के युवा राजनीतिक दलका अस्त्र मात्रै हुन् ? « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

के युवा राजनीतिक दलका अस्त्र मात्रै हुन् ?


१७ कार्तिक २०७७, सोमबार


प्रजातन्त्रको प्राप्तिको लागि राणा शासन विरुद्धको आन्दोलनमा होस् या प्रजातन्त्रको पूर्नवहालीको नाममा २०४६ मा भएको आन्दोलनमा । त्यस्तै राजसंस्थालाई इतिहासमा मात्रै सीमित पार्ने भनी २०६२/६३ मा गणतन्त्रको लागि गरिएको बृहत आन्दोलनमा पनि बाक्लो उपस्थिति युवाहरूकै रह्यो । आन्दोलनलाई मत्थर पार्न खोज्ने सत्ता पक्षका गोला बारुदले सुसज्जित सिपाहीहरूसँग आफ्नो ज्यानको बाजी राखेर अग्रपंत्तिमा लडिरहने र तातो गोली खाने पनि अधिकांश युवा नै थिए । यति मात्रै कहाँ हो र ? इतिहास पल्टाएर हेर्ने हो भने हरेक देशको परिवर्तन र राजनीतिक उथलपुथल पार्न युवाहरूको अतुलनीय योगदान भेटिन्छ । यस्तो अदम्य साहस प्रस्तुत गर्ने र जतिसुकै शक्तिशाली शासकलाई पनि घुँडा टेकाउन खप्पिस युवाशक्तिहरु हरेक आन्दोलन तथा लडाइँको भरपर्दो र अन्तिम अस्त्र बनिरहे ।

समयको प्रवाहसँगै विभिन्न कालखण्ड आइरहे । धेरै थोरै केही परिवर्तनका सङ्केतहरू पनि देखिए । संरचनाहरू फेरिए, शासन व्यवस्था पनि बदलिए । तर विगतदेखि युवाहरूलाई हेरिने नजर र प्रयोग गरिने परिपाटि भने सधैँ उही रहिरह्यो । त्यसैको परिणामस्वरूप युवाहरू सधैँ राजनीतिक दल र नेताको अभीष्ट पुरा गराउने साधन बाहेक अरू केही हुनै पाएनन् । बजारमा पेट्रोलियम पदार्थको भाउ बढ्दा होस्, ऋतिक रोशन काण्ड घट्दा होस् या छिमेकी मुलुकबाट देशको भूभाग कहीँ कतै मिचिएको सवालमा होस् त्यसमा युवाहरूलाई उचाल्ने र त्यसैको माध्यमबाट राजनीति गर्ने परिपाटीले निरन्तरता पायो ।

नेताहरूले आफ्ना सन्तानहरूलाई स्वदेश र विदेशका महँगा महँगा स्कुल र कलेजहरूमा पढाइरहँदा यता सोझा जनताका छोराछोरीलाई प्रजातन्त्रको पाठ सिकाउने निहुँमा उनैमाथि राजनीतिक अभ्यास गरिरहे । राजनीतिक दलहरूले जनताका छोराछोरी पढ्ने कलेज तथा विद्यालयमा आआफ्ना भातृ तथा भगिनी सङ्गठन बनाए । विभिन्न निहुँमा कहिले शैक्षिक संस्था हडताल, कहिले बन्द नै गरियो । उनीहरूको भविष्यमाथि नै खेलवाड गरियो ।

लोकतन्त्रको अपव्याख्या गर्दै उच्च शिक्षाको अवसर र राम्रो संस्कारमा हिँडाई भविष्यको कर्णधार बनाउनुपर्ने युवालाई गलत अभ्यासमा उत्रिन सिकाइयो । कलम समात्ने ती कलिला हातमा मसाल र झण्डा थमाइयो । सकारात्मक सोचले भरिएको ज्ञान कोमल मस्तिष्कमा घुसाउने बेला जिन्दाबाद र मुर्दावादका नारा घन्काउन सिकाइयो । सडकमा आवतजावतमा अवरोध खडा गर्दै वातावरण नै प्रदूषण हुने गरी टायर बाल्न समेत सिकाइयो । आफ्नो प्रभाव तथा रवाफ देखाउँदै बन्द, हडतालमा तोडफोड र विध्वंस क्रियाकलापमा युवाहरूलाई नै उक्साइयो । राजनीतिक मिसन पुरा गर्ने हतियार बनाइयो । देशको काँचुली फेर्ने ताकत भएका ती युवा शक्तिलाई आफू माथि जान वर्षौँदेखि भर्‍याङको खुड्किला मात्रै बनाउने कुसंस्कार बसाइयो ।

आफू सत्ता बाहिर रहँदा युवा परिचालन गरेर राज्य सत्तालाई गलाई वार्ता मार्फत आफ्नो माग पुरा गराइयो । नीति, निर्णय गर्ने ठाउँमा पुगे । पद र प्रतिष्ठा दुवै पाए । केही सीमित युवाहरू बाहेक अहँ हिजो प्राण आहुति दिनसम्म पछि नपरी सहयोग गर्ने युवाहरूको बारेमा कहिल्यै सोच्नै सकेनन् । न त युवाहरूको हित हुने र उनीहरूको योग्यता, क्षमताको सही सदुपयोग हुने रोजगारी सिर्जना गर्न तयार भए । नजिकका कार्यकर्ता तथा आसेपासेलाई पोस्ने बाहेक सिङ्गो युवा शक्तिको लागि केही गर्नै चाहेनन् ।

बरु सोचे– यी युवाहरूलाई रोजगारी दिने हो भने भोलि हाम्रै लागि आन्दोलन गरिदिने को ? शक्ति प्रदर्शन गर्नुपर्दा जुटिदिने को ? यस्तै यस्तै सङ्कीर्ण सोच र आफ्नो दुनो सोझ्याउने प्रवृत्तिले युवाहरूलाई सधैँ ओझेलमा पारियो । कुनै जिम्मेवारी र भूमिका दिन नै कन्जुस्याइँ गरियो । युवालाई सधैँ अपरिपक्व र अव्यवहारिक ठानियो । सक्षम र योग्य त त्यति वेला मात्रै ठानियो जति वेला युवा परिचालन जरुर हुन्थ्यो । युवाको लागि गरी खाने उपयुक्त वातावरण नहुँदा दिन प्रतिदिन विदेशिने १५०० भन्दा बढी युवाहरूको सङ्ख्या घटाउन सकिने कुनै आधार खडा हुनै सकेन ।

जोस, जाँगरले भरिएको ऊर्जाशील उमेरमा युवाहरू प्रयोग गरिरहने । जब उमेर ढल्किँदै जान्छ, देशमा गरी खाने उपयुक्त वातावरण नहुँदा झुट्टा आश्वासन बाँड्ने तीनै नेताहरूलाई सराप्नु बाहेक अरू के नै रहन्छ विकल्प पनि ? भविष्यका कणदार भनिने युवाहरूलाई खाडी मुलुकतिर विदेशिन बाध्य पारियो । ४०/४५ डिग्रीको तापक्रममा रगत पसिना बगाएर पठाएको रेमिट्यान्सले देशको अर्थतन्त्रले सास फेरिरहँदा हाम्रो सरकारले आर्थिक समृद्धि गर्‍यो भनेर अफवाह मात्रै फैलाइयो । हिजो उजाड र मरुभूमि भएका खाडी मुलुकहरूलाई हराभरा बनाउँदै समृद्धिको यात्रामा हिँड्न अतुलनीय योगदान दिएका हाम्रै युवा शक्तिलाई पहिचान गर्न सकिएन । सधैँ अवमूल्यन मात्रै गरियो । समृद्धि र समुन्नत मुलुक बनाउने बारम्बार योजना एवं कल्पना गरिरहँदा पनि युवा शक्तिलाई परिचालन नगर्दा सम्भावनाहरूलाई उजागर गर्ने अवसर समेत दिइएन ।

तर पनि युवाहरूलाई किन सधैँ उपेक्षित ? के युवाहरूले मृत्युसँग पनि डराएनन् भनेर उनीहरूको मूल्य सस्तो भएको हो ? के उनीहरू कौडीका भाउ सरह भएका हुन त ? हरेक चुनावी नारामा जनमत आफ्नो पोल्टामा पार्नको लागि बृद्धभत्ता बढाउने अस्वस्थ होडबाजी हुँदा युवाको लागि किन केही नसोच्ने ? बुढेसकालको सहारा छोराछोरीलाई विदेशिन बाध्य पारेर दिएको भत्ताले उनीहरूको न्यास्रोपन मेट्ला त ? सक्छौ भने उनीहरूलाई हेरचाह गर्ने छोराछोरीलाई यहीँ उद्योग कलकारखाना खोलेर सँगै बस्ने वातावरण बनाइदेऊ । तब मात्र युवा र बृद्धबृद्धा सबैको हित हुनेछ ।

सत्ता मोह र शक्तिको लागि रङ्गहरू फेरिरहने दलले आफ्नो पार्टीको सिद्धान्त त बिर्सिसके । पार्टीको धारणा र दर्शनलाई पनि लत्त्याइसके । थाहा हुँदैन जुट्छन् यी कतिखेर, टिक्छन् नै कतिवेर, अनि फुट्छन् फेरि कतिखेर । तर युवा शक्तिलाई आफ्नो पुच्छर जस्तै जता पनि मोड्न उद्धत छन् यिनीहरू । हिजो मेलमिलापको बेला एक हौँ भनी टाउको जोड्नेहरू, टुटेपछि एक अर्काको टाउको फोड्न पनि पछि नपर्ने भए । फलस्वरूप स्वस्थ तन मनका युवाहरू अस्वस्थ राजनीतिक संस्कारका सिकार हुन पुगे ।

तर गल्ती राजनीतिक दल र नेताको मात्रै पनि छैन । आज देशमा नयाँ संविधान जारी भएको छ । आत्मनिर्णयको अधिकारलाई पनि उठान गरिएको छ । तर खै आत्मनिर्णयको अधिकार युवाहरूको ? के हामी युवाहरू आफ्नो स्वतन्त्र बिचार र आफ्नो राजीले मत प्रयोग गर्न नालायक भएकै हौँ त ? यदि त्यसो होइन भने किन हामी अस्तित्व र अडान नभएका निमुखा प्राणीजस्तै भएका ? जसले जता प्रयोग गर्‍यो उतै ढल्किने । राम्रो, नराम्रो छुट्टयाउनै नसक्ने, अनि राजनीतिक चस्माले हेरेको भरमा जस्तो पनि देख्ने । आफ्नो बिचार र इच्छामाथि किन अरूलाई लाद्न दिन्छौँ, हाबी हुन्न दिइरहेछौँ ? यो पनि कुनै तरिका हो त ?

जनगणना २०६८ अनुसार कुल जनसङ्ख्याको ५६.९६ प्रतिशत १५ देखि ५९ वर्ष उमेर समूहका छन् । नेपालको परिप्रेक्ष्यमा १६ देखि ४० वर्षसम्मका उमेर समूहलाई युवा मानिएको अवस्थामा युवाको बाहुल्यता रहेको देखिन्छ । सबै खाले श्रोत साधनले सम्पन्न भएर पनि जनशक्तिको अभावले बाहिरबाट श्रम शक्ति आयात गर्नुपर्ने धेरैजसो मुलुकको विवशता रहिरहेको बेला यसबाट जनसाङ्ख्यिक लाभ प्रशस्तै लिन सकिने अवस्था पनि हो यो । तर विडम्बना ! यहाँ उल्टै युवाहरूलाई उच्छृङ्खल र विध्वंसात्मक क्रियाकलापमा मात्र उपयुक्त ठानिन्छ । त्यसैले त युवा शक्ति विकासका संवाहक हुने सौभाग्य नै पाएनन् ।

सौभाग्य प्राप्तिको लागि अब आफै पहल गर्ने बेला भएको छ । सम्भावना उजागर गर्दै अवसर खोज्नु छ । अहिलेको युग विज्ञान, प्रविधि र सञ्चारको विकाससँगै विश्वव्यापीकरणको हो । यसो फुर्सद हुँदा विश्व परिवेशलाई पनि नियालेर हेर्ने गरौँ त ।

के सबै मुलुकका युवाशक्तिहरु हामीजस्तै पिछलग्गु भएर बसेका छन् त ? 
अष्ट्रियामा सेवस्टियन कुर्ज ३१ वर्षमै राष्ट्रपति भइसके । न्यूजिल्याण्डमा ज्यासिन्डा आर्डेन ३७ वर्षमै प्रधानमन्त्री भइन् र फेरी दोस्रो कार्यकालको लागि समेत नेतृत्व गर्दै छिन् । छिमेकी मुलुक भारतको विहारमा हालसालै भएको विधानसभाको चुनावमा १५ वर्षदेखि मुख्यमन्त्री भएका नितिश कुमारसँग ३२ वर्षीय तेजश्वी यादव प्रतिस्पर्धा गर्दै छन् । जो २६ वर्षकै उमेरमा उप मुख्यमन्त्री समेत बन्न सके । १७ वर्षको उमेरमा पाकिस्तानी चेली मलालाले नोबेल पुरस्कार प्राप्त गरिन् । विश्व विजेता नेपोलियन बोनापार्ट पनि युवा अवस्थामै सम्राट बने । हाम्रै देशको इतिहास खोतलेर हेर्दा पनि २९ वर्षमा जङ्गबहादुर राणाले यो देशको बागडोर मात्र सम्हालेनन्, सात समुद्रपारका मुलुकहरूमा समेत ओजश्वीपूर्ण छवि कायम गरे । त्यस्तै बाइसे चौबिसे राज्यलाई सिङ्गो नेपाल निर्माण गर्ने पृथ्वी नारायण शाहले पनि २० वर्षको कलिलो उमेरमा नेतृत्व लिएर अघि बढे । तर हामीहरू किन कुशल नेतृत्वको लागि आँट गर्न सक्दैनौँ ?

ली कुआन युले सिंगापुर बनाएजस्तै यो राष्ट्रलाई समृद्धितर्फ डोराउन हामी भित्रैबाट युवा नेतृत्वको खोजी गर्ने बेला आएको छ । सन् १९४८ को अगष्ट १७ मा जापानबाट स्वतन्त्र भएको दक्षिण कोरियाबाट विकासको अभ्यास सिक्ने बेला भएको छ । कुनै बेला नेपालले समेत सहायता गरेको कमजोर दक्षिण कोरिया आज विश्वमा सम्पन्न राष्ट्रको रूपमा दर्ज हुँदा हामी अल्पविकसित राष्ट्र भई खुम्चिनु परेको तितो यथार्थ छ । नालायक शासकहरूले हाम्रो मातृभूमि नेपाललाई बारम्बार प्रयोगशाला बनाइरहे । साथै विदेशी शक्तिहरूलाई पनि सिक्ने र सिकाउने एउटा क्रीडा स्थल जस्तो बन्न दिइरहे । हामी आज्ञाकारी जनताहरू मूकदर्शक बनेर ताली पड्काइरह्यौँ । हामीले डाक्टर, इन्जिनियर, प्रशासक, कलाकार जन्मायौँ । गणतन्त्रको जग बसाई राष्ट्रपति र उपराष्ट्रपतिको व्यवस्था गर्‍यौँ । कैयौँ प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्री बनायौँ । तर हाम्रो दुर्भाग्य ! एउटै असल राजनेता कहिल्यै जन्माउन सकेनौँ ।

हे युवाहरू ! हामी अझै अरूको पछि मात्रै लाग्ने कि आफ्नो र राष्ट्रको भविष्य पनि सोच्ने हो ? आफ्नो पहिचान कार्यकर्ता, रैतीमा मात्रै सीमित पार्ने हो कि ? पहिचान बदल्ने हो ? गम्भीरतापूर्वक सोच्ने बेला आएको छ ।

अदम्य साहस ऊर्जा आफैभित्रै भएका हामी कस्तुरीले बिना खोजे झैँ खाली परिवर्तन र विकास खोजिरहेछौँ । तर किन हेक्का राख्दैनौ त्यो इच्छा शक्ति र ऊर्जा हामी भित्र नै छ भनेर । अब युवा जाग्ने बेला आएको छ । चुनावको बेला खोक्रो आश्वासन दिने र युवालाई बलिको बोको बनाउने, मुठभेडमा धकेल्नेहरूलाई खबरदारी गर्ने बेला भएको छ । देशमा बढ्दै गएको दण्डहीनता, भ्रष्टाचार, असुरक्षाको वातावरणको अन्त्य गर्दै हरेक नागरिक सार्वभौमसत्ताको वास्तविक मालिक भएको अनुभूति गराउने शासनको जग बसाल्ने समय भएको छ ।

अन्य वर्ग र क्षेत्रको लागि समावेशीकरण र सहभागिताको अवधारणालाई आत्मसात् गरिरहँदा युवाको काँधमा जिम्मेवारी सुम्पनको लागि उदार हुनु पर्ने र बिस्तारै युवा शक्तिलाई नेतृत्वमा पुर्‍याउनेतर्फ वर्तमान शासकहरूले पनि सोच्ने बेला भैसकेको छ । जुन वर्तमान समयको माग पनि हो । राजनीति र सत्ता शासनको लामो अनुभव भएका नेतृत्व वर्गले विश्राम लिई आफूले हासिल गरेका अनुभव, कलाकौशल र निपूर्णतालाई सरसल्लाह, मार्गदर्शनको रूपमा युवाहरूलाई दिशानिर्देश गर्ने भूमिकामा प्रस्तुत हुने परिपाटी बसाल्न जरुर भएको छ । यसो हुन सकेमा नमरुन्जेल सत्तामा लिप्सिरहने गलत संस्कारको अन्त्य हुने र निवृत्त पछिको उनीहरूको जीवन अझै मर्यादित, सम्मानजनक र ओजपूर्ण बन्ने अवस्था रहने थियो कि ?

यता युवावर्गबीच पनि दुई विकल्पमध्ये एक उत्तम विकल्प रोज्ने गहन जिम्मेवारी हुने थियो कि ? विभिन्न राजनीतिक दल मार्फत राष्ट्रिय राजनीतिमा प्रवेश गरेका युवा वर्गलाई नेतृत्वमा पुर्‍याई नेतृत्वमै रहन दिने या वैकल्पिक शक्तिको रूपमा नागरिक बीचबाट छुट्टै युवा शक्तिलाई राष्ट्रिय नेतृत्वमा पुर्‍याउने ।

समृद्ध नेपाल र सुखी नेपालीको आकाङ्क्षा पुरा गर्ने गरी नागरिकका अपेक्षा र समस्याहरूलाई सम्बोधन गर्न सकेमा शासकहरूसँग शासित वर्गको कुनै गुनासो नरहने यथार्थतालाई नेतृत्वमा पुग्दा समेत युवा वर्गले आत्मबोध गर्न सकेमा मुलुक कायापलट हुने कुरामा कसैको दुई मत नहोला । प्रतिनिधित्व र नेतृत्वको लागि युवाको गहन जिम्मेवारी त छँदेछ साथै शासनका प्रतिफल र लाभहरू समस्त नागरिकहरू समक्ष सम न्यायिक तवरले वितरणको प्रबन्ध गर्नु पनि उस्तै दायित्व रहनेछ । तसर्थ मुलुक हिजो पनि यसरी चलेकै थियो । अब पनि यसरी नै चल्छ भन्दै पशुपतिनाथको भरोसा गर्ने पुरातन वादी सोच र प्रवृत्तिको निरन्तरताको क्रमभंगता गर्ने बेला पनि भएको छ । अझ यो भन्दा नि बढी त युवा शक्ति राष्ट्र निर्माणको निर्णायक हो, आधार हो र आइपरेमा जुनसुकै बेला नेतृत्व गर्न सक्ने शक्ति हो । कसैले प्रयोग गर्ने अस्त्र होइन भन्ने प्रमाणित गर्नुपर्ने बेला भएको छ । जय देश ! जय युवा ।

Tags :
प्रतिक्रिया दिनुहोस