राष्ट्रपति भण्डारी आज बङ्गलादेश प्रस्थान गर्दै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रपति भण्डारी आज बङ्गलादेश प्रस्थान गर्दै


९ चैत्र २०७७, सोमबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी बङ्गलादेशको राजकीय भ्रमणका लागि आज त्यसतर्फ जाँदै छिन् । राष्ट्रपति भण्डारी आफ्ना बङ्गलादेशी समकक्षी मोहमद अब्दुल हमिदको औपचारिक निमन्त्रणामा दुई दिने भ्रमणका क्रममा बङ्गलादेश जान लागेकी हुन् ।

उनी नेपाल वायु सेवा निगमको विशेष चार्टर्ड विमान आरए ००१ मार्फत आज बिहान ८ बजेर ४० मिनेटमा बङ्गलादेश प्रस्थान गर्ने राष्ट्रपति कार्यालयले जनाएको छ ।

सरकारले राष्ट्रपति भण्डारीलाई राजकीय सम्मानका साथ बिदाइ गर्ने तयारी गरेको छ । गणतन्त्र नेपालको राष्ट्रपति स्तरको पहिलो भ्रमण भएकाले बङ्गलादेशमा भव्य स्वागतको तयारी भएको बङ्गलादेशस्थित नेपालका राजदूत डा. वंशीधर मिश्रले जानकारी दिए ।

राष्ट्रपति भण्डारीलाई उनका समकक्षी हमिदले विमानस्थलमा स्वागत गर्नेछन्। विमानस्थलबाट राष्ट्रपति भण्डारी बङ्गलादेशको शहीद स्मृति पार्क जानेछिन् । त्यसपश्चात राष्ट्रपति भण्डारी दिनभर नै बङ्गलादेशका राष्ट्रपिता बङ्गबन्धु शेख मुजिबर रहमानको जन्मशताब्दी समारोह तथा स्वर्ण जयन्ती समारोहमा व्यस्त रहने कार्यक्रम छ । सो कार्यक्रममा उनले नेपाल–बङ्गलादेश सम्बन्ध तथा बङ्गबन्धुको जन्मशताब्दीका विषयमा सम्बोधन गर्ने कार्यक्रम छ ।

समारोहमा नेपाली सांस्कृतिक समूहले बङ्गबन्धुको जन्मशताब्दी समारोहमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नेछन् । उनले बङ्गबन्धु स्मृति सङ्ग्रहालयको अवलोकन भ्रमण गर्नेछिन्। सोही क्रममा समकक्षी हमिदसँग छुट्टै द्विपक्षीय भेटवार्तासँगै रात्रि भोजमा सरिक हुनेछिन् ।

मङ्गलबार राष्ट्रपति भण्डारीले बङ्गलादेशस्थित नेपाली राजदूतावासको भ्रमण गर्नुका साथै बङ्गलादेशमा रहेका नेपालीसँग भेट गर्ने कार्यक्रम छ । सो अवसरमा बङ्गलादेशका लागि नेपालका राजदूत डा. मिश्रले आयोजना गर्ने दिवा भोजमा सरिक हुनेछिन् । दुई देशबीचको आयात–निर्यात र व्यापार असन्तुलन कम गर्न नेपालको स्थानीय उत्पादनलाई बङ्गलादेशको आयातमा थप्नका लागि बढावा दिने अपेक्षा गरिएको छ । त्यस्तै कृषि उपकरण, बीउ बिजन तथा मल नेपालमा सहज उपलब्ध गराउन बङ्गलादेशले भूमिका खेल्ने विश्वास गरिएको छ ।

राष्ट्रपति भण्डारीको साथमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्रसचिव भरतराज पौड्याल, मन्त्रालयका उच्चाधिकारी जानुहुने परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिए । राष्ट्रपति भण्डारी चैत १० गते नेपाल फर्किनेछिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस