बेनी-जोमसोम सिधा यातायात सञ्चालन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बेनी-जोमसोम सिधा यातायात सञ्चालन


२० चैत्र २०७७, शुक्रबार


बेनी । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडकमा एक सातापछि सिधा यातायात सञ्चालन भएको छ । सडकखण्डअन्तर्गत म्याग्दी र मुस्ताङको सीमा क्षेत्रमा पर्ने काभ्रेभिरमा विस्फोटक पदार्थको प्रयोग गरी सडक चौडा बनाउन गत चैत १४ गतेदेखि यातायात बन्द गरिएको थियो ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङबाट अनुमति लिएर एक सातासम्म विस्फोटक पदार्थ प्रयोग गरी सडक फराकिलो बनाउने काम गरिएको हो । बन्द भएको सडक आजदेखि सञ्चालन भएको आयोजनाका सूचना अधिकारी अश्विनीकुमार यादवले जानकारी दिए । निर्माण कम्पनी शर्मा-गजुरमुखी जेभीले गत पुसदेखि पहाड काट्ने काम गर्दै आएको थियो ।

उनका अनुसार विस्फोटक पदार्थ प्रयोग गरी सडक चौडा बनाउने काम गरिए पनि पूरै भिरको काम सक्न भने केही महिना लाग्नेछ । एक हजार ६०० मिटर दूरीमा पहाड काट्नुपर्ने भएकाले सडक चौडा बनाउन लामो समय लाग्ने आयोजनाले जनाएको छ । बेनी-जोमसोम सिधा सवारी सञ्चालन भएसँगै एक सातादेखि बेनी हुँदै जोमसोम र जोमसोमबाट बेनी हुँदै आवतजावत गर्ने पर्खाइमा रहेका यात्रुलाई सहज भएको छ ।

उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत ७६ किमी लामो बेनी-जोमसोम सडक चार प्याकेजमा स्तरोन्नति भइरहेको छ । करिब रु छ अर्ब लागतको राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला सडक आयोजना विसं २०७४ देखि निमार्ण शुरु भएको हो ।

एक सय १० किलोमिटर दूरीको जोमसोम-कोरला सडक ग्राभेल गर्ने काम भइरहेको छ । करिडोरका अनुसार जोमसोम-कोरला सडकको सात प्याकेजमध्ये चार प्याकेजको काम निर्माण सकिएको छ । बेनी-जोमसोम सडकमा ६० प्रतिशत र जोमसोम-कोरला सडकमा ८५ प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस