क्षयरोगमुक्त स्थानीय तह घोषणा कार्यक्रम सञ्चालन गरिने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

क्षयरोगमुक्त स्थानीय तह घोषणा कार्यक्रम सञ्चालन गरिने


१० चैत्र २०७७, मंगलबार


काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षदेखि क्षयरोगमुक्त स्थानीय तह घोषणा कार्यक्रम सञ्चालन गर्ने भएको छ । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले क्षयरोगका कार्यक्रमको सूक्ष्म योजना तर्जुमा गरी क्षयरोगमुक्त स्थानीय तह घोषणा कार्यक्रम सञ्चालन गर्न थालेको हो ।

केन्द्रका निर्देशक डा. अनुज भट्टचनले क्षयरोगलाई नियन्त्रण र निर्मूूलीकरण गरी सबै स्थानीय तह क्षयरोगमुक्त गरिने बताए । यसका लागि सरकारले सुक्ष्म ढङ्गले कार्यक्रम सञ्चालन गरिने उनको भनाइ रहेको छ ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले सरकारले सञ्चालन गरेको ‘समृद्ध नेपाल र सुुखी नेपाली अभियान’ अन्तर्गत पहिलो प्राथमिकता स्वास्थ्य क्षेत्र बनाउनुपर्ने बताए । उनले स्थानीय तहलाई पूर्ण स्वास्थ्ययुक्त बनाउनुपर्ने बताए ।

केन्द्रका निर्देशक डा. भट्टचनले गत आव २०७६/७७ मा एक लाख ५५ हजार ३७१ मा परीक्षण गर्दा २७ हजार ७४५ क्षयरोगका बिरामी भेटिएकाले उपचार गरिएको जानकारी दिए । केन्द्रका अनुसार क्षयरोग पत्ता लगाएका अझै ४१ हजार नयाँ बिरामी उपचारदेखि बाहिर रहेका छन् । ‘ती बिरामीलाई पत्ता लगाई उपचारमा ल्याउन चुनौती रहेको छ’, उनले भने ।

प्रत्येक वर्ष मुलुकमा ६९ हजार नयाँ क्षयरोगी थपिने गरेका छन् । प्रति एक लाखमा ९३ क्षयरोगका बिरामी र अहिले एक लाख १७ हजार क्षयरोगका बिरामी रहको छन् । क्षयरोग प्रिभ्यालेन्स सर्वेक्षणअनुसार हाल नेपालमा निजी स्वास्थ्य संस्थामा क्षयरोगको निदान ९ प्रतिशत र उपचार गराउने १५ प्रतिशत रहेको अनुमान गरिएको छ । अहिले चार हजार ९५५ उपचार केन्द्रबाट डट्स उपचार सेवा, ७६५ प्रयोगशाला र ७२ जिनएक्पर्ट केन्द्र एवं दुई वटा राष्ट्रिय प्रेषण प्रयोगशालाबाट क्षयरोगको रोग निदान सेवा प्रदान गरिँदै आइरहेको छ ।

यसैगरी प्रतिरोधी औषधिबाट उपचार गर्ने २२ उपचार केन्द्र, ८१ उपचार उपकेन्द्र, छ डिआर होस्टेल, एक वटा डिआर होम रहेको विश्व क्षयरोग दिवसको अवसरमा आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

औषधि प्रतिरोधी बिरामी बढ्दो

केन्द्रले औषधि प्रतिरोधी क्षयरोग बिरामीको सङ्ख्या बढ्दो क्रममा रहेको जनाएको छ । नेपालमा अहिले वार्षिक दुई हजार २०० औषधि प्रतिरोधी बिरामी थपिने गरेको केन्द्रका निर्देशक डा. भट्टचनले जानकारी दिए । गत आव २०७६÷७७ मा औषधि प्रतिरोेधी क्षयरोगका बिरामी ३८४ नियमित उपचार गराइएको थियो । उनले अझै ८३ प्रतिशत औषधि प्रतिरोधी क्षयरोगका बिरामीको उपचारको दायरामा ल्याउन चुनौती रहेको बताए ।

सरकारले क्षयरोग स्वास्थ्य समस्या मात्र नभएर सामाजिक समस्या भएकाले यसको रोकथाम र नियन्त्रणका लागि प्रयास गरिरहेको छ । सरकारले क्षयरोगका बिरामीलाई उपचार गर्नका लागि मासिक रु तीन हजारसमेत प्रदान गरिरहेको छ ।

घरमै गएर औषधि खुवाइने

केन्द्रका निर्देशक डा भट्टचनले अब क्षयरोगका बिरामीलाई घरमै औषधि खुवाउने व्यवस्था गरिन थालेको जानकारी दिए । बिरामीलाई लामो अवधिसम्म उपचार केन्द्रमा आई दैनिक औषधि सेवन गर्नुपर्ने भएकाले बिरामीको सहजताका लागि बिरामीको घरमै औषधि खुवाउने व्यवस्था गरिन थालिएको बताए। पाँच वर्षभित्र सबै जिल्ला बिरामीको घरमा गई औषधि खुवाइने योजना रहेको छ ।

क्षयरोग उपचारका लागि अस्पताल

यस्तै सरकारले क्षयरोगका बिरामीलाई उपचार गर्नका लागि केन्द्रीयस्तरको अस्पताल निर्माण गरिरहेको छ । सबै प्रकारका क्षयरोगका बिरामीको उपचारका लागि भक्तपुरको ठिमीमा छाती रोग अस्पताल निर्माण भइरहेको छ । केन्द्रका निर्देशक डा भट्टचनले आव वर्षदेखि अस्पताल सञ्चालनमा आउने जानकारी दिए ।

विश्वभर बुधबार क्षयरोग दिवस मनाइँदै छ । नेपालमा पनि ‘सङ्केत समयको क्षयरोग अन्त्यको’ भन्ने मूल नाराका साथ दिवस मनाउन थालिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस