अन्तरराष्ट्रिय पर्यटन प्रवद्र्धनमा पर्यटन बोर्ड « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अन्तरराष्ट्रिय पर्यटन प्रवद्र्धनमा पर्यटन बोर्ड


८ चैत्र २०७७, आइतबार


काठमाडौँ । नेपाल पर्यटन बोर्ड कोभिड–१९ का कारण थलिएको मुलुकको पर्यटनलाई चलायमान बनाउन अन्तरराष्ट्रिय पर्यटन प्रवद्र्धनमा जुटेको छ । कोभिडपछि पहिलो अन्तरराष्ट्रिय पर्यटन प्रवद्र्धन बोर्डले भारतमा आयोजना हुने साउथ एशियाज ट्रावल एण्ड टुरिज्म एक्सचेन्ज (साटे)मा सहभागिता जनाउने भएको छ ।

यही मार्च २४ देखि २६ तारिखसम्म भारतको गे्रटर नोयडामा आयोजना हुने उक्त कार्यक्रममा बोर्डको नेतृत्वमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) सहित विभिन्न २५ कम्पनी सहभागी हुनेछन् । पर्यटन प्रर्वद्धनका लागि पहिले छिमेकी मुलकका बजारमा जाने रणनीतिअनुरुप बोर्डले साटेमा सहभागिता जनाउन लागेको बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा धनञ्जय रेग्मीले जानकारी दिए ।

‘भारतमा पनि विस्तारै पर्यटकीय गतिविधि बढिरहेको छ, तर भारतले अझै धेरै मुलुकका लागि प्रवेशाज्ञा नखोलिरहेको सन्र्दभमा यो कार्यक्रममा नेपालको सहभागिता महत्वपूर्ण हुने अपेक्षा गरेका छौँ’, उनले भने। साटेको प्रभावकारिता हेरेर क्रमशः भारतका अन्य पर्यटन बजारमा पनि पर्यटन प्रर्वद्धनका कार्यक्रममा सहभागिता जनाइने सिइओ रग्मीले बताए ।

पछिल्लो पटक सरकारले नेपाल–भारत यातायात सञ्चालन गर्ने निर्णय गरेको र यसअघि एअरबबल सम्झौताअनुरुप नेपाल–भारत दुवै देशबाट दैनिक दुई हवाई उडानसमेत भइरहकाले यो कार्यक्रम नेपालको पर्यटन प्रर्वद्धन गर्न सहयोगी हुने बोर्डको धारणा छ ।

पर्यटन बोर्डले भारतीय पर्यटकलाई नेपालमा आकर्षित गर्न सीमा क्षेत्र, हिल स्टेशन तथा अन्य पर्यटकीयस्थलका छुट्टाछुट्टै रणनीतिको आवश्यकता पहिचान गरी सोहीअनुरुपको रणनीतिसमेत बनाएको बोर्डका सिइओ डा रेग्मीले जानकारी दिए ।

भारतमा हुने साटेमा पर्यटनसँग सम्बन्धित क्षेत्रीय तथा अन्तरराष्ट्रिय पर्यटन उद्योग, बिक्रेता र पर्यटनसँग सम्बन्धित सङ्घसंस्था तथा व्यक्तित्वको सहभागिता रहने गर्दछ । भारत सरकारको पर्यटन मन्त्रालयको सहयोगमा हुने साटेलाई दक्षिण एशियाको महत्वपूर्ण पर्यटन एक्सचेञ्ज मेलाका रुपमा लिने गरिन्छ । कोभिडको सङ्क्रमणपछि नेपाल पर्यटन बोर्डले डिजिटल माध्यमबाट विभिन्न अन्तरराष्ट्रिय मञ्चमा नेपालको पर्यटन प्रर्वद्धनको काम गरे पनि भौतिकरुपमा सहभागिता जनाउने यो पहिलो कार्यक्रम हो ।

नेपालले सन् २०२० मा जनवरी ८ देखि १० तारिखमा भारतको गे्रटर नोयडामै आयोजना भएको साटेमा समेत सहभागिता जनाएको थियो । गत वर्ष नेपालबाट विभिन्न ३६ वटा संस्था कम्पनीले सहभागिता जनाएका थिए । यस वर्ष कोरानाका कारण सहभागी हुन जाने कम्पनीको सङ्ख्या केही घटे पनि कोभिडको खोप आइसकेको अवस्थामा भारतीय बिक्रेतालाई विभिन्न प्याकेजमार्फत आकर्षित गरिने निजी क्षेत्रका सहभागीको धारणा छ । सोअनुसार सहभागी कम्पनीले विभिन्न खालका प्याकेजसमेत तयार पारेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस