आऊ, फर्केर आऊ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आऊ, फर्केर आऊ


२० मंसिर २०७७, शनिबार


सुन्दै छु
साह्रै दुःख पाइछ्यौ रे
दिनभर जुवाको खालमा बसेर
साँझ टिल्ल भएर आइ
हुर्मत पो लिन्छ रे तिम्रो
आधा रातमा
चित्कार सुनेकी चमेली
भन्दै थिई-
अहिले पश्चात्तापको रापले जलेर
भक्कानियौ रे तिमी
के यो कुरा साँचो हो ?

यदि
सत्य यही हो भने
आऊ न सम्झौता गरी
शुरु गरौँ
फेरि नयाँ जीवन
के फरक पर्छ र ?
यता यी
साना नानीबाबु पनि
वर्वराईरहन्छन् सपनामा
र जुरुक्कै उठेर
आमा भन्छन्
म कसरी सहौँ
यिनका पीडाहरू
थामेर आफ्ना आँसु
सम्झाइरहन्छु, फकाइरहन्छु ।

यी अबोध शिशुलाई
मातृत्वको छहारी दिन
एउटी आमा त
ल्याइदिनै पर्छ
चाहे तिमी
वा अरू कुनै ?

अरू नै ल्याउँदा पनि
यो समाजले भन्ने गरेको
बिटुलिएकै त ल्याउने हो
पवित्र कन्या त
अब कहाँ पाउँछु र ?

त्यसैले,
सन्तति सम्झेर आफ्ना
आउने जाँगर छ भने
वात लागे पनि जोइटिङ्ग्रेको
हिम्मत गर्ने छु,
सामाजिक लाञ्छना र अपमानको
कालकूट पिउन पनि
म तयार छु ।

किनकि,
भोगेको त मैले छु नि
बिग्रिएको त मेरो घर हो
उजाडिएको
मेरो परिवार न हो
अरूलाई त के छ र ?
बिग्रिँदा
एकै छिन सहानुभूतिका
दुई शब्द खर्च हुने त हो ?

तर
सपार्न खोज्यो भने
लस्कर लागेरै
छि छि दूर दूरको
वर्षा हुन्छ
उता
आफ्नो घर बितोस्
मतलब छैन
यता भने
कुरा नकाटी हुन्न ।

गल्ती भई हाल्छ नि
कहिलेकाहीँ,
कहिले रिसको आवेगमा
कहिले भावनाको भेलमा
आखिर
घोडा चढ्ने न लड्ने हो
गल्ती गर्दै र सिक्दै जाने हो
यही विज्ञान हो
यही सत्य हो ।

तसर्थ,
किन पिडा खेपेर बस्छ्यौ ?
आँसु पिएर के पाउँछ्यौ ?
हुनु हुनामी भई सक्यो
आऊ,
फर्केर आऊ
आफ्नै घर सजाऊ
मुर्झाएको, वैलिएको
त्यो प्यार जगाऊ
बालेर दीप उज्यालो
सारा घर जगमगाऊ
निराश ती सन्तानको
मुहारमा हाँसो फिँजाऊ
आमा भएर फेरि
ती सन्तति हँसाऊ
टुक्रेको संसार जोडी
सुन्दर स्वर्ग बनाऊ ।
सुन्दर स्वर्ग बनाऊ ।।
—अस्तु—

Tags :
प्रतिक्रिया दिनुहोस