नत भयो यताबाट न त उता बाट
खोइ के आशा गर्नु र हाम्रा नेताबाट
सधैँभरि घुमेका छन्, कुर्ची वरिपरि
जनतालाई खान छैन, छैन घरबारी
विधान भन्दा व्यक्ति ठुलो, मान्नु पर्ने हाम्ले
पद प्राप्ति गर्न खोज्छन्, साम अनि दामले
प्रकृतिले दिएको छ, स्वर्ग जस्तो भूमि
जे व्यवस्था ल्याए पनि, यहाँ क्यै नहुनी
युवा जमात सधैँभरी, यिनका कार्यकर्ता
भगवानसरी मान्छन् नेता, ठानी दुःख हर्ता
गलतलाई गलत भन्न, सक्दैनन् है कोही
ढुङ्ग्रो लुकाई माग्न खोज्छन्, आज पनि मोही
अब्बल अनि राम्रा हिँड्छन्, आफ्नो देश छाडी
छाकको जोहो गर्न हिँड्छन्, अरू युवा खाडी
स्थायी सरकार भन्नुमात्र, कर्मचारीतन्त्र
नेता पुजी घुमेका छन्, भई मानवयन्त्र
हे मित्र हो ! पठाईदेओ, कोभिड खोप लाउँला
बाँचिएछ भने बरु, तिम्रै गुणगान गाउँला
आशा अझै मार्या छैन, देश बन्छ भन्ने
ए युवा हो ! कैले होला, तिमी नेता बन्ने ?