यक्रमसमेत गर्ने बताए । उनले भने, ‘कार्बन उत्सर्जन घटाउनु, पर्यटन प्रवर्द्धन गर्न र सङ्गीत तथा हिमालको नातालाई गाढा बनाउन मैले सगरमाथा आरोहण गर्न लागेको छु, विश्वको सबैभन्दा उच्च स्थानमा कन्सर्ट गरेर कीर्तिमान राख्ने योजना छ ।’

उनी चैत २७ गते सगरमाथातर्फ प्रस्थान गर्ने र अभिनेत्री पुन चैत २३ गते नै त्यसतर्फ लाग्ने कार्यक्रम तय भएको छ । जलवायु परिवर्तनले हिमालमा पारेको असर र विश्वमा नेपाली फिल्मको प्रचारप्रसार गर्ने उद्देश्यले अभिनेत्री पुनले हिमाल आरोहण गर्न लागेको जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस