निजामती अस्पतालको सेवामा सुधार होस् ! « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

निजामती अस्पतालको सेवामा सुधार होस् !


२६ फाल्गुन २०७८, बिहिबार


निजामती सेवा अस्पतालको सेवा सुविधा सम्बन्धमा पटक पटक विषयहरू उठान हुने गर्दछन् । यस अस्पतालको आधिकारिक फेसबुक पेजमा सेवाग्राहीले गरेका कमेन्टहरू हेर्दा उनीहरूले भोग्नुपरेका समस्याहरूको फेहरिस्त देखिन्छ ।विशेषज्ञ डक्टरसँग चेकअप गराउन धेरै दिन पालो कुर्नुपरेको, फार्मेसीमा पर्याप्त औषधी नभएको, महँगो उपचार पद्धतिलाई प्रिस्क्राइब गरेको, भिडभाड धेरै भएको, लाइनमा लामो समय बस्नुपरेको, काउन्टरमा पैसा चेन्ज नगरिदिएको, नर्सहरूले नराम्रो व्यवहार गरेको, व्यवस्थापन खस्कँदै गएको, कर्मचारी मोबाइलमा व्यस्त हुने गरेको लगायतका थुप्रै गुनासाहरू सेवाग्राहीले कमेन्टमा उल्लेख गरेको देखिन्छ ।

अस्पताल प्रशासनले सेवाग्राहीका गुनासाप्रति गम्भीर भएर सेवा सुधार गर्ने पहलकदमी लिएको देखिँदैन । बरू अस्पतालको पेजबाट गरिएको कमेन्टको रिप्लाईमा क्यासियरहरू चेन्ज लिएर बस्नुहुन्छ तर एक छिनमा सकिएकोले चेन्ज पैसा नै खोजिएको, डा. सीमित र चाप धेरै भएकोले टिकट नपाएको लगायतका हल्का जवाफहरू दिएको पाइन्छ । यसरी अस्पताल प्रशासनले ओठे जवाफ दिनुभन्दा सेवाग्राहीका जायज गुनासालाई सम्बोधन गरी कामसहित जवाफ दिएमा सेवाको सुधार हुने अपेक्षा गर्न सकिन्थ्यो ।

अब निजामती सेवा अस्पतालको स्थापना सम्बन्धमा चर्चा गरौँ । निजामती कर्मचारी अस्पताल गठन आदेश, २०६४ बमोजिम निजामती कर्मचारी र निजका परिवारको स्वास्थ्योपचारको लागि यो अस्पताल स्थापना भएको हो । अस्पतालको व्यवस्थापन र सञ्चालनको जिम्मेवारी अस्पताल विकास समितिलाई छ । मुख्य सचिवको अध्यक्षतामा रहने यस समितिमा सामान्य सचिव, अर्थ सचिव, कानुन सचिव, स्वास्थ्य सचिव र एक जना नेपाल सरकारबाट मनोनीत चिकित्सक सदस्य तथा अस्पतालको कार्यकारी निर्देशक सदस्य सचिव रहने व्यवस्था छ ।

अस्पतालको सञ्चालन र व्यवस्थापन गर्ने गराउने, अस्पतालको विकास र विस्तार गरी साधन सम्पन्न र स्वावलम्बी बनाउँदै लैजाने, भौतिक पूर्वाधार खडा गर्ने, आवश्यक स्रोत साधन पहिचान गरी परिचालन गर्ने, दरबन्दी सिर्जना गर्ने, सेवाको शुल्क निर्धारण गर्ने तथा अस्पतालबाट प्रवाह गर्ने सेवालाई प्रभावकारी बनाउन थप कार्यहरू गर्ने काम, कर्तव्य र अधिकार अस्पताल विकास समितिको रहेको छ ।

अस्पतालले प्रदान गर्ने सेवालाई छिटो छरितो बनाई नागरिकको पहुँच सरल र सहज बनाउन तथा अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सक तथा जनशक्तिको सेवा उपयोगको अवस्थालाई विस्तार गर्न विस्तारित अस्पताल सेवा कार्यक्रम सञ्चालन गरिएको छ ।

उक्त कार्यक्रम सञ्चालन तथा व्यवस्थापनको लागि अस्पतालको कार्यकारी निर्देशकको अध्यक्षतामा सामान्य प्रशासन मन्त्रालयको उपसचिव, अस्पतालको नर्सिङ विभागको प्रमुख, आर्थिक तथा प्रशासन विभाग प्रमुख सदस्य तथा कार्यकारी निर्देशकले तोकेको एक जना अधिकृत स्तरको स्वास्थ्यकर्मी सदस्य-सचिव रहने गरी एउटा समिति रहेको छ ।

यस समितिको विस्तारित अस्पताल विकास कार्यक्रमलाई व्यवस्थित ढङ्गले कार्यान्वयन गर्ने लगायत सेवाग्राहीको सुझाव, उजुरी, गुनासो सुनुवाइ तथा समाधानका लागि आवश्यक समन्वय गर्ने काम कर्तव्य र अधिकार छ ।

निजामती कर्मचारी र निजका परिवारलाई स्वास्थ्योपचार सुविधा उपलब्ध गराउने उद्देश्यले स्थापित अस्पतालको सेवा सुविधाबाट कर्मचारीहरू सन्तुष्ट रहेको अवस्था भने देखिन् । अस्पतालको व्यवस्थापन र सञ्चालनको जिम्मेवारी पाएको अस्पताल विकास समितिमा कर्मचारीहरूको प्रतिनिधित्व गराइएको छैन । कम्तीमा पनि समितिमा आधिकारिक ट्रेड युनियनको प्रतिनिधित्व गराउन सकेमा त्यसले कर्मचारीका जायज मागहरू सम्बोधन हुने वातावरण निर्माण हुने थियो । सरोकारवालाहरूको सहभागिताबेगरको सञ्चालक समितिले सेवा लिने कर्मचारीहरूका पिर मर्का र आवश्यकतालाई सम्बोधन गर्न सकेको देखिन् ।

अस्पतालबाट प्रदान गर्ने कतिपय सेवाहरू लिनको लागि महिनौँसम्म पालो कुर्नुपर्ने समस्या समेत विद्यमान छ । जस्तै: भिडियो एक्स-रे (यूएसजी) । दूर दराजबाट स्वास्थ्य सेवाजस्तो संवेदनशील सेवा लिन आउने कर्मचारीले तत्काल सेवा नपाउनु भनेको सेवा इन्कार गर्नुजस्तै हो । जसरी ढिलो न्याय दिनु भनेको न्याय नदिनु सरह मानिन्छ, त्यस्तै गरी स्वास्थ्य सेवाजस्तो संवेदनशील विषयमा ढिलासुस्ती हुनु स्वीकार्य विषय होइन । अस्पतालमा यन्त्र उपकरण र जनशक्ति थप गरेर निजामती कर्मचारीको लागि तत्काल सेवा सुविधा पाउने सुनिश्चितता गर्नुपर्दछ ।

गठन आदेशमा क्षेत्रीय, अञ्चल र जिल्ला स्तरमा अस्पताल विस्तार गरी स्वास्थ्य सेवा उपलब्ध गराउन आवश्यक व्यवस्था मिलाउने उल्लेख भएतापनी त्यसतर्फ प्रभावकारी ढङ्गले ठोस काम हुन सकेको छैन । कम्तीमा पनि प्रदेश स्तरमा निजामती अस्पताल सञ्चालन गर्न सकेमा उपचारको लागि काठमाडौँ नै धाउनुपर्ने बाध्यताबाट कर्मचारीहरूले मुक्ति पाउने थिए ।

निजामती अस्पतालको पहिलो प्राथमिकता निजामती कर्मचारीलाई स्वास्थ्य सेवा उपलब्ध गराउने हो । कर्मचारीलाई उपलब्ध गराउने सेवा सुविधामा कुनै कमी नआई अस्पतालको स्रोत, साधन र क्षमताले भ्याए मात्र सर्वसाधारणलाई सेवा दिने हो । कर्मचारी र उनीहरूको परिवारलाई नै प्रभावकारी सेवाको सुनिश्चितता नभईकन सर्वसाधारणका लागि सेवा खुला गर्नु हुँदैन । बरु वीर अस्पताल, टिचिङ अस्पताल जस्ता सरकारी अस्पतालको सेवालाई गुणस्तरीय, सर्वसुलभ र नागरिकको पहुँचयोग्य बनाई सर्वसाधारणलाई स्वास्थ्य सेवा प्रदान गर्नेतर्फ राज्य केन्द्रित हुनुपर्दछ ।

त्यसैगरी निजामती कर्मचारीहरूको लागि खोलिएको अस्पतालमा विस्तारित अस्पताल सेवा कार्यक्रमको नाममा अतिरिक्त शुल्क लिनु जायज हुँदैन । बरु हाल कर्मचारीलाई दिइरहेको सहुलियतलाई थप वृद्धि गर्दै निश्चित प्रकारका स्वास्थ्य सेवालाई निःशुल्क गर्नेतर्फ पहलकदमी चाल्नु आवश्यक छ ।

अस्पतालमा थप लगानी गरी आधुनिक उपचार विधि भित्र्याउनु पर्दछ । अब्बल जनशक्ति छनौट गर्दै उचित तालिम र अवसर प्रदान गर्न आवश्यक छ । अस्पतालको कार्यकारी निर्देशकको छनौटमा थप वस्तुनिष्ठ विधि र पद्धतिको अवलम्बन गर्दै निजको कामको निरन्तर अनुगमन तथा मूल्याङ्कन गर्नुपर्दछ । समितिको कोषको उचित व्यवस्थापन गर्ने, कार्यसम्पादन र वार्षिक प्रतिवेदन समेतका आधारमा आवश्यक निर्देशन दिने, सेवाग्राहीका गुनासा सुनुवाइको लागि चुस्त संयन्त्र निर्माण गर्नेतर्फ थप कदमहरू अपेक्षित छन् ।

अस्पतालका नर्स र कर्मचारीहरूले सेवाग्राहीमैत्री व्यवहार प्रदर्शन गरी सेवाग्राही मन जित्नेतर्फ ध्यान दिनुपर्ने देखिन्छ । टिकट काउन्टरमा चेन्ज पैसा नै लिएर आउनुपर्ने बाध्यता सिर्जना गर्नु अर्को विडम्बना हो । लाइन व्यवस्थापन गर्ने, फार्मेसीमा पर्याप्त औषधीको व्यवस्था गर्ने, अत्यावश्यक बाहेकको अवस्थामा कार्यस्थलमा मोबाइलको प्रयोग नगर्ने लगायतका सामान्य व्यवस्थापकीय पक्षमा मात्र सुधार गर्दा पनि सेवाको प्रभावकारिता बढ्ने देखिन्छ ।

अतः चुस्त, गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवाको प्रत्याभूति गर्नेतर्फ अस्पतालको अर्जुन दृष्टि हुनु जरुरी छ । निजामती कर्मचारीलाई सुरक्षित महसुस गराई सार्वजनिक सेवा प्रवाह र आफ्नो जिम्मेवारीप्रति थप उत्प्रेरित बनाउन निजामती अस्पतालको सुसञ्चालन र सुव्यवस्थापनले सशक्त भूमिका निर्वाह गर्न सक्दछ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस