रोगसँग लड्न दूध, माछा, मासु र अण्डा खाऔँ « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

रोगसँग लड्न दूध, माछा, मासु र अण्डा खाऔँ


२१ भाद्र २०७७, आइतबार


कोरोना महामारी समुदाय स्तरमा फैलिसकेको कारण नेपालमा सङ्क्रमित र मृतकको सङ्ख्या दिनप्रतिदिन बढिरहेको छ। आमजनता यस रोगबाट बच्न सरकार र विश्व स्वास्थ्य सङ्गठनले सुझाएका मापदण्डको पालनाका साथै आयुर्वेदिक उपचार, व्यायाम, योग तथा अन्य उपायहरूको नियमित प्रयोग गरिरहेका छन्। रोगविरुद्धको यस लडाँईमा सबैभन्दा महत्त्वपूर्ण योगदान भने हाम्रो  खानाले गर्ने गर्दछ।

जीवनलाई स्वस्थ रूपमा सञ्चालन गर्नको लागि कार्बोहाइड्रेट, प्रोटिन, फ्याट (चिल्लो पदार्थ), पानी, भिटामिन र खनिज लगायतका तत्त्वहरूको आवश्यकता पर्ने गर्दछ र यी तत्त्वहरू वनस्पति तथा पशुपन्छीजन्य उत्पादनहरूबाट प्राप्त हुने गर्दछ। सबै तत्त्वहरूको आफ्नै भूमिका र महत्त्व हुने हुँदा कुनै पनि तत्त्वको कमी वा अभावमा हाम्रो शरीरमा विभिन्न रोगहरूले संक्रमण गर्न सक्ने तथा शारीरिक र मानसिक अशक्तता हुने गर्दछ। यी तत्त्वहरू एकै श्रोतबाट प्राप्त नहुने हुँदा भोजनमा विभिन्न वनस्पति तथा पशुपन्छीजन्य उत्पादनहरू संलग्न गरी आहारालाई सन्तुलित बनाउने गरिएको छ।र, यस्तो सन्तुलित आहाराले मानिसको शारीरिक तथा मानसिक वृद्धि र रोगहरू विरुद्ध प्रतिरोध क्षमता विकासमा महत्त्वपूर्ण योगदान गर्दछ।सन्तुलित आहारा तयार गर्न खानामा पशुपन्छीजन्य उत्पादनहरूलाई नियमितरुपमा संलग्न गराउनुपर्दछ।

कोरोना महामारीको सुरुवातसँगै मानिसहरूमा पशुपन्छीजन्य उत्पादन मार्फत कोरोना संक्रमण सर्न सक्छ भन्ने अफवाह फैलिएका कारण पशुपन्छीजन्य उत्पादन विशेषतः मासु र अण्डाको उपभोगमा ठुलो गिरावट आएको छ। यस्तै दूध र माछाको खपत पनि कोरोनापूर्वको स्थितिमा रहेको छैन। देशको कुल गार्हस्थ्य उत्पादनमा करिब १४ प्रतिशत योगदान गरिरहेको पशुपालन क्षेत्र देशको आर्थिक विकासको संवाहक हो।र, यो रोजगारी प्रदान गर्ने एक प्रमुख क्षेत्र पनि हो।पशुपन्छी पालन सम्बन्धमा उठ्ने कुनै पनि अफवाहले राष्ट्रको समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्दछ।

पशुपन्छीजन्य उत्पादन भन्नाले हामी दूध, फुल, माछा र मासुलाई बुझ्दछौ।नेपालमा दूधको श्रोत गाई (३५%)र भैसीं (६५%)रहेको छ। फुल वा अण्डाका श्रोत कुखुरा(९९%) हो।मासु रागाँभैसी (५४%), बाख्रा (२०%), कुखुरा (१८%), बगुंर (८%) बाट प्राप्त भइरहेको छ।कुखुराको मासु र अण्डामा हामी आत्मनिर्भर उन्मुख भएको भए पनि अन्य उत्पादनहरूमा हाम्रो उत्पादन माग बमोजिम रहेको छैन। संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि सङ्गठनले निर्धारण गरेको नेपालीहरूको लागि न्यूनतम उपभोग मात्रालाई आधार मान्दा कुखुराको अण्डामा हामी आत्मनिर्भर भइसकेको अवस्था रहेको छ भने अन्य उत्पादनहरूको उपभोगमा कमी नै रहेको छ (तालिकाः१)। विकसित देशहरूको तुलनामा भने हाम्रो उपभोग अत्यन्तै न्यून रहेको छ।

पशुपन्छीजन्य उत्पादन किन उपभोग गर्ने ?
पशुपन्छीजन्य उत्पादनहरूले पोषण उपलब्धताका साथै देशको आर्थिक र सामाजिक क्षेत्रहरूमा विशिष्ट योगदान गरिरहेका छन्।

क) पशुपन्छीजन्य उत्पादनहरूमा मानिसको जीवन विकासको लागि आवश्यक सम्पूर्ण तत्त्वहरू पाईन्छन। दूध र अण्डालाई पूर्ण आहारा मानिने गरिएको छ। माछामासुमा हाम्रो शरीरलाई आवश्यक पर्ने सबै एमिनो एसिडहरू उपलब्ध हुन्छन्। पशुपन्छी र मानिसको शारीरिक विज्ञानमा हुने समानताका कारण वनस्पतिजन्य उत्पादनमा भएका तत्त्व भन्दा पशुपन्छीजन्य उत्पादनमा भएका तत्त्वहरूलाई मानव शरीरले बढी उपयोग गर्न सक्दछ। पशुपन्छीजन्य उत्पादनहरू थोरै मात्रमा उपभोग गर्दा पनि शरीरलाई आवश्यक तत्त्वहरू प्राप्त हुन सक्दछ।

ख) मानिसलाई स्वस्थ्य राख्न र विभिन्न रोग विरुद्ध प्रतिरोध क्षमता विकास गर्नको लागि पशुपन्छीजन्य उत्पादनहरूको महत्त्वपूर्ण भूमिका रहने गर्दछ।विभिन्न अध्ययनले नियमित दूध सेवन गर्ने बालबालिकाहरूमा श्वासप्रश्वाससँग सम्बन्धित अगंहरुमा आत्मरक्षा प्रणाली बलियो भएको देखाएका छन्। दूधमा पाइने लेक्टोफेरिन, चिल्लो पदार्थ, एलर्जेन्स, सूक्ष्म जीव र अन्य तत्त्वहरूले एलर्जी, दम, रुघा, विभिन्न सङ्क्रमण लगायतका समस्याहरूमा कमी ल्याउने अध्ययनहरूले देखाएका छन्।मासुमा पाइने फलाम, जिकं, तामा, भिटामिन ‘बि’ कम्प्लेक्स (विशेषतः १, ६, १२) लगायतका तत्त्वहरूले शरीरको प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउँछन्। माछामासुको उपभोगबाट रगतमा हुने रातो तथा श्वेत कोषिकाको विकास तथा क्षमतामा उल्लेखनीय सुधार आउने देखिएको छ।माछामा अनसेचुरेटेड फ्याट्टी एसिड र ओमेगा ३ फ्याट्टी एसिडहरू उच्च मात्रामा पाइन्छन् र यी तत्त्वले शरीरको प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउँदछन्। वैज्ञानिकरुपमा तोकिएको मात्रमा माछामासुको उपभोग गर्दा त्यसले मानिसमा बहुआयमिक फाइदा हुने गर्दछ। नेपालको परिवेशमा प्रोटिनको सहज उपलब्धता दूध, मासु र अण्डा मार्फत सहज हुन सक्दछ।

ग) पशुपन्छीजन्य उत्पादनहरूले मानसिक तनाव कम गराउने तत्त्वहरू उल्लेखनियरुपमा उपलब्ध गराउँदछन्।

घ) नेपालको कुल भूभागको करिब २९ प्रतिशत मात्रै खेतीयोग्य रहेको छ। तर कृषि उत्पादनको लागि प्रयोग हुन नसक्ने जमिन पशुपालनको लागि प्रयोग हुन सक्छ।देशको कुल क्षेत्रफल मध्ये २२ प्रतिशत जमिन खर्क तथा चरन क्षेत्र रहेको छ र यो पशुपालनको लागि प्रभावकारी रूपमा प्रयोग गर्न सकिन्छ। कुल भूमिको उत्पादकत्व वृद्धि गर्न तथा भूमि व्यवस्थापनमा पशुपन्छीले मद्दत गर्दछन्।

ङ) पशुपालनले कम क्षेत्रफलमा धेरै आम्दानी दिन सक्दछ।नेपालमा बहुसङ्ख्यक कृषकहरू साना किसान रहेका छन् र उनीहरू सँग एक हेक्टर भन्दा कम जमिन रहेको छ।यस कारण पशुपालन बहुसङ्ख्यक नेपालीको जीविकोपार्जनको आधार बनिरहेको छ। पशुपन्छीजन्य उत्पादनको उपभोग मार्फत बहुसङ्ख्यक नेपालीको जीविकोपार्जनमा सहयोग गर्न सकिन्छ।

च) वातावरणको सन्तुलन मिलाउन तथा कृषिको दीर्घकालीन विकासको लागि पशुपन्छीको ठुलो भूमिका हुने गर्दछ। मानिसले उपभोग गर्न नसक्ने वनस्पति तथा कृषि उपजहरूलाई आहाराको रूपमा प्रयोग गरी पशुपन्छीहरूले मानिसका लागि उपभोग योग्य गुणस्तरीय उत्पादनहरू प्रदान गर्दछन्।

छ) सर्वसुलभ रूपमा कम मूल्यमा गुणस्तरीय प्रोटिन पशुपन्छीका उत्पादनहरूबाट मात्रै पाइन्छ। तीस रुपैयाँमा पाइने १०० ग्राम कुखुराको मासुबाट करिब ३० ग्राम प्रोटिन पाउन सकिन्छ जुन अन्य श्रोतबाट असम्भव जस्तै छ।

ज) संविधानले नेपालीको मौलिक हकको रूपमा उल्लेख गरेको खाद्य सम्बन्धी हक र स्वास्थ्य हकको सुनिश्चितता गर्नको लागि पशुपन्छीजन्य उत्पादनको खपतमा वृद्धि आवश्यक रहन्छ।करिब ४० प्रतिशत नेपालीहरू कुपोषणले ग्रस्त रहेको परिप्रेक्ष्यमा शारीरिक र मानसिक विकासको लागि पशुपन्छीजन्य उत्पादनको उपभोग अपरिहार्य रहन्छ।

झ) पशुपन्छीबाट प्राप्त हुने मलले कृषि भूमिको उत्पादकत्व बढाउँदछ।पशुहरूबाट प्राप्त हुने श्रम ढुवानी गर्न, खेतबारी जोत्नको लागि प्रयोग हुँदै आएको छ।

विश्व स्वास्थ्य सङ्गठन, विश्व पशु स्वास्थ्य सङ्गठन, संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सगंठन लगायतका निकायहरूले दूध, माछा, मासु र अण्डाबाट कोरोना भाइरस नसर्ने बताइरहेको भएतापनि अफवाहहरू फैलिरहेका छन्। नेपाल सरकारले पनि पशुपन्छी उत्पादनबाट कोरोना भाइरस सर्ने कुनै आधार नभएको जनाउँदै निर्धक्कसगं उपभोग गर्न अनुरोध गरिरहेको छ। सबैको प्रयासका बाबजुद अफवाहहरू फैलिने क्रम रोकिएको छैन जसकारण देशको आर्थिक सामाजिक विकास तथा जनताको शारीरिक तथा मानसिक विकासमा नकारात्मक प्रकार परिरहेको छ। आत्मनिर्भर उन्मुख रहेको पशुपालन व्यवसायलाई महामारीले  ठुलै झट्का दिएको छ। यसको समाधानको लागि उपभोक्ताहरूले अफवाहको पछाडि नलागी वास्तविकताको अध्ययन र खोजी गरी बुद्धिमत्ता प्रदर्शन गर्नु पर्दछ।पोषण तत्त्वहरूले भरिपूर्ण रहेका पशुपन्छीजन्य उत्पादनको उपभोग नगर्दा शरीरमा विभिन्न तत्त्वहरूको कमीका कारण विभिन्न समस्याहरू आउन सक्ने तर्फ उपभोक्ताहरू सचेत हुनुपर्दछ। बहुसङ्ख्यक नेपालीको पोषण अवस्था नाजुक रहेको अवस्थामा यस्ता वस्तुहरूको उपभोग नहुँदा रोगसँग लड्ने क्षमता कमजोर हुन सक्छ। साथै उत्पादक, प्रशोधनकर्ता र विक्रेताले उत्पादनहरूलाई स्वच्छ र स्वस्थ बनाउन असल अभ्यासका अवधारणाहरूको पूर्ण पालना गरी उपभोक्ताको विश्वास जित्ने कार्य गर्नुपर्दछ । उपभोक्ताले पशुपन्छीजन्य उत्पादनहरू राम्रो सँग पकाएर मात्र खानुपर्दछ।

राष्ट्रको आर्थिक सामाजिक विकास तथा आफ्नो शारीरिक विकास र रोग विरुद्धको प्रतिरोध क्षमता विकास गर्नको लागि दूध, माछा, मासु र अण्डाको नियमित उपभोग गरी रोगलाई घर भित्रैबाट परास्त गरौँ।

(लेखक पशु सेवा विभागमा पशु विकास अधिकृत हुनुहुन्छ)

Tags :
प्रतिक्रिया दिनुहोस