सिकाइ र शब्द चयन ! « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सिकाइ र शब्द चयन !


२६ श्रावण २०७८, मंगलबार


कुनै पनि सिकाइका लागि भाषाको महत्त्वपूर्ण भूमिका हुन्छ । बालबालिकाका हकमा त सिकाइको प्रमुख माध्यम नै भाषा हो । भाषा विज्ञानले मानव अवयवद्वारा उच्चारित सार्थक ध्वनि सङ्केतको व्यवस्थालाई मात्र भाषा मानेको छ । तर व्यवहारमा यसको अर्थ, क्षेत्र र उपादेयता यो भन्दा धेरै परसम्म जान्छ ।

खासगरी पहिलो भाषा (मातृभाषा) को प्रभावमा हुर्के, बढेका बालबालिकाहरूका लागि दोस्रो भाषाको सिकाइ यादृच्छिकताको कारण जटिल बन्न जान्छ । अहिले चर्चामा आएको वैकल्पिक सिकाइ विधिको प्रयोगले त झन् भाषिक पक्ष शुद्धता र बोधगम्यताका हिसाबले थप जटिल बन्ने देखिन्छ । खासगरी नेपाली भाषालाई दोस्रो भाषाकारुपमा सिक्नेहरुका लागि शिक्षकले थप मिहिनेत गर्न जरुरी छ ।

भाषाको जवर्जस्त प्रयोग र जवर्जस्त बुझाई सिकाइका लागि हानिकारक हुन् । शुरुबाटै शब्दशक्तिका हिसाबले भाषिक ज्ञानको रहर पनि पाच्य हुँदैन । उमेर, अवस्था, स्थान तथा समुदायपिच्छे भाषिक व्यवहार अलग, अलग हुने गर्दछ । समयका क्रममा विभिन्न कारणहरूले गर्दा भाषामा परिवर्तन पनि देखिन्छ । समय, स्थान र परिवेशअनुसार भाषिक व्यवहार गर्न सक्षम नागरिक तयार गर्नु आजको शिक्षाको एउटा लक्ष्य पनि हो ।

तीन ठाउँका तीन घटना
घटना नम्बर एक
लगभग २०३७ सालतिरको प्रसङ्ग हो । म पर्वतको लेकफाँटस्थित गिद्देश्वार नि.मा.वि.मा पढाउनका लागि नियुक्त भएँ । उतिबेला जिल्ला शिक्षा कार्यालयले नियुक्ति दिन्थ्यो । विद्यालयले हाजिर गराएर काममा लगाउँथ्यो । अन्य पूर्वाधार तयारीका लागि विद्यालय सहयोग समिति थियो । अहिलेका झैँ विद्यालय व्यवस्थापन समिति भन्ने त्यो बेला हुँदैनथ्यो । उक्त ठाउँ मेरो लागि निकै टाढा परेकोले अपायक भयो । मैले जिल्ला शिक्षा कार्यालय पर्वत, कुश्मामा आई सरुवा पाउँ भनी जिल्ला शिक्षा अधिकारीसमक्ष निवेदन दिएँ । निवेदनका अन्य भाषा रेडिमेट नै थिए ।

एउटा कुरा नवीन रहेछ । भाषाका पारखी जिल्ला शिक्षा अधिकारी प्रेमनिधि ज्ञवाली (सचिवबाट निवृत्त)ले निवेदन हेर्दासाथ थाहा पाए । मलाई उनको टेबुलनेर बोलाए । ‘यो पढ्नुस्’ भने ।

‘खाए खा, नखाए घिच नभनीकन मलाई तुरुन्त सरुवा गरियोस्’ मैले यही पढेँ । मेरो निवेदनमा यही लेखिएको रहेछ ।

उनले भने,‘जे पायो, त्यहीँ लेख्ने ? के हो नखाए घिच भनेको ? तपाईँलाई कसले घिच भनेको छ ? आजै छाडिदिनुस् । मैले कर गर्‍या छ ? मनपरी निवेदन लेख्ने ?’ भनेर आफू बसेको घुमाउने कुर्ची फनक्क घुमाए ।

मैले मेरो भाषाको आशय बताउन खोजेँ उनले सुनेनन् । मेरो सातो, पुत्लो गयो । सरुवा पाउने त कुरै भएन ।

मलाई मैले पढेको भाषा ठिक ठाउँमा प्रयोग गर्न नजानेकोमा दुःख पनि लाग्यो । त्यहाँबाट म हिँडे । म हिँडेपछि उनले स्टाफसँग ‘यो केटो टाँठो रैछ । जुद्धेलाई पछि यसैले ठिक पार्ला जस्तो छ’ भने भनेर सँगै बसेका अन्य स्टाफले यसपछिको भेटमा मलाई सुनाउँथे । जुद्धजङ लामिछाने तिलाहार गाउँपञ्चायतका उतिबेलाका प्रधानपञ्च थिए ।

जिल्लाका सबै हाकिमहरू भूकको भद्रे र तिलाहारको जुद्धेसँग हाम्रो केही लाग्दैन भनेर थर्कमान हुन्थे । त्यसपछि सचिव भएपछि पनि मैले ती ज्ञवालीलाई भेटेको छु । ‘सर खाए खा नखाए घिच भनेर लेखेकोमा सरले मेरो सातो लिनुभएको थियो’ भन्दा उनले उक्त घटना आफूलाई पनि स्मरण रहेको बताएका थिए ।

घटना नम्बर दुई
२०७५ चैतमा म शिक्षा विकास तथा समन्वय इकाई बारामा इकाई प्रमुख थिएँ । एसइई सञ्चालन गर्नुपर्ने भयो । जिल्लामा ३१ वटा परीक्षा केन्द्रहरू थिए । ३१ जना नै केन्द्राध्यक्ष चयन गर्नुपर्ने भयो । जहिले पनि शिक्षा अधिकारीका लागि केन्द्राध्यक्ष चयन सबैभन्दा टाउको दुखाइको काम हुन्थ्यो । धेरै आकाङ्क्षी, थोरै सिट । त्यसमाथि पनि तराईको कुरा नै अर्को । सबका सबलाई केन्द्राध्यक्ष हुनुपर्ने ।

परीक्षा समन्वय समितिमा प्रस्ताव लगेपछि जुन विद्यालयमा केन्द्र छ त्यो विद्यालयको योग्यता पुगेको प्रधानाध्यापक छ भने ऊ पदेन केन्द्राध्यक्ष हुने अन्य अवस्थामा मात्र नयाँ विद्यालयबाट खटाउने नीति समितिले पारित गर्‍यो । लगभग २८ ठाउँमा समस्या आएन । ३ ठाउँमा नयाँ पठाउनुपर्ने भयो । बैठकबाट जिल्लामा भएका सबैभन्दा सिनियरमध्येबाट पठाउने नीति बनायौँ ।

बैठक सकिएको केहीबेरपछि एक जना बाराकै सङ्घीय सांसदले मलाई फोन गर्दै भने, ‘मेरो तर्फबाट ३ जना मान्छे केन्द्राध्यक्षमा राख्नुहोला’ ।

मैले भनेँ,‘माननीयज्यू टुङ्गो भइसक्यो । हामीलाई जम्मा ३ जना नयाँ मान्छे चाहिने भयो । बाँकी केन्द्र परेका विद्यालयका हेडसरहरू नै पर्नुभयो’ । मैले २८ जनाको नाम सुनाएँ । यसो गर्दा उनका २ जना हेडसर स्वतः परेछन् । अब यी ३ जनामा १ जना मेरो भागमा भनेर नाम दिए ।

मैले भनेँ,‘एक त हामीलाई ३१ जना भए पुग्छ । तपाईँ माननीयहरू ११ जना हुनुहुन्छ । तपाईँलाई ३ जना दिएपछि अरूलाई पनि दिनुपर्छ । मैले अन्याय गर्न हुँदैन । एउटाको भागमा ३ जना हो भने मलाइ ३३ केन्द्र चाहिन्छ । मसँग ३१ केन्द्र मात्र छन् । फेरि २ जना तपाईँका मान्छे परिसकेकै छन् त’ ।

उनले मानेनन्, जिल्लाका आफ्ना हेडसरलाई प्रयोग गरी मलाइ फोन, प्रेसर र धम्काउन थाले । राजेश पौडेल प्रमुख जिल्ला अधिकारी थिए । मैले प्रमुख जिल्ला अधिकारीलाई सबै कुरा सुनाएँ । उनले ‘भैगो के झगडा गर्नु यिनीहरूसँग, उनको को मान्छे रहेछ राखिदिनुस्’ भने ।

मैले माननीयलाई पुनः फोन गरेर भनेँ ‘माननीयज्यू, तपाईँको एक जना थप राखौँला ठिकै छ । तर तपाईँले आफ्ना कुरा सिधै मलाइ भन्नुहोला । म तपाईँसँग डिल गर्छु । तपाईँका छाउरासँग म बहस गर्न सक्दिनँ । मेरा शिक्षकले मलाई तपाईँको नाम लिएर झपार्न पाइँदैन नि, तपाईँ पो माननीय हो, म मान्छु तर तपाईँका छाउरालाई म किन मान्नु ?’

उनले–‘ल ठिक छ फलानोलाई राख्नुहोला’ भनेर निर्देश गरे ।

एकछिनपछि पुनः उनै माननीयको फोन आयो–‘ए जिशिअ सा’ब, (कार्यालयको नाम शिक्षा विकास तथा समन्वय इकाई र प्रमुखको पद इकाई प्रमुख भए पनि जनजिब्रोमा शिक्षा कार्यालय र जिशिअ नै भन्ने चलन आजपर्यन्त छ)

तपाईँ कति पढनुभा’छ ?’

मैले मेरो योग्यता बताएँ ।

–‘के विषय हो ?’ उनले सोधे ।

‘नेपाली माननीयज्यू’ मैले भनेँ ।

‘तपाईँलाई भाषा भनेको के हो थाहै रहेनछ । यस्ताले के नेपाली पढेको ? उनले भने ।

‘के भयो र हजुर ? नेपाली पढेको मात्र होइन ८/१० वर्ष पढाएको छुँ, त्यो पनि पोखराको पृथ्वीनारायण क्याम्पसमा’ मैले मेरो विगत सुनाएँ ।

‘अघि तपाईँले मलाई छाउरा भन्नुभाथ्यो ? के हो छाउरा भनेको ? कसको बच्चालाई छाउरा भनिन्छ थाहा छ ? तपाईँका छाउरा भन्नुभयो । उनीहरू छाउरा भएपछि म के भएँ ?’ उनले मेरा कुनै पनि कुरा सुन्न चाहेनन् । मलाई एकोहोरो प्रश्न मात्र तेर्साए । ‘मसँग युनिभर्सिटी पढाउने प्रोफेसर पनि सँगै हुनुहुन्छ । तपाईँ मात्र पढेको भन्ने ?’

मेरो होस्, हवास उड्यो । प्रतिकार वा स्पष्टीकरण दिने मौका नै दिएनन् । मैले लक्षणामा भनेँ, उनले अभिधामा बुझे ।

घटना नम्बर तीन
म २०७४ सालको स्थानीय निर्वाचनमा बझाङको सुर्मामा निर्वाचन अधिकृत भएर गएको थिएँ । म उम्मेद्वारहरुसँग अलि बढी नै लचिलो भएको देखेर सशस्त्रका एक जना इन्स्पेक्टरले ‘सर यी सालेपासँग धेरै नरम बन्न हुँदैन । पछि हेप्छन्, कडा हुने हो’ भने ।

मेले सालेपाको अर्थ बुझिन । पछि उनले भने, ‘सर प्रहरीतर्फ आठा छापभन्दा माथि पढे लेखेकाभन्दा तलकालाई सालेप (सामान्य लेखपढ) भन्ने चलन छ’ भनेर सुनाए ।

२०७६ को वैशाखको पहिलो साता भिमाद नगरपालिकाका मेयर मेखबहादुर थापाले भिमाद वडा नम्बर २ बिरुवास्थित सिद्ध आधारभूत विद्यालयमा गएर खानेपानीको अवस्था अवलोकन गरी आउन खटाए । यी सालेपाले पनि के–के लगाउँछन् लगाउँछन् भन्दै खानेपानी शाखाका प्राविधिक, स्रोत व्यक्ति केशवराज वाग्लेसहित म गयौँ । फर्कँदा बाटोमा उनै मेयर थापाको घर रहेछ । म पहिलो पटक त्यता गएकोले मलाई थाहा थिएन । साथीहरूले यो हाम्रा मेयरसा’बको घर हो भने ।

मैले गाडी रोकेर एक छिन घर हेरेँ । हामी अफिस फर्केपछि प्रतिवेदन दिन मेयरको कार्यकक्षमा प्रवेश गर्‍यौँ । विद्यालयको प्रतिवेदन सकिएपछि व्यक्तिगत गफतिर हामी सोझियौँ । मेयर राजनीतिक प्राणी हुन् । तर कर्मचारीसँग गर्ने व्यवहार, भलाकुसारी, व्यक्तिगत सम्बन्ध स्थापनामा उनी अरूभन्दा फरक थिए ।

उनले भने,‘मेरो घर पनि देख्नुभयो ? कस्तो लाग्यो ?’ मैले ‘देखे हजुर । स्वर्ग नै रहेछ’ के मात्र भनेको थिएँ, कुरा समाइ हाले ।

‘स्वर्ग ? के भन्नुभयो सर ? स्वर्ग त मरेको मान्छे बस्ने ठाउँ हैन र ? म त जिउँदै छुत’ उनले भने ।

म पानी, पानी भएँ । ‘हैन मेयर सा’व स्वर्गजस्तै भनेको हो, हजुरले जस्तै नसुन्नु भा’ भनेँ ।

‘ए उसो भए ठिक छ । स्वर्गजस्तै त हुनसक्छ’ भने । त्यसपछि म ठेगानमा आएँ ।

बझाङमा त्यो प्रहरीले सिकाएको सालेपको व्यवहार उनीसँग पटक्कै देखिएन । उनले भाषा समातिहाले । नभन्दै उनको घर स्वर्गकै टुक्राजस्तो मनोरम स्थानमा थियो । चारैतिर हरियाली, बीचमा पीच बाटो ।

बाटामुनि सुन्तलालगायतका रुखको मनोरम शीतलता । ३ पत्रे घर । माथिल्लो पत्र हाइवेसँग जोडिएको । त्यसभन्दा तल सिँढी टेक्दै बीचको तलेत्रो र त्योभन्दा पनि तल अर्को तलेत्रो । साँच्चैको मनोरम थियो उनको घर र घर वरिपरिको दृश्य । मैले यसलाई उपमा अलङ्कार र लक्षणा शब्द शक्तिमा बोलेँ, उनले अभिधामा अर्थ्याए । सबै जनप्रतिनिधिहरू सालेप रहेनछन् मैले थाहा पाएँ ।

सिकाइ
भाषाले पार्ने प्रभाव र यसको प्रयोग पक्षका बारेमा धेरै कुरा प्रायोगिक भाषा विज्ञानले सिकाउँछ । तर हामीले वैकल्पिक सिकाइका तरिकालाई उपयोगमा ल्याउँदा भने अभिधाजन्य भाषाबाटै सिकाइ गर्नुपर्ने हुन्छ । व्यञ्जना र लक्षणातर्फ जानका लागि भने प्रत्यक्ष विधि नै आवश्यक ठानिन्छ । कोरोना अवधिको सिकाइ यसै पनि निर्वाहमुखी हुने हुँदा समग्रताको प्राप्ति भाषामा पनि खोजिनु हुँदैन ।

अनुत्तरित जिज्ञासा
सरकारबाट हटेका पछिल्ला दिन आफ्नै घरको बार्दलीबाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई नामै किटेर भनेको ‘गद्दार’ र ‘देशद्रोही’ शब्द प्रयोगको औचित्य ओलीले कहिले र कसरी सिद्ध गर्लान् – हेर्न बाँकी नै छ ।

लेखक पौडेल नेपाल सरकारका दशौँ तहका सेवा निवृत्त उपसचिव हुन् )

Tags :
प्रतिक्रिया दिनुहोस