बलात्कारविरुद्ध लिङ्ग छेदन ! « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बलात्कारविरुद्ध लिङ्ग छेदन !


२५ आश्विन २०७७, आइतबार


हामीकहाँ बलात्कारका शृङ्खलाहरू बढ्दो क्रममा छन् । कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र त्यसपछि गरिएको हत्याको छानबिन नटुङ्गिँदै त्यस्तै प्रकृतिको घटना गत भदौ ७ गते बझाङको मष्टा गाउँपालिकामा दोहोरिएको छ । त्यहाँ १२ वर्षे सम्झना कामीको बलात्कारपछि गरिएको हत्याले यति बेला मानवीयताको दुहाइ दिएको छ । धनुषा, सप्तरी, बर्दियालगायतका ठाउँमा घटेका बलात्कारका अन्य घटनाले नेपाली समाज कतातिर जाँदै छ ? भन्ने प्रश्न उब्जाएको छ । प्रहरीको तथ्यांकअनुसार २०७६ चैतदेखि आजसम्म १२२१ जना महिलाहरू बलात्कृत भएका छन् । यो निकै दुःखद पक्ष हो । गृहमन्त्रीले अन्य देशका तुलनामा हाम्रो बलात्कारको प्रवृत्ति हेर्दा आत्तिनु नपर्ने बताएका छन् । राष्ट्रिय सभाका सदस्य रामनारायण बिडारी पनि पहिला इञ्जोय गर्ने पछि बलात्कारको आरोप लगाउने गरिन्छ भन्छन् । तर आम नागरिकहरू दिनहुँजसो ६,७ जना बलात्कृत हुँदा पनि संवेदनशील नहुने मन्त्री र सांसदको प्रवृत्तिप्रति नै व्यङ्ग्य गर्दै बलात्कारीलाई हदैसम्मको सजायका लागि कानुनको माग गरेका छन् ।

निर्मलाको आँसुले कतिलाई पोलेको छ थाहा छैन । उनका हत्यारा पत्ता लगाउन ३,३ वटा छानबिन समिति बनेर प्रतिवेदन पनि आएको हो तर आजसम्म पनि उनको हत्यारा र बलात्कारी फेला नपर्नु राज्यका लागि लाजमर्दो विषय हो ।

आज हजारौँ निर्मलाहरू बलात्कारको सिकार भएका छन् । कल्पनासमेत गर्न नसकिने घटनाहरू घटेका छन् । बाबुबाट छोरी, ससुराबाट बुहारी, वृद्धबाट बालिका, शिक्षकबाट विद्यार्थी बलात्कार भएका छन् । वर्ष दिन नपुगेका अबोध बालिकादेखि ७० वर्षमाथिका बृद्धासमेत अछुतो रहन सकेका छैनन् । बलात्कार एकल होइन, सामूहिकरुपमा समेत गरिएका छन् । हालै बर्दियामा त विवाहित महिलालाई बलात्कार गरेको आरोपमा सशस्त्रका प्रहरी जवानविरुद्ध वडा कार्यालयमा उजुरी दिइएको छ । यो घटनाले जनताको जिउधनको रक्षक मानिने प्रहरीप्रति सर्वसाधारणको विश्वास गुमेको छ । बलात्कारबाट मात्र अपराधीहरू सन्तुष्ट छैनन् । १ मिनेट अघि जसलाई बलात्कार गरिएको छ, १ मिनेट पछि उसैलाई मार्नसमेत उनीहरू पछि परेका छैनन् । बझाङको हालैको घटना यसैको ताजा उदाहरण हो । घटना सिने शैलीमा घटेका छन् । घटनाले जङ्गली युगको प्रतिनिधित्व गरेका छन् । सभ्य समाजमा जुन कुरा कल्पना नै गर्न सकिँदैन तिनै कुरा भएका छन् ।

कारणको खोजी
बलात्कारका घटना किन बढ्दै छन् भन्ने कुरा आजको मुख्य चिन्ताको विषय हो । चेतनाको कमी, आर्थिक अभाव, बढ्दो विश्वास, कानुन हातमा लिने वा आफन्तको आडका कारण यस्ता घटनाहरू घट्ने गरेको पाइन्छ । प्रहरी सूत्र भन्छ ८० प्रतिशतभन्दा बढी बलात्कारका घटनाहरू चिनेजानेका र आफन्तहरूबाटै घटाइन्छन् । तर विज्ञानको बढ्दो चमत्कारसँगै भित्रिएका प्रविधिहरू पनि हाम्रा लागि यौन अपराधका उद्दीपक बनेका छन् । मोबाइलको गलत प्रयोग र इन्टरनेटको दुरुपयोगजस्ता कारणले पनि किशोरीहरू बिग्रने गरेको पाइएको छ । कतिपय ठाउँमा नक्कली फोटो राखी फेसबुक आइडी खडा गरेर बलात्कारका लागि स्वयम् किशोरीहरूले नै निम्ता दिएका घटनाहरू पनि सुनिन्छन् । सांसद बिडारीले भनेझैँ केही घटना इञ्जोयपछि आरोप लगाइएको पनि पाइन्छ । पूर्व सभामुख कृष्णबहादुर महरामाथिको आरोपको प्रकृति लगभग त्यस्तै देखियो । यद्यपि यस्ता घटनाहरू तुलनात्मक रूपमा कम होलान् । यसो भन्दैमा बलात्कारीउपर सदाशयता देखाउन भने किमार्थ हुँदैन ।

बलात्कारका अधिकांश घटनाहरूबाट कलिला अबोध किशोरीहरू पीडित बनेका छन् । गत साल मात्र निर्मलाकै बलात्कार र हत्यापछि त्यहाँ २ दर्जनभन्दा बढी बलात्कारका घटना घटेका थिए । उनको हत्यापछि दिनहुँ जसो त्यहाँ नारा, जुलुस निस्केका थिए र पनि अपराधी नडराउनु भनेको एक त अपराधी नै पत्ता नलाग्नु हो भने अर्को उसलाई कडा कारबाही नहुनु पनि हो । हत्याराको खोजी र कारबाहीको पहिलो आवश्यकता हो । राजधानी मात्र होइन निर्मला पन्तको मुद्दा देशव्यापी भएको छ । तै पनि किन डराउँदैनन् मान्छे ? शृङ्खलाबद्ध घटना किन घटछन् ? सरकारका लागि पनि थप चुनौतीको विषय बन्नुपर्ने हो । कतै सरकारले अपराधी पत्ता लगाउन सक्दैन वा पत्ता लगाइहाले पनि कारबाही गर्न सक्दैन भन्ने गलत मनोविज्ञान त ती अपराधीहरूले बोकेका छैनन् ? सोच्नैपर्ने भएको छ ।

आफ्नो सुरक्षा आफैँ
कुनै समयमा कलेजका महिलालाई ठिटाहरूले जिस्काउँदा गोजीमा खुर्सानीको धुलो लिएर हिँड्नु, गिज्याउन आउनेका आँखामा छर्किदिनु भन्ने जवाफ पनि जिम्मेवार व्यक्तिले दिन्थे भन्ने सुनिन्थ्यो । आज पनि कतिपय अवस्थामा सुरक्षानिकट स्रोतले आफ्नो सुरक्षा आफै गर्न सुझाएको पाइन्छ । जब एकाघरकै बाउबाट छोरी बलात्कृत हुन्छे भने विश्वास कसको गर्नु ? बाऊछोरीसँगै हिँड्दा आशङ्का कसरी गर्न सकिन्छ र ?

एउटा अमुक जिल्लाका दुर्गम भेकमा जाँदा त्यहाँका छात्राले घाँटीमा सल बेरेको पाइयो । के जाडो, के गर्मी सधैँ उनीहरू सल बेरेरै स्कुल आउँदा रैछन् । किन सल बेरेको भन्दा ‘सरहरूले घाँटीबाट हात पसाई शरीरको भित्री भागतिर लैजाने गरेकोले उनीहरूबाट बच्न यसो गरेको ’भन्ने जवाफ पाइयो । आफ्नो सुरक्षा आफै गर्ने यो विधि उपयुक्त लाग्यो । आज सबै ठाउँमा सरहरूले यसै गर्छन् भन्न खोजिएको होइन तर कतिपय ठाउँमा शिक्षकबाट विद्यार्थी बलात्कार भएका घटना पनि सुनिन्छन् । त्यसबाट बच्न स्व–उपायको खोज पनि जरुरी छ ।

२०३८/२०३९ सालतिर पोखरा बजारमा मानसिक सन्तुलन गुमाएकी एक जना अधबैँसे महिला डुल्थिन् । उनी प्रायः रात सडक पेटीमै सुत्थिन् । उनको पेट शरीरको अरू भागको तुलनामा ठूलो देखिन्थ्यो । भन्नेहरू उनलाई राती जाँड, रक्सी खाएर हल्ला गर्नेहरूले बलात्कार गर्छन् भनी उनले पूर्व सुरक्षाका लागि भित्र कपडाहरूको पोको राखेर बाहिरबाट पटुकीले कस्थिन् र कसैले बलात्कारको प्रयास गर्‍यो भने ‘म गर्भवती छु, पेटको बच्चा मर्छ केही नगर भन्थिन्’भन्ने सुनिन्थ्यो । यसमा सत्यता कति होला, नहोला तर आफ्नो सुरक्षा आफै गर्नुपर्ने कुरालाई भने यस घटनाले थप प्रमाणित गर्दछ ।

कम गर्ने कसरी ?
बलात्कारका घटना कम गर्न सरकारले पनि उत्तिकै ध्यान दिन जरुरी छ । मुलुकी अपराध संहिता २०७४ को दफा १२१ मा अश्लील सामाग्रीहरूमा रोक लगाउने कुरा उल्लेख गरिएको छ । एक तथ्यांकअनुसार २ वर्ष अघि इन्टरनेटमा ४० लाख यौन भिडियो अपलोड भएको पाइएको थियो । यी सामाग्रीहरूले सीधै बिगार नगरे पनि यौन उत्तेजकको काम भने अवश्य गर्छन् । सरकारले शुरुमा यौनजन्य अश्लील सामाग्री उत्पादन गर्ने वेबसाइट बन्द गराएर राम्रो काम गरेको थियो । प्रत्येक अभिभावकहरूले पनि आफ्ना किशोर, किशोरीहरूको दिनचर्या नियाल्न जरुरी छ । मोबाइलको गलत प्रयोग गर्नेलार्ई सचेत गराउनै पर्छ । इन्टरनेटलाई शैक्षिक तथा सूचनामूलक स्रोतका रूपमा मात्र लिने बानीको विकास गराउनैपर्छ । अन्यथा घटना घटिसकेपछि पछुताउनुको कुनै अर्थ हुने छैन ।

छोटा र पारदर्शी कपडामा रोक
नर्सरीदेखि ठूला–ठूला कक्षाहरूमा समेत विद्यालयले आफ्नो ड्रेस कोड तोकेको छ । तोकिएको पोशाक लगाउनु विद्यार्थीको आचारसंहिताभित्रै पर्ने कुरा हो । सबै विद्यालय आ–आफ्नै तजबिजअनुसार पोशाक तोक्न स्वतन्त्र छन् । यस्तो स्वरूपको पोशाक तोक्नुपर्नेछ भन्ने कुनै पनि कानुनी अड्चन छैन । कतिपय विद्यालयका छात्राहरूले लगाउने पोशाक अत्यन्त छोटो र पारदर्शी खालको देखिन्छ । कतिपय अवस्थामा मोटर बाइकमा हावा लाएको बेला उनीहरू पोशाककै कारण आफूलाई सम्हाल्नसमेत हम्मे–हम्मे परेको देखिन्छ । कक्षामा अगाडिको सिटमा बस्दा शिक्षकले भुईँतिर हेर्नै नसक्ने अवस्थाको पोशाकमा हुन्छन् । मुलुकी अपराध संहिताको दफा १२१ ले भनेअनुसार प्रकारान्तरले उनीहरूका पोशाक यौन उत्तेजक खालकै हुन्छन् । यस्ता कुरामा आजसम्म न शिक्षा मन्त्रालयको ध्यान गएको छ न जिल्लास्थित शैक्षिक निकायको नै ।

सुरक्षा निकायले समेत यस्ता सूक्ष्म कुरामा ख्याल गर्दैन । छोटा र पारदर्शी कपडा तोकिएका विद्यालयमा मात्र किशोरीहरू भर्ना हुन्छन् भन्ने मान्यतालाई गलत साबित गर्नैपर्दछ । कम्तीमा छोरीको पोशाक बाउले ढुक्कसँग हेर्न सक्ने खालको हुनुपर्छ । यसका लागि कक्षा १० सम्म कमेज र घुँडा मुनी झरेको फ्रक वा कुर्था सुरुवाल वा पाइन्टमध्ये एक हुनुपर्छ । ११ र १२ कक्षाका लागि कुर्था सुरुवाल, सर्ट पाइन्ट वा साडी ब्लाउजमध्ये कुनै एक रोज्न पाउने गरी तोक्नुपर्छ । प्रत्येक कपडा पारदर्शीरहितको हुनुपर्ने र शरीरका सबै भाग टम्म ढाक्ने गरी सिलाएको हुनुपर्ने गरी तोकिनुपर्छ । यसका लागि माध्यमिक शिक्षासम्मको अधिकार प्राप्त गरेको स्थानीय सरकारले नै अग्रसरता लिनुपर्ने देखिन्छ र बेला बेलामा गरिने अनुगमनमा पोशाकको प्रकृति र नियमिततामा पनि ख्याल गर्नुपर्छ ।

नियम कानुनमा कडाइ
‘जस्तालाई त्यस्तै’ भन्ने नेपाली उखान लागु गर्नुपर्छ । कम्तीमा पनि १६ वर्ष मुनिका बालिकालाई र ६० वर्षभन्दा माथिका महिलालाई बलात्कार गर्नेलाई फाँसीको सजाय दिइनुपर्छ । यो अहिले सम्भव नभए सार्वजनिक ठाउँमा उभ्याएर निजको लिङ्ग छेदन गर्नुपर्छ । त्यसभन्दा अन्य उमेरका हकमा बलात्कारीलाई जन्मकैद र यो सम्भव नभएसम्मका लागि केमिकल क्यास्ट्रेसन (नपुंशक बनाउने) कानुन ल्याइनुपर्छ । यो नभएसम्म कुनै पनि हालतमा बलात्कारका घटनाहरूमा कमी आउने सङ्केत देखिँदैन । बलात्कारको मुद्दा फाष्ट ट्र्याकबाट हेरिनुपर्छ । सकेसम्म महिला बेन्चमा पार्नुपर्छ । बलात्कारीका पक्षमा बहस गर्ने कानुन व्यावसायीहरुलाई निरुत्साहित गर्नुपर्छ । यस्तालाई समाजले प्रतिष्ठा र सम्मान दिनुहुँदैन ।

 

 

Tags :
प्रतिक्रिया दिनुहोस