कर्मचारी उत्प्रेरणा आजको आवश्यकता « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कर्मचारी उत्प्रेरणा आजको आवश्यकता


२ कार्तिक २०७७, आइतबार


नेपालको आर्थिक विकास र समृद्धि हासिल हुन नसक्नु प्रशासन संयन्त्रमा सुशासनको अभाव हुनु हो । नेपालको प्रशासन संयन्त्रमाथि आर्थिक अनियमितताको आरोप, दीर्घकालीन सोच र दृष्ट्रिकोणमा कमी, जिम्मेवारी र जबाफदेहिताको अभाव, परिवर्तन व्यवस्थापनलाई स्वीकार नगर्ने पुरातन शैली, काममा ढिलासुस्ती, अल्छी, तदर्थवादी, पद र प्रतिस्ष्ठाप्रतिको अकर्मण्यता जस्ता गम्भीर आरोप लाग्ने गरेको छ ।

आजको यो विषम परिस्थितिमासमेत दिनरात नभनी अग्रपङतिमा सेवा गर्ने स्वास्थ्य सेवाका कर्मचारीहरू, सुरक्षा निकायका कर्मचारीहरू, बैङ्क तथा वित्तीय संस्थामा कार्यरत कर्मचारी साथै जनतासँग प्रत्यक्ष सरोकार भएका अन्य संस्थाहरूमा कार्यरत कर्मचारीको योगदान र सेवालाई भुल्नुहुँदैन । आर्थिक विकास र समृद्धिको उद्देश्य प्राप्ति नहुनुको मुख्य कारण कर्मचारी उत्प्रेरणको अभाव हो । अग्रपङतिमा रही सेवा गर्ने राष्ट्रसेवक कर्मचारीहरूलाई दिनुपर्ने उत्प्रेरण सम्बन्धी चियो र चर्चा कतै भएको पनि पाइँदैन । नत उत्प्रेरणाका विषयमा अध्ययन र अनुसन्धान समेत भएको छ ।

उत्प्रेरणा अन्तर्निहित क्षमतालाई उजागर गर्ने, निष्क्रिय गुणलाई सक्रिय गुणमा रूपान्तरण गर्ने रसायन हो । यसले कार्यसम्पादन गर्न उद्वेलित गर्ने, ऊर्जा भर्ने तथा शारीरिक मानसिकरुपमा तयार गराउने काम गर्दछ । जसका कारण उत्पादन र उत्पादकत्वमा बढोत्तरी भई सपनालाई साकार पार्ने दृश्य शक्तिकोरुपमा काम गर्ने गर्दछ । नेपालका राष्ट्रसेवक कर्मचारीहरू सरकार र जनताबीचको स्थायी पुल वा रक्तसञ्चार प्रणाली हुन् । जन्मदेखि मृत्युसम्म, भुवनदेखि आकाशसम्म, स्थानीय सरकारदेखि संघीय सरकार हुँदै संयुक्त राष्ट्र संघसम्मका सम्पूर्ण गतिविधिहरूलाई प्रत्यक्ष परोक्षयरुपमा सञ्चालन गर्ने जिम्मेवारी राष्ट्रसेवक कर्मचारीहरूमा रहेको छ । यतिको जिम्मेवारी निर्वाह गर्दा समेत सार्वजनिक सेवा प्रवाहको कार्यसम्पादन स्तर कमजोर छ भनी जनस्तर, बौद्धिक वर्ग र राजनीति स्तरबाट आलोचना हुने गरेको छ ।

सङ्गठनभित्र मैलाउँदै गएको चाकडी र चाप्लुसीको भक्तिगानले गर्दा सामूहिक कार्य पद्धति निरुत्साहित हुँदै गएको छ । सार्वजनिक स्रोत र साधनको समन्यायनिक वितरण र सदुपयोग हुनु पर्ने ठाउँमा सीमित वर्ग र क्षेत्रबाट दुरुपयोग र दोहन भइरहेको छ । नातावाद र कृपावाद, स्वार्थ समूहबाटको जरा झन्झन् गहिरिँदै गएको छ । उच्च व्यवस्थापन तहबाट छुद्र र अपाच्य आलोचना र दोषारोपण गर्ने संस्कार बढ्दै जाँदा कामयाबी कर्मचारी बिस्तारै हतोत्साहित हुँदै गएका छन् । उच्च व्यवस्थापकहरू सामूहिक निर्णय पक्रिया भन्दा सीमित परिधि/घेरका कर्मचारीहरूबाट गरिएका निर्णय परिपक्व नहुँदा बेलाबेलामा विवाद सतहमा आएका प्रशस्तै उदाहरण ऐनाको आकृतिझैँ छर्लङ्ग छन् । अधिकार र दायित्व हस्तान्तरण गर्नुपर्ने ठाउँमा केन्द्रीकृत गर्ने पद्धतिले प्राथमिकता पाउन थालेको छ ।

कर्मचारीहरूका बीचमा सेवा–समूह गुट उपगुट, राजनीतिक आस्था वा विश्वासका आधारमा एक अर्कोलाई दोषारोपण गर्ने र आलोचना गर्ने र विभक्त हुने कार्य बढ्दै गएको छ । कर्मचारी कर्मचारीहरूका बीचमा रहेको आपसी विश्वास र सामूहिक भावना स्खलित हुँदै गइरहेको छ । यस्ता गतिविधि बढ्दै जाँदा कर्मचारीहरूमा नैराश्यता र तनाव बढ्दै गएको छ । नकारात्मक उत्प्रेरणा बढ्दै जाँदा कर्मचारीहरूमा आफ्नो पदीय जिम्मेवारी निर्वाह गर्नुको सट्टा कार्य पन्छाउने, निर्णय प्रक्रियामा ढिलाइ गर्ने, कार्य प्रगतिको चासो नराख्ने, आफ्नो क्षमतामाथि कम विश्वास गर्ने, कार्यसम्पादन गर्दा विवेक प्रयोग नगर्ने, जोखिम लिन नचाहने, स्थापित विधि÷पद्धति÷प्रणाली प्रति विश्वास नगर्ने जस्ता लक्षण देखिन थालेको छ । राष्ट्रसेवक कर्मचारीहरू उत्प्रेरित नभएको खण्डमा राज्य संयन्त्रको अपेक्षित प्रतिफल प्राय शून्य हुन्छ । जसको परिणाम स्वरूप राज्यसत्ताप्रति जनविश्वास गुम्दै जान्छ भने अन्तर्राष्ट्रिय स्तरमा राष्ट्रिय छविसमेत धब्बा लाग्न सक्दछ ।

सङ्गठनमा काम गर्दा कर्मचारीले राख्ने अपेक्षाहरू मूलतः आफूले गरेको कार्यको प्रशंसा, प्रतिष्ठा, इज्जत मान सम्मान, पदोन्नति र वृत्ति विकासको अवसर तथा आकर्षक तलब तथा सुविधाहरू हुन् । बढ्दो महँगी, राष्ट्रसेवक कर्मचारीमा मौलाएको आकाङ्क्षा, चुलिँदो पारिवारिक आवश्यकताका कारण राष्ट्रसेवक कर्मचारीले प्राप्त गर्ने आर्थिक सेवा सुविधा कमी भएको गुनासो बढ्दो छ । त्यति हुँदा हुँदै टाठा बाठा प्रशासक र कर्मचारीहरूले निमुखा र इमानदार कर्मचारीहरूलाई शोषण गरी सेवा सुविधा व्यक्तिकेन्द्रीत गराइ चरम दोहन गरेका छन् । उत्कृष्ट र अनुकरणीय कार्य गरेबापत प्रत्येक वर्ष दिइने पुरस्कार नेतृत्वको भजनमण्डलीहरुलाई दिने संस्कृति स्थापित भएको छ, जसका कारण जुझारु, काबिल, दक्ष जनशक्तिहरूमा निराशा र असन्तुष्टि बढ्दै गएको छ । नियमितरुपमा हुनुपर्ने सरुवामा पहुँच र भनसुन हावीहुँदै जाँदा नेतृत्वसँग सन्निकट रहेका कर्मचारीहरूले आकर्षक ठाउँमा वर्षौवर्ष जरा गाडेर बस्ने पद्धतिको विकास भइरहेको छ ।

नेतृत्वले बढुवामा समेत का.स.मु. मा दिइने अंकको डर धम्की दिई क्षणिक लाभ लिन उद्वेलित भएको गुनासो कर्मचारी वृत्तबाट सुन्न पाइन्छ । वैदेशिक भ्रमण, तालिम, अध्ययन बिदा जस्ता वृत्ति विकासका अवसरमा समेत विधि र पद्धति भन्दा नेतृत्वको स्वविवेकीय अधिकारमा केन्द्रित हुँदा वृत्ति विकासका अवसरहरू साँघुरो बन्दै गएका छन् । सङ्गठनभित्रका बेथिति, अन्यायका बारेमा तल्लो तहका कर्मचारीले आफ्नो आवाज बुलन्द पार्ने ठाउँ कहिँकतै छैन र आफ्नो वृत्ति विकासमा धक्का पुग्छ डर त्रासका कारण यस्ता कुण्ठा, असमानता विरुद्ध बोल्ने हिम्मत समेत गर्दैन । यस्ता असमानता निजामती सेवामा भन्दा बढी सार्वजनिक संस्थान वा निकायहरूमा बढी छ । निजामती सेवामा विशेष गरी समायोजनका कारण अधिकांश कर्मचारीहरू असन्तुष्ट छन् । साथै सुविधा सम्पन्न कार्यालयको सरुवामा ट्रेड युनियन लगायत माथिल्लो तहका कर्मचारी तथा राजनीतिज्ञहरूको हस्तक्षेप हुने गुनासो समेत पाइन्छ ।

जहानीय राणा शासन, पञ्चायती शासन व्यवस्था हुँदै हाल लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दासम्म कर्मचारीतन्त्रमा स्वेच्छाचारिता, अकर्मण्यता, घमण्ड, लोभ, भेदभाव गर्ने, हिंसा गर्ने जस्ता मनोवृत्ति कायमै रहनु नयाँ“ सार्वजनिक प्रशासन, सुशासन, विधिको शासनका लागि अस्वभनीय विषय हो । कर्मचारीतन्त्रमा रहेको विसंङ्गतीका कारण कर्मचारीको मनोबल गिर्दो छ । गिर्दो मनोबलबाट दिइएको सेवा रोगी बिरुवाले दिने फल जस्तै हो । भोक अभाव र दरिद्रताबाट व्यवस्थापनले उच्च कार्यसम्पादनको अपेक्षा गर्नु निर्रथक हुन्छ । कर्मचारी उत्प्रेरणा सम्बन्धी मास्लोको आवश्यकताको सिद्धान्त, हर्ज वर्गको दुई तत्त्वको सिद्धान्त, म्याकल्यान्ड, म्याक ग्रेगरका एक्स/वाई सिद्धान्त, भ्रुमको अपेक्षा सिद्धान्त, एल्डरफरको अस्तित्वको सिद्धान्त, आदमको समता सिद्धान्त जस्ता सिद्धान्तहरू सेवा प्रवेश गर्दाको समयमा अध्ययन गर्ने विषयवस्तु मात्र बनाएको पाइन्छ ।

कर्मचारी उत्प्रेरित हुने माध्यम आर्थिक सुविधा मात्र होइन । प्रशासकले सबै कर्मचारीका लागि समान व्यवहार, समान अवसर दिने, सङ्कट, समस्या, विपद् भएको अवस्थामा सक्दो सहयोग गर्ने, ढाडस दिने गर्दासमेत कर्मचारीमा ऊर्जा प्राप्त हुन्छ ।आफूभन्दा पाको उमेरको व्यक्तिलाई उच्च आदरका साथ सम्बोधन गर्ने, सानालाई माया“ स्नेह गर्ने संस्कारबाट दीक्षित हामी उच्च ओहदामा पुगिसकेपश्चात आफूलाई शासकको रूपमा स्थापित गर्नका लागि नीच,छुद्र र अपाच्य व्यवहार गरी कर्मचारीको हुर्मत लिइएको पाइन्छ । यसले गर्दा नेतृत्व र कर्मचारीबीचको सम्बन्धमा ठूलो खाडल सिर्जना भएको छ ।

शासक ठान्ने मनोवृत्ति अन्त्य गरी सभ्य, शालीन, शिष्ट व्यवहारमा रूपान्तरित हुनका लागि नैतिक शिक्षा लिने, सामान्य प्रशासनिक जीवनशैली अवलम्बन गर्ने गर्नुपर्दछ । समाज र कार्यालयमा समेत सुकिला मुकिला, चिल्ला सवारी साधन प्रयोग गर्ने खराब नियत भएका कर्मचारी भन्दा कर्मठ, कविल, कामयाबी, ओजस्वी, नैतिकवान्, सदाचारी, निष्ठावान् व्यक्तिहरूलाई सम्मान र हौसला दिने बानीको विकास गर्नुपर्ने अवस्था आएको छ । पेशाप्रति उच्च सम्मान दर्साउनु पर्ने ठाउँ कोरोना भाइरस नियन्त्रणका निमित्त अग्रपङ्क्तिमा अहोरात्र खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत सङ्क्रमित कर्मचारीहरूप्रति गरिएका दुर्व्यवहार देखिउनुले हाम्रो सामाजिक अवस्था, चिन्तन, मनोवृत्तिलाई लज्जित र उदाङ्गो परेको छ ।

संस्थाहरूमा मौलाउँदै गएको असन्तुष्टिका स्वरहरूलाई संवोधन गरी कामप्रति दत्तचित्त भई समर्पित हुने कार्य वातावरण निर्माण गर्न सकेको खण्डमा प्रशासन संयन्त्रलाई लाग्ने गरेको आरोपबाट छुटकारा मिल्ने थियो भने सरकारले परिकल्पना गरेको समृद्ध नेपाल सुखी नेपाली बनाउने अभियान सफल हुने थियो ।

बस्याल नेपाल दूरसञ्चार प्राधिकरणका सहायक निर्देशक हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस