जबाफदेही निजामती सेवा र व्यवस्थापन परीक्षण « प्रशासन
prasaLogo
२१ श्रावण २०७८, बिहिबार
   

जबाफदेही निजामती सेवा र व्यवस्थापन परीक्षण


११ चैत्र २०७७, बुधबार


सेवाग्राही सन्तुष्टि हुने गरी नियमानुसार गुणस्तरीय छरितो सेवा प्रदान गर्नु नै सुशासन हो । सुशासनको प्रत्याभूति दिन व्यवस्थापकीय पक्ष वैज्ञानिक एवं निष्कलङ्क तथा चुस्त दुरुस्त हुनुको विकल्प छैन ।

व्यवस्थापनलाई जीवन्त राख्दै लोकप्रिय बनाउन समयानुकूल अद्यावधिक गर्दै जानु पर्दछ । व्यवस्थापकीय परिष्कृतका क्रममा मौजुदा अवस्थाको वस्तुनिष्ठ पहिचान पहिलो सर्त हो । यसरी सबल र दुर्बल पक्षहरू केलाएर अनावश्यक कुराहरू निफन्न व्यवस्थापन परीक्षणबाट प्राप्त सूचना बढी विश्वसनीय हुने वास्तविकता हो । संघसंस्थाहरुमा सबै खाले साधा स्रोतको उच्चतम परिचालन गरेर सुगमतापूर्वक निर्धारित लक्ष्यमा पुग्न व्यवस्थापन परीक्षणबाट प्राप्त सूचनाहरूले मार्गदर्शनको भूमिका खेल्दछ । अनावश्यक भद्दा तथा आउटडेटेड व्यवस्थापकीय पद्धति र पक्षको निरुत्साहित गर्दै नवीन आविष्कारलाई प्रयोगमा ल्याउन परीक्षणले अहम् भूमिका खेल्दछ ।

व्यवस्थापन परीक्षणले सङ्गठनको सञ्चालनको सन्दर्भमा गरिएका व्यवस्थापकीय क्रियाकलापमा रहेका कमीकमजोरीहरूको पहिचान गरी सुधारका लागि आवश्यक पृष्ठपोषण दिने काम गर्ने हुँदा यसलाई व्यवस्थापकीय नियन्त्रणको आन्तरिक कडीकारुपमा लिइन्छ । व्यवस्थापन परीक्षण कुनै सङ्गठन वा त्यसको कुनै एक एकाइको विस्तृत एवं पूर्ण मूल्याङ्कन गर्ने कार्य हो । व्यवस्थापन परीक्षणले व्यवस्थापकीय निर्णय र कार्यप्रणलीको कार्यदक्षता, मितव्ययिता, औचित्यता र प्रभावकारिताको परीक्षण गरी सोको नतिजा व्यवस्थापन समक्ष प्रस्तुत गर्दछ । राज्यतर्फबाट नागरिकलाई प्रदान गर्नुपर्ने सम्पूर्ण सेवा तथा सुविधा उपलब्ध गराउने गरी स्थापना भएका निकायहरूले गर्ने समग्र कार्यको सुपरिवेक्षण, निरीक्षण, जाँच वा अनुगमन तथा मूल्याङ्कनलाई नै व्यवस्थापन परीक्षण भनिन्छ । यसले व्यवस्थापनको गुणस्तरलाई वृद्धि गरी नतिजा केन्द्रित रहन सहयोग गर्दछ ।

व्यवस्थापन परीक्षणले सङ्गठनको उद्देश्य, नीति, योजना, संरचना, स्रोत साधनको प्रयोग तथा कार्य सम्पादन र प्रक्रियाहरूको सुपरिवेक्षण, अनुगमन र मूल्याङ्कन गरी सङ्गठनमा नियन्त्रण तथा सुधार गर्दै गतिशील सङ्गठन र जबाफदेही प्रशासन निर्माण गर्न मद्दत पुर्‍याउँछ । यसले सङ्गठनको सम्पादित क्रियाकलापहरूको मात्रै मूल्याङ्कन नगरी सङ्गठनको नीति, नियम, कानुन, योजना, सङ्गठनात्मक लक्ष्य र उद्देश्य, सङ्गठनात्मक संरचना, मानव स्रोतको अवस्था र त्यसको परिचालन, सङ्गठनको आर्थिक तथा भौतिक अवस्था लगायत समग्र पक्षको सुपरिवेक्षण र मूल्याङ्कन गर्दछ ।

व्यवस्थापन परीक्षणको सैद्धान्तिक अवधारणको प्रादुर्भाव सन् १९६० को दशकमा पहिलो पटक अमेरिकाबाट भएको हो । नेपालको निजामती सेवामा यसको प्रारम्भ पहिलो पटक वि.स. २०५५ सालमा निजामती सेवा ऐन २०४९ को पहिलो संशोधनसँगै व्यवस्थापन परीक्षण कानुनीरुपमा स्थापित भयो । निजामती सेवा ऐन/नियमावलीको व्यवस्था तथा नेपाल सरकार कार्य विभाजन नियमावलीले सुम्पिएको जिम्मेवारीस्वरुप सामान्य प्रशासन मन्त्रालयले गर्दै आएको छ । प्रथम पटक सामान्य प्रशासन मन्त्रालयले व्यवस्थापन परीक्षण निर्देशिका, २०६२ जारी गरेको थियो । पछि समस्या र चुनौतीलाई समेटेर परिमार्जन गर्ने क्रममा सामान्य प्रशासन मन्त्रालयले व्यवस्थापन परीक्षण निर्देशिका, २०६७ जारी गरेको छ । परिमार्जित निर्देशिकाले व्यवस्थापन परीक्षणलाई थप परिभाषित गर्ने प्रयास गरेको छ ।

नेपाल सरकारका विभिन्न निकायहरूको व्यवस्थापन सम्बन्धी कार्यमा एकरूपता कायम गर्न सहयोग पुर्‍याउने, नेपाल सरकारका निकायमा कार्यरत निजामती कर्मचारीबाट हुने कामकारबाहीहरू प्रचलित कानुन बमोजिम भए नभएको परीक्षण गरी देखिएका कमी कमजोरी, त्रुटि अनियमिततालाई उजागर गर्ने र सुधारका लागि सुझाव दिने, सङ्गठनका सबल र दुर्बल पक्षको पहिचान गर्ने र सबल पक्षको प्रवर्द्धन गर्न आवश्यक उपायहरूको सिफारिस गर्ने, उपलब्ध साधन स्रोतको उच्चतम उपयोग/प्रयोग गरी सङ्गठनात्मक गतिशीलता र प्रभावकारिता वृद्धि गर्न सहयोग गर्ने, व्यवस्थापनमा हुन सक्ने त्रुटीहरुको निराकरण गरी जबाफदेहिता निर्माण गर्न सहयोग गर्ने, सङ्गठनको व्यवस्थापकीय पक्षको सम्पूर्ण तहको कार्यक्षमताको जाँच गर्ने, सङ्गठनका कार्यान्वयन तहका समस्याहरू पहिचान गरी सुझावहरू सिफारिस गर्ने, विधिको शासन सञ्चालनमा सहयोग गरी सुशासन अभिवृद्धि गराउने आदि व्यवस्थापन परीक्षणका प्रमुख विशेषता हुन् ।

निजामती सेवा सेवा ऐनको दफा ७२ (क) अनुसार, लोक सेवा आयोगको कार्यक्षेत्रभित्रका विषयबाहेक सामान्य प्रशासन मन्त्रालयले नेपाल सरकारका विभिन्न निकायहरूमा कार्यरत निजामती कर्मचारीहले प्रचलित कानुन तथा अन्य प्रशासकीय नियम र कार्यविधिहरू पालना गरे नगरेको सम्बन्धमा सुपरिवेक्षण, अनुगमन, मूल्याङ्कन गरी निर्देशन दिन र त्यसरी सुपरिवेक्षण गर्दा कुनै निजामती कर्मचारी उपर विभागीय कारबाही गर्नुपर्ने देखिएमासमेत सिफारिस गर्न सक्नेछ । सोको वार्षिक प्रतिवेदन नेपाल सरकार समक्ष पेस गर्नुपर्ने कानुनी व्यवस्था गरेको छ ।

व्यवस्थापन परीक्षण गर्दा जुन नीति, नियम सङ्गठन संरचना कार्य कर्मचारी व्यवस्थापन, अभिलेख प्रणाली प्रक्रिया, कार्यालय संरचना कर्मचारी व्यवस्थापन, अभिलेख प्रणाली, आर्थिक प्रशासन, जिन्सी व्यवस्थापन वा प्रवाह र पारदर्शीताको अवस्था सूचना प्रविधि प्रयोगको अवस्था आदि विषयहरू नै व्यवस्थापन परीक्षणका क्षेत्रहरू हुन् ।

व्यवस्थापन परीक्षण प्रक्रियामा सङ्गठनको उद्देश्यको पहिचान, उद्देश्यहरूलाई प्रभाव पार्ने तथ्य अवस्थाको विश्लेषण, समस्याहरूको परिभाषा र सुधारका अवसरहरूको पहिचान गर्ने र प्राप्त निष्कर्ष तथा सुधारका सुझावहरूसहितको प्रतिवेदन प्रस्तुत गर्नुपर्छ । व्यवस्थापन परीक्षण गर्दा व्यवस्थापन कर्ता वा निकायले विभिन्न विधि र तरिकाको माध्यमद्वारा व्यवस्थापन परीक्षण गर्ने गरिन्छ । अवलोकन, निरीक्षण प्रश्नावली, छलफल, अन्तरवार्ता, कागजात वा प्रमाणपत्रहरूको अध्ययन, विगतका प्रतिवेदनहरूको अध्ययन र सोको पुनरावलोकन नै व्यवस्थापन परीक्षणका उपयुक्त विधि/तरिकाहरू हुन् ।

व्यवस्थापन परीक्षणमा रहेका चुनौतीकोरुपमा, ऐन, नियम तथा नीति निर्देशिकामा अस्पष्टता रहनु, कानुन पालनामा उदासीनता बढ्दै जानु, उचित पुरस्कार र दण्ड सजायलाई कडाइ गर्न नसक्नु, व्यवस्थापन परीक्षणको कार्यले प्राथमिकता पाउन नसक्नु, विषय क्षेत्र व्यापक र विस्तृत हुनु, उपयुक्त विषय क्षेत्र अनुसारको साङ्गठनिक संरचना, जनशक्ति र व्यवस्थापनमा कमी हुनु, उत्प्रेरणा र मनोबलको स्तरमा कमी आउनु, एक अर्को निकाय र सङ्गठनका बीचमा समन्वय, सहकार्य र सहयोग हुन नसक्नु, सामाजिक परीक्षणको विषयलाई अवलम्बन गर्न नसक्नु आदि पर्दछ ।

व्यवस्थापन परीक्षणका सम्बन्धमा देखिएका नीतिगत, कानुनी, व्यवस्थापकीय र साङ्गठनिक समस्याहरूको समाधानको लागि, व्यवस्थापन परीक्षणलाई प्राथमिकता प्राप्त कार्यकारुपमा रूपान्तरण गर्ने, ऐन, नियम तथा नीतिमा रहेका अस्पष्टतालाई सरलीकरण गर्ने, पर्याप्त साधन स्रोतको उचित व्यवस्थापन गर्ने, पुरस्कार र दण्ड सजायलाई पारदर्शी र प्रभावकारी बनाउने, परीक्षणका निश्चित विधि, मापदण्ड र सूचकहरूको निर्धारण गर्ने, प्रतिवेदनले औँल्याएका विषयको पूर्ण कार्यान्वयन गर्ने, सङ्गठनात्मक र व्यवस्थापकीय क्षमतामा वृद्धि गर्ने, अन्तरनिकाय समन्वय र सूचना प्रविधिको उच्चतम उपयोग गर्ने, परीक्षण प्रक्रियालाई निरन्तर सञ्चालन गर्ने, व्यवस्थापन परीक्षण संवैधानिक अङ्गबाट हुने व्यवस्था गर्ने, व्यवस्थापन परीक्षणको परिणामलाई कर्मचारीको वृत्ति विकाससँग आबद्ध गर्ने, वार्षिक प्रतिवेदन संसदीय समितिमा छलफल गर्ने व्यवस्था गर्ने, हरेक मन्त्रालय, आयोग र सचिवालयमा व्यवस्थापन परीक्षण शाखाको स्थापना गर्ने, व्यवस्थापन परीक्षणको नतिजालाई पुरस्कार र दण्डसँगको आधार बनाई पारदर्शी र वस्तुनिष्ठ बनाउनु आवश्यक छ ।

प्रभावकारी व्यवस्थापन कायम भएको छ कि छैन भन्ने थाह पाउन व्यवसायको अध्ययन अनुसन्धान गर्ने र यसको कुशलता वा अकुशलताबारे प्रष्ट पार्दै सुधारका सुझावहरूसहित प्रतिवेदन दिने कार्य गर्दछ । व्यवस्थापन परीक्षण प्रशासन सञ्चालनको एक महत्त्वपूर्ण व्यवस्थापकीय औजार हो । यसले आन्तरिक नियन्त्रणको प्रभावकारिता र उपयुक्तताको मूल्याङ्कन गरी नतिजामा जोड दिई कारण र प्रभावको विश्लेषण गर्दछ । सार्वजनिक प्रशासनका हरेक तहमा यसलाई अवलम्बन गरी पूर्ण कार्यान्वयन गर्न सकेको खण्डमा नतिजा उन्मुख प्रशासनको विकास भई गुणस्तरीय सुशासन कायम गर्न महत्त्वपूर्ण योगदान पुग्न सक्छ  ।

Tags :
प्रतिक्रिया दिनुहोस