गण्डकी प्रदेश खेलकूद परिषद्को सदस्य सचिवमा गुरुङ नियुक्त « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

गण्डकी प्रदेश खेलकूद परिषद्को सदस्य सचिवमा गुरुङ नियुक्त


२ चैत्र २०७७, सोमबार


कास्की । गण्डकी प्रदेश खेलकूद परिषद्को सदस्य सचिवमा कास्कीका तेजबहादुर गुरुङ नियुक्त भएका छन् ।

पोखरा महानगरपालिका–१६ अर्मला स्थायी घर भएका गुरुङलाई प्रदेश मन्त्रिपरिषद्को बैठकले सदस्य सचिवमा नियुक्तिको निर्णय गरेको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले जानकारी दिए ।

सदस्य सचिवको कार्यकाल चार वर्षको हुनेछ । सरकारले सदस्य सचिव छनोटका लागि खुला दर्खास्त आह्वान गरेको थियो । सामाजिक विकासमन्त्री नरदेवी पुनमगरको संयोजकत्वमा गठित तीन सदस्यीय सिफारिस समितिले सदस्य सचिव नियुक्तिका लागि गुरुङको नाम मन्त्रिपरिषद्मा पेश गरेकामा सो प्रस्तावलाई अनुमोदन गरेको मन्त्री बस्नेतले बताए।

सिफारिस समितिमा सामाजिक विकास मन्त्रालयका सचिव विनोदबहादुर कुँवर र खेल विज्ञ दिलबहादुर गुरुङ सदस्य थिए । गुरुङसहित नवराज अधिकारीले सदस्य सचिवका लागि आवेदन दर्ता गराएका थिए ।

सदस्य सचिवका लागि स्नातक उत्तीर्ण तथा ३० वर्ष उमेर पूरा भई ६० वर्ष नकटेको खेलकूद ऐनमा व्यवस्था गरिएको छ । सदस्य सचिवमा नियक्त गुरुङ नेपाल ओलम्पिक कमिटीको उपाध्यक्ष, नेपाल ह्याण्डबल सङ्घ र भूतपूर्व खेलाडी मञ्च नेपालको अध्यक्ष रहेका छन् ।

शुरुआतमा बास्केटबलबाट खेल जीवन शुरु गरेका गुरुङले विसं २०३९ बाट ह्याण्डबल खेललाई मुख्य खेलका रुपमा लिँदै अघि बढेका थिए । उनले सन् १९८५ देखि १९८८ सम्म नेपाल ह्याण्डबल टिमको कप्तानी गरेका थिए ।

प्रदेश सरकारले खेलकूूदको विकास तथा नियमनका लागि असोज दोस्रो साता प्रदेश खेलकूद विधेयक प्रदेशसभाबाट पारित गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस