सरकारी केटी ! « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सरकारी केटी !


१ कार्तिक २०७७, शनिबार


बिहानीपख फोनको घण्टी अघिपछि भन्दा बेसी नै बजिरह्यो । साँच्चै आज त आलराम नबज्दै फोनको घण्टीले उठाएको– निद्राबाट झल्याँस्स ।

एकाबिहानै के–के न अर्जेन्ट फोन होला भनी हतपत उठाएँ ।
“सपनाको नम्बर होइन ?” उताबाट कसैले सोध्यो ।
“प्लीज रङ्ग नम्बर ।”

यति भन्दै म फेरि बिस्तारामै पल्टिएँ ।

केही बेरपछि फेरी त्यहीँ नम्बरबाट फोन आयो, उठाउन मन थिएन । एकचोटी राम्रैसँग सम्झाऊँ कि भनेर उठाएँ । फेरी फेरी यो नम्बरमा डिस्टर्ब नगर्न आग्रह गर्दै दाहिने कोल्टो पल्टिएँ ।

भित्तामा झुन्डाइएको घडीमा टक्क नजर अडियो । बिहानको ५:३० भैसकेको थियो। यसो आँग तन्काउँदै बिस्तारबाट उठेँ ।

केही बेरमै मर्निङ्ग वाक निस्किएँ । विश्वव्यापी कोभिड–१९ को कारणले राजधानी शहर पनि धेरै समयदेखि बन्द जस्तै थियो, कहिले लकडाउन त कहिले निषेधाज्ञाले । धेरै समय भएछ यसरी मर्निङ्क वाक ननिस्केको पनि । बल्ल निषेधाज्ञा फुकुवा भएपछि पहिलोपल्ट आज मर्निङ्ग वाकमा निस्केको ।

मर्निङ्ग वाकमा छउन्जेल कोही कसैको फोन आएन । एकोहोरो हिँडिरहँदा धेरै टाढा पुगेछु । फर्किन ढिलो हुन्छ कि भनी हतार–हतार डेरातिर लम्किएँ ।

टिभीमा समाचार हेर्दै बिहानको चिया पिएँ । किचेनको काममा रुमपार्टनर साथीलाई सघाएँ पनि ।

केही घण्टा नबजेको मेरो फोनले मौनता तोड्दै बज्न शुरु गर्‍यो । फेरि पनि नचिनेको नम्बरबाट कलिङ भइरह्यो ।

“ज्वाइँ साब नमस्कार !”

मैले फोन रिसिभ गर्ने बित्तिकै उताबाट आएको पहिलो आवाज थियो यो ।

म आश्चर्यमा परेँ ! नचिनेको नम्बरबाट फोन आउँछ । उसैमाथि यसअघि कहिल्यै नसुनेको आवाजले ज्वाइँसाब भन्दै पहिलो वाक्यमै सम्बोधन गर्छ ।

यसो घोरिएर सम्झेँ– ‘हँ !, म कसैको ज्वाइँ भैसकें र ?’

बिहे नै नभई कसको ज्वाइँ हुनु भन्ने ठानी रङ्ग नम्बर भन्ने तरखरमा थिएँ ।

अनि झट्ट सम्झिएँ– ‘के ज्वाइँ हुनलाई बिहे नै गर्नुपर्छ र ?! ज्वाइँको दाजु या भाइलाई पनि ससुराल तर्फकाले सम्मान गरेर ज्वाइँ भन्ने गर्छन् क्यारे । कतै मेरा कोही दाजुभाइका जेठान या ससुरा पर्ने पो हुन कि ?’

“हजुर नमस्ते ! भन्नुस् न के छ हाल खबर ?”

मैले यताबाट प्रतिक्रिया जनाएँ ।

“लौन ज्वाइँ साब् हाम्रो धने विदेशबाट कोरोनाले बेरोजगारी भई फर्कियो । हजुरको म्यानपावर यसो राम्रो भिषा आबेलाँ फेरी बाहिर पठाम्न परो । तेइ सल्लाह गरुम कि भनेर नि ज्वाइँ साब ।”

उताबाट यस्तो संवाद सुनेपछि म निश्चित भएँ । ‘यो फोन पनि रङ्ग नम्बर नै हुनुपर्छ, न मेरो म्यान पावर छ, न त मैलै चिनेको आफ्न्तीमा धने नामको केटो नै छ ।’ त्यसपछि म केही च्याठ्ठिएर बोलेँ ।

“कहाँ फोन गरेको ? रङ्ग नम्बर ।”

यति भनेर म बाथरुमतिर छिरेँ ।

बाथरुम पसेपछि फेरि फोनको घण्टी बज्यो । तर मैले फोनलाई खासै महत्त्व दिइन । आफ्नै काममा मस्त लीन भएँ । तर फोनको घण्टी बारम्बार बजिरह्यो ।

सोचेँ– ‘यस्तै रङ्ग नम्बरको बकम्फुसे फोन मात्रै आईरको त होला । दिमाग खराब । होइन आजको दिन राम्रो छैन कि क्या हो ? बिहानैदेखि दिमाग चाटिरा छन् पालैपालो फोनमा ।’

खाना खाईवरी अफिसको ड्रेस लगाएँ । डेरा नजिकै पर्ने चोकतिर निस्किएँ ।

चोकमा सायद अफिस जानेहरू नै होलान् बसकै प्रतीक्षामा थिए । म पनि उनीहरूकै हुलमा मिसिएँ ।

२÷४ वटा माइक्रो बसहरू लगातार आई रहे । तर माथिदेखि नै भरिभराउ भएर आएका, कोरोनाको डर त कत्ति नभएजस्तै । खुट्टा राख्ने ठाउँ धरि थिएन ।

यसो घडी हेर्न खोजेँ । हातमा घडी थिएन, सम्झेँ–नुवाई धुवाई गर्दा बाथरुममै खोलेर झुण्डाको । गोजीमा राखेको मोबाइलमा घडी हेरेँ ।

९.४० भैसकेको थियो । मोबाइलको स्क्रिनमा ६ मिस्कलले मलाई स्वागत गर्दै बसेका थिए। हेर्दै जाँदा मुटु चिसो भयो । होस, हवास नै उड्यो ।

तीमध्ये ३ मिस्डकल त मेरो हाकिमकै थियो ।

आज बुढाले मार्ने भए। यस्तो सोच्दै कल ब्याक गरेँ ।

हाकिम साबले एक घन्टीमै फोन उठाए ।

“अजित जी आज अल्लि छिटो आउनुपर्ने थियो । अर्जेन्ट कामले । अघि फोन गरेको उठेन त ।”

नम्र स्वरले हस् मात्रै भनेँ । अरू केही बोलिन ।

सडकभरि प्राइभेट राता नम्बर प्लेटका गाडीहरू, स्कुटी र बाइकहरू कुदिरहे । तर मेरो लागि भने त्यहाँ कुनै गाडी आएनन् यस्तो महामारी कोरोनाको बेला चढ्न आँट आउने गरी ।

ट्याक्सी पनि भन्दाभन्दै भेट्ट्याउनै मुस्किल । त्यसै क्रममा मेरो आँखा सडकको पारिपट्टिबाट आएको सेतो नम्बर प्लेटमा गएर ठोक्कियो । हेर्दाहेर्दै एक जना महिलालाई झराल्न म भन्दा केही अघि आएर झ्याप्प रोकियो । संयोगवश त्यो स्कुटीको पछाडि बस्ने महिला मेरो पुरानो चिनजानको रहिछन् । कुनै समय उनी र म एउटै कार्यालयमा काम गर्थ्यौ । केही बेरको कुराकानी पश्चात् सायद म गाडी कुरिरहेको भन्ने थाहा पाएरै होला उनैले मलाई स्कुटीको लागि सिफारिस गरिदिईन ।

स्कुटी छेउ पुगेँ ।

स्कुटी रोकेकी युवतीलाई आफू पनि सरकारी कर्मचारी भएकोले रुट मिल्छ भने मिल्नेसम्म लैदिन अनुरोध गरेँ । शुरुमा त उनले ठाडै अस्वीकार गरिन् । मेरो कुरालाई केही बेर बेवास्ता गरी । नगर्नु पनि कसरी ? यस्तो महामारी रोग व्याधिको बेला सबैलाई ज्यानको माया ।

मैले पुनःविन्ति गरेँ । जसरी पनि समयमै अफिस पुग्नु थियो  । आज त झन् गाडी कुर्दाकुर्दै बेर पनि भाथ्यो । उनीसँगै आउने म्यामले  कर गरेपछि बल्ल सहमति भइन्–पुतलीसडकसम्म पुराउन ।

म उनको पछाडि बसेँ । शुरुमा त छोइन्छ झैँ अल्लि परै बसेँ । बल्ल–बल्ल मोरीले लिफ्ट दिनसम्म मानिछे । कतै छोइँदा रिसाउने पो हो कि ?

सवारी हाँकिरहँदा स्कुटीको गतिसँगै बेलाबेला म उसको पिठ्युँमा ठोक्किन्थेँ । झट्ट सम्हालिन्थेँ पनि । घरीघरी त लडुँला जस्तो लाग्दा च्याप्पै पिठ्युँमा छुन पुग्थेँ । अनि झस्किहाल्थेँ – रिसाएर मोरीले यहीँ झार्दिई भने ।

लैनचौर नआउन्जेल हामीबीच केही बातचित भएन । तर उसले शरीर भरि छर्केको अत्तरको सुगन्धले मलाई नजिकै छौँ भन्ने आभाष दिलाई रह्यो । २०÷२२ वर्षे जस्ती लाग्ने भर्खरकी युवती सरकारी सेवामा देख्दा युवा भविष्यका कर्णदार हुन भन्नेमा विश्वस्त पनि भएँ ।

मनमनै उसको प्रशंसा गर्न थालेँ – ‘तिम्रै उमेरका केटीहरू दिनानुदिन नयाँ–नयाँ केटा साथीहरू फेर्दै चुरोटको धूवाँ र विदेशी वाइनको घुट्कीमा मस्त भइरहेका बेला कलकलाउँदो बैँसकी तिमी राष्ट्र सेवामा तल्लीन । कति लगनशील, परिश्रमी र जिम्मेवारीपूर्ण तिमी ।’

लैनचौरको चोकमा पुग्दा त्यहाँ ठुलो जाम थियो । स्कुटी डेग चल्ने ठाउँसम्म नि थिएन । अघिसम्म मौन रहेको म छटपटिएर बस्नु भन्दा गफगाफ गरौँ कि भनी बोल्न खोजेँ ।

“मिसको अफिस पुतलीसडक ? कुन अफिसमा हो नि हजुर ?”

उसले पुतलीसडकसम्म लिफ्ट मिल्छ भनेकोले अनुमान लगाएँ  ।

“मेरो कहाँ अफिस हुनु ? हा.. हा.. ।” लामो हाँसो हाँस्दै आफू स्टुडेन्ट भएको बताई ।

तर मलाई उसको बोलीले रत्ती विश्वास दिलाएन ।

“हँ, मैले त तपाई नि निजामती कर्मचारी ठानेको त । मिस पनि ठट्टा गरिरहने क्या ?” मैले भनेँ ।

उ पुतलीसडकको कुनै एक कन्सल्टेन्सीमा काम गर्ने बताई । बल्ल उ खुल्न थाली।

“के म सरकारी जागिरे जस्ती देखिन्छु र ?” उसले मतिर मुन्टो फर्काउँदै सोधी ।

त्यो ड्रेस, सेतो प्लेट सवारी यी सबैले त्यस्तै देखाउँछ अनि के त ? मैले जवाफ दिएँ ।

मैले मिस भनेर सम्बोधन गरिरहँदा अफ्ठयारो महसुस भएको बताई । मिस नभन्न आग्रह गरी ।

“उसो भए म के भनूँ त ? मलाई तपाईँको नामै थाहा छैन ।” मैले भनेँ ।

उसले आफ्नो परिचय दिई । संगम रे उसको नाम ।

मैले त्यही नामले बोलाउन थालेँ । तर उसले मेरो परिचय मागिन या जरुर नै ठानिन । मैले पनि नसोधेपछि अरू केही बताइन ।

कुराकानीकै क्रममा उसको ड्याडी सरकारी जागिरे भएको कुरा बताईन् । उच्च पदस्थ नेपाल सरकारका कर्मचारी रे ! उसले चढ्ने स्कुटी ड्याडीले अफिसबाट झिकाएका रे !

छोरीलाई स्कुटी दिएर ड्याडीचाहिँ के चढ्ने रैछन ? मलाई खुल्दुली बढ्यो । अनि मैले सोधिहालेँ ।

ड्याडीले त झन् गाडी चढ्छन् रे ! अफिस लान र लैजाने एक जना ड्राइभर भएको कुरा बताईन् ।

केही बेरपछि जाम खुल्यो । तर स्कुटी स्टार्ट नै भएन । झन् ढिला हुने पिरले म आत्तिएँ । तेल सिद्धिएर हो कि झैँ लाग्यो । नजिकैको पम्पमा तेल हाल्न जान आग्रह नि गरेँ ।

“हा.. पेट्रोलको कुपन छँदै छ, फोकटमा किन पैसा खर्चिनु त्यही नि हिजो फुल गरेको ।” उसले ढुक्कसाथ भनी ।

पेट्रोलको कुपन पनि ड्याडीले अफिसबाटै मिलाएको बताई ।

एकछिनमै आफै स्टार्ट भयो, हामी अगाडि बढ्यौँ ।

“छोरीलाई साह्रै माया गर्ने ड्याडी । यस्तो ड्याडीको छोरी हुन पाउनु अहोभाग्य ! ”

मैले व्यङ्ग्यात्मक पाराले उसलाई फुकाइरहेँ ।

“स्कुटी त ल्याईसियो । एउटा आइफोन नि भनेको टारिसिन्छ र पो ।” उसले आइफोन नपाएकोमा ड्याडीसँगको गुनासो पोखी ।

“मेरो साथी आशिषलाई त बाबाले पल्सर बाइक मिलाईसिएको छ । आइफोन पनि अफिसकै चलाउँछ उ । उसको बाबा पनि मन्त्रालयकै ठूलो मान्छे हो रे ।”

गफैगफमा झर्ने बेला आइसक्यो । म पुतलीसडकको छेउमै ओर्लिएँ । ऊसँग बिदा भएर म हतारिँदै अफिसतिर लम्किएँ ।

शायद अफिस ढिलो गर्‍यो भनेर हाकिम सावले नमस्कार गर्दा राम्रोसँग फर्काएनन् । फुलेर बसिरहे । म नबोली सरासर आफ्नो काम गर्न तर्फ लागेँ । काममा रहँदा त्यो बाटोका घट्नाहरु मनभरि खेलिरहे ।

राज्यको सम्पत्तिको कति दुरुपयोग ? है ! आफूले लिनसम्म त ठिक हो, परिवारलाई समेत ? तिनै हाकिमका परिवारले हाम्ले नपाएको सुविधा प्रयोग गरिरहने ? अनि केही बेर ढिलो भयो कि तिनै हाकिमको उल्टै हप्की खानुपर्ने ?

यता हामीजस्ता निमुखा कर्मचारी घन्टौँ कुरिरहँदा समेत सहजले सवारी पाउँदैनौँ । अझ अहिलेको समयमा कि त कोरोनासँग बाजी लगाएर सार्वजनिक यातायात चढ्नु पर्ने कि त कुर्कुच्चा सुनाउँदै  पैदलै हिँडिरहने । कमसेकम हाकिमका परिवार, नातेदार, इष्टमित्रलाई प्रयोग हुने सवारी खरिद गर्नुको सट्टा अन्य  कर्मचारीहरूको लागि रुट मिलाएर साझारूपमा चलाउने गरी सवारी व्यवस्था गरे हुने नि ! यसो गरे त हामीजस्ता कर्मचारीहरूको मनोबल उच्च रहने अनि बेलैमा कार्यालयमा पुग्न समस्या नहुने । अनि उता सरकारी साधनको दुरुपयोग पनि हुन नपाउने । तर यथार्थ बेग्लै छ त्यसैले त मुक दर्शक भएर हेर्नु परिरहेको छ ।

अफिसको प्रयोजनका लागि बिदाको दिनमा सेतो प्लेटको सवारी गुड्दा खुबै निगरानी राखिन्छ । विना पास चलाउनेलाई कहिलेकाहीँ  कारबाही नि गरिन्छ । तर जो कार्यालयसँग सम्बन्धित काममा प्रयोग गरिएको हुन्न । नितान्त व्यक्तिगत काममा मात्रै प्रयोग हुन्छ । विनासित्ती शक्ति र अधिकारको दुरुपयोग गरेर लिइन्छ । के यस्ता दुरुपयोग भइरहन दिने ? होइन भने यस्तो खालको दुरुपयोग कसले रोक्ने ?

सायद संगमलाई मैले शुरुमा सरकारी कर्मचारी केटी ठाने झैँ अरूले पनि त्यस्तै मान्दा हुन् । कलिलो उमेरमै सरकारी सेवा प्रवेश गरिछे भनेर दङ्ग पनि पर्दा होउन् । कतिले उ जस्तै हाम्री छोरी बुहारी पनि भईदिउन भन्ने शुभेच्छा पनि राख्दा होउन् ।

सरकारी सम्पत्ति प्रयोग गर्ने उ आज सरकारी केटी भएकी छे । सरकारी सुविधा र सम्पत्तिको दुरुपयोग गरेर सबैको नजरमा ठाँटिएर हिँडेकी छे । तर कसलाई के थाहा ? उसले पनि केही गल्ती पक्कै गरेकी छे । तर पनि अन्योल छ कानुन, चुपचाप छ समाज अनि मस्त छन् सरकारी कोषमा आफन्त रिझाउनेहरू ।

 

 

 

Tags :
प्रतिक्रिया दिनुहोस