नागरिकलाई बिमाको दायरामा ल्याउनु आवश्यक छ : मुख्यमन्त्री भट्ट « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

नागरिकलाई बिमाको दायरामा ल्याउनु आवश्यक छ : मुख्यमन्त्री भट्ट


१९ फाल्गुन २०७८, बिहिबार


गोदावरी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले देशको सङ्घीय स्वरूप अनुसार आम नागरिकलाई बिमाको दायरामा ल्याउन ठोस कानुनी व्यवस्थाका साथ अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

बिमा समितिको आयोजनामा बिहीबार धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेश सरकारसँग बिमासम्बन्धी अन्तर्क्रियामा उनले बिमाका बारेमा फरक फरक बुझाइ भएकाले एकरूपता कायम गर्न बिमासम्बन्धी जनचेतनामूलक कार्यक्रम आवश्यक रहेको बताए ।

मुख्यमन्त्री भट्टले यस प्रदेशमा बिमा समितिले प्रदेश कार्यालय स्थापना गर्न लागेकामा खुसी व्यक्त गर्दै विभिन्न प्रकोपका कारण हुने आर्थिक नोक्सानी कम गर्नका लागि बिमा गर्ने व्यवस्था उत्तम छ भने ।

सोही प्रदेशका प्रमुख सचिव रामेश्वर दङ्गाले बिमा समितिको प्रादेशिक कार्यालय स्थापना पछि प्रादेशिक सरकारसँग समन्वयका लागि नीति बनाउनुपर्ने आवश्यकता औँल्याउँदै बिमाको विकास एवं विस्तारका लागि नेतृत्व लिन प्रदेश सरकार तत्पर रहेको बताए ।

बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले जनतालाई बिमाको दायरामा ल्याउन प्रदेश सरकारले आर्थिक सहायता एवं अनुदानको व्यवस्था, बिमाको पहुँच विस्तारका लागि समन्वय गर्न सम्पर्क व्यक्ति तोक्न र प्रदेश बिमा नीति बनाउनुपर्नेमा जोड दिए ।

सहभागीहरूले बिमा कम्पनीले बिमा दाबी भुक्तानी दिन ढिलाइ गर्ने गरेको र बिमा भुक्तानी माग गर्ने प्रक्रिया झन्झटिलो रहेको गुनासो गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस