पोजेटिभ कोरोना र कोरोना पोजेटिभ « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

पोजेटिभ कोरोना र कोरोना पोजेटिभ


हरि मोहन सुतिहार

१७ भाद्र २०७७, बुधबार


यो अन्तरवार्ता लेखमा जो अतिथि हुनुहुन्छ, उहाँलाई कुनै परिचयको आवश्यकता छैन । उहाँ सन् २०१९ डिसेम्बर महिनादेखि चीनको वुहान प्रान्तबाट भ्रमणमा निस्किई विश्व यात्राको क्रममा सुप्रसिद्ध भई सक्नु भएको छ। संसारका विकसित जस्तै- अमेरिका, इटाली, चीन, कोरिया, युरोपेली मुलुकहरू र विकासक्रममा रहेका मुलुकहरूकोसमेत भ्रमणको सिलसिलामा उहाँको आगमन वि.स. २०७६ माघ महिनामा नेपालमा पनि भइसकेको छ ।

आउनुस्, अब विश्व भ्रमण यात्री कोरोनासँग नेपालमा रहिरहँदा नेपालको बारेमा उहाँको सिकाई, भोगाई र बुझाइको बारेमा केही चर्चा गरौँ ।
म:- स्वागत छ, कोभिड-१९।
कोरोना:- मलाई त तपाईँहरूले धेरै पहिले नै स्वागत गरिसक्नु भएको छ । तथापि, यो अन्तरवार्ताको लागि धन्यवाद छ।
म:- तपाईँको स्वभावको बारेमा केही बुझौँ न ।

कोरोना:- म साहसी र स्वाभिमानी छु । साहसी किन छु भने म एक्लै विश्व भ्रमणमा निस्केको छु । म आफै कसैसँग जाँदिन, जबसम्म मलाई स्वयं अरूले लिन वा बोलाउन आउँदैन, तबसम्म म जाँदिन । त्यसैले म स्वाभिमानी छु।

म:- माघ महिनामै नेपालमा प्रवेश गर्नु भयो । त्यसो भए हालसम्म नेपालमा तपाईँले कुन-कुन कुरामा कठिनाइ महसुस गर्नु भयो ? र तपाईँको भोगाई एवम् सिकाइको बारेमा बताइदिनुस् ।

कोरोना:- सांस्कृतिक तथा पर्यटकीय विविधतायुक्त देश नेपालमा कठिनाइको कुरा गर्दा, सुरुवातमा सबभन्दा बढी कठिनाइ भयो । सुरु चरणमै बन्दाबन्दी र पब्लिक मुभमेन्ट बन्द भयो, जसले गर्दा मलाई तपाईँहरूले बढ्न नै दिनु भएन, तर अहिले म खुसी छु । तपाईँहरूले मलाई विस्तार हुने स्थान दिनु भएको छ । सिकाइको कुरा गर्दा मुख्य यी ३ कुरा छन्:-
• आर्थिक विकास भन्दा पनि मानवीय जीवन सुरक्षा र विकासमा अग्रसर मुलुकको रूपमा रहेको,
• परिस्थिति मूल्याङ्कन गरी निर्णय गर्ने क्षमता, दक्षता र विज्ञताको अभाव भएको र
• धर्म, वर्ग र क्षेत्रमा विभाजित तथा कन्सियस माइन्डको अभाव भएको नागरिक समाज ।

म:- माघ महिनादेखि हालसम्म रहँदा नेपालमा यी सबै घट्नाहरुको कारण तपाईँ हुनुहुन्छ ।
• सर्वप्रथम मानव समाजमा मानसिक एवं सामाजिक आक्रान्त पैदा भएको छ । आत्मीयताको अभावमा मानवीय सामाजिक सम्बन्ध टुट्ने कार्यमा प्रश्रयता पाएको छ ।
• मानवलाई जीवन निर्वाहका लागि न्यूनतम आवश्यकता परिपूर्ति गर्न धौधौ भएको अवस्था छ ।
• कृषि प्रधानता रहेको मुलुकमा कृषिको उत्पादन र उत्पादकत्वमा नै ह्रास सिर्जना भएको छ ।
• मुलुकको उद्योग प्रणालीमा बाधा उत्पन्न भई उत्पादनमा कमी र बेरोजगारीमा बढोत्तरी भएको छ ।
• स्वदेशमै घरेलु, लघु तथा साना उद्योग गर्न चाहने नवउद्यमीहरुको आशा माथि तुषारापात भएको छ ।
• मुलुकको वैदेशिक रोजगार, वैदेशिक व्यापार र वैदेशिक लगानीमा प्रतिकुलताको अवस्था छ ।
• सार्वजनिक यातायातको अभावमा सहज उद्योग, व्यापार र मानवीय गतिविधिको वातावरण बिग्रेको छ ।
• पर्यटन एवं पर्यटकीय गतिविधिबाट वैदेशिक मुद्रा आर्जन हुने, पर्यटनको प्रवर्द्धन हुने र मनोरञ्जनबाट मानवलाई प्राप्त हुने आत्मीय सुख प्राप्तिको अवस्थाबाट वञ्चित हुनु परेको छ ।
• शिक्षा प्रणाली नै प्रभावित भई सम्पूर्ण बालबालिका एवं युवाको शिक्षा प्राप्त गर्नबाट वञ्चित भएको छ ।

म:- मुलुकको सार्वजनिक प्रशासन, विकास व्यवस्थापन र अर्थतन्त्रको समष्टिगत विकासको रोगको रूपमा परिणत हुनु भएको छ । यति मात्र नभई सरकारले परिकल्पना गरेको ‘समृद्ध नेपाल र सुखी नेपाली’ को बाधक हुनुभएको छ ।

कोरोना:- न त कुनै पनि महामारी उत्पन्न र विस्तार हुनु मानव समाजको लागि नयाँ विषय हो र न त मानवजातिले अरूमाथि दोषारोपण गर्नु । वास्तवमा उल्लेख गर्नु भएको असुविधाको कारण म होइन, म त माध्यम मात्र हुँ । वास्तविक कारण स्वयं तपाईँ मानव नै हो, जो आफूलाई प्रकृतिभन्दा सर्वोपरि ठानेर पर्यावरणको नियम मिच्न तयार हुन्छ ।

बरु मैले गर्दा मानवीय सम्बन्ध महत्त्वको पुन:सम्झना, कार्य व्यस्तता वा अन्य कारणले परिवार, मित्र र समाजबाट टाढा रहेकोमा अन्तरघुलन हुने समयको प्राप्ति र रोग (शत्रु) प्रति एकजुट हुने अवसर प्राप्त भएको छ । यी त भावनात्मक कुराहरू भए, तथ्यका कुरा गर्ने हो भने भएका सकारात्मक पक्षहरू-
१. सार्वजनिक प्रशासन
• भौतिक रूपले उपस्थित हुन असमर्थ रहने हुनाले ई-गभरनेन्स युक्त प्रशासनको उपयोगमा बढोत्तरी भएको छ, जसले गर्दा सेवा लागतमा समेत सुधार भएको छ ।
• वर्षेनी वैदेशिक भ्रमणको नाममा गरिने खर्च उल्लेख्य मात्रामा ४०.९ प्रतिशतले बचत भएको छ।
• विभिन्न तालिम, गोष्ठी र सेमिनारको कार्यक्रममा गरिने खर्च समेत बचत भएको छ ।(जस्तै- हालै सिग्यास लेखाप्रणाली अवलम्बन गर्न भर्चुअल ट्रेनिङ भयो । जसले गर्दा ७७ वटा जिल्लाका को.ले.नि.का कर्मचारी केन्द्रमा जाँदा लाग्ने लजिङ, फुडिङ र भ्रमण खर्चको बचत हुनुका साथै कर्मचारी कार्यालयमा नहुँदा सेवा प्रवाहमा हुने बाधा समेत न्यूनीकरण भएको छ।)
• कार्य गर्न कार्यालयमा गएर कोही हाजिर गर्ने र कोही कार्य गर्ने परम्परागत पद्धतिको अन्त्य भई टास्क अरिअन्टेड, वर्क फर्म होम अवधारणाको सूत्रपात भएको छ ।
• सेवाग्राहीको अनुपस्थितिमा सङ्गठनको आन्तरिक प्रणाली सुधार गर्ने समय प्राप्त भएको छ ।(उदाहरण- भूमि व्यवस्थापन तथा अभिलेख विभागले अभियानकै रूपमा थालनी गरेको छ ।)
२. कृषि क्षेत्र
• प्रयोगविहीन रहेका बाँझो जग्गाहरूको सदुपयोग भई कृषि भूमिको दायरामा बढोत्तरी भएको छ ।
• जग्गाको अभावमा घरकै जग्गा उपयोग गरी करेसाबारी, कौसी खेतीको माध्यमबाट स्वावलम्बन हुने परिपाटीको विकास एवं खाद्यान्न आयातमा उल्लेख्य कटौती भई आत्मनिर्भर तिर अग्रसर भएको छ ।
• उत्पादन घटे पनि उत्पादकत्व स्थिर रहेको छ ।बन्दाबन्दीमै व्यावसायिक कृषिबाट मनग्य आर्जन गरेको छ ।
३. शिक्षा
• प्रविधिको प्रयोग गरी दूर शिक्षा, अनलाइन/भर्चुअल एजुकेशन प्रणालीको थालनी तथा विस्तार भएको छ ।
• शिक्षा क्षेत्रको आन्तरिक नियन्त्रण तथा मूल्याङ्कन प्रणालीको अवलम्बन र विकास गर्ने समय प्राप्त भएको छ।
• परीक्षा व्यवस्थापन प्रणाली सुधार । जस्तै:- आधारभूत तह स्थानीय तह, एसईई प्रदेश तह र उच्च शिक्षा सङ्घीय तहमा व्यवस्थापन गर्ने सुखद अवसर हो ।
४. वैदेशिक रोजगार र जनशक्ति
• सक्रिय युवा जनशक्तिहरू जो राष्ट्रका सम्पत्ति हुन् ।”नेपाल पोलिसी इन्स्टिच्युट र माइग्रेसन ल्याब”का अनुसार ८० प्रतिशत श्रमिक नेपाल फर्कन इच्छुक छन् ।
• अर्थतन्त्रमा उल्लेख्य योगदान गर्ने विप्रेषण जुन हाल डच डिजिजका रूपमा परिणत हुँदै गएकोमा चेन ब्रेक गर्ने शुभ अवसर समेत हो ।
५. वातावरण क्षेत्र
• नेपालमा मात्र नभई विश्वमा नै वातावरणीय क्षेत्रमा सबभन्दा बढी सुधार भएको छ । कुनै समय विश्वमा पाँचौँ प्रदूषित सहर भएको राजधानी काठमाडौँ लामो समय पछि सफा र स्वच्छ भएको छ ।
• काठमाडौंबाटै हिमालको दृश्यावलोकन भएको छ भने देशको औसत मौसमको अवस्थामा सुधार भएको छ ।
६. वैदेशिक व्यापार
• चालू आ.व. २०७७/७८को पहिलो महिनामा आयात २० प्रतिशत र निर्यात ९ प्रतिशतले वृद्धि भएको छ ।
• लामो समयदेखि पेचिलो बन्दै गएको व्यापार घाटा २२ प्रतिशतले कमी भएको र भुक्तानी सन्तुलन सुधारोन्मुख दिशामा रहेको छ ।
• इन्धन, सवारीसाधन, सुनचाँदी, उपकरण लगायतमा हुने आयात न्यून भई मुद्रा सञ्चित भएको छ ।
७. विकास व्यवस्थापन र अन्य
• पहिले बिरामी बनाउने साधनको तीव्र उत्पादन गर्ने अनि बिरामीको लागि अस्पतालको विकास गर्ने, डाक्टरको उत्पादन गर्ने, भौतिक निर्माणको विकास गर्ते तत्पश्चात् डाक्टर उत्पादन गर्ने शिक्षकको विकास गर्ने प्रणालीको चर्चा गर्ने तथापि यस बिचमा जनअवरोध कमीको मौका पारेर सडक पूर्वाधारको विकास, ऊर्जा क्षेत्रको उल्लेख्य विकास र सञ्चार क्षेत्रमा समेत विकास भएकै छ ।
• सुविधाका लागि सहर केन्द्रीकृत भएको जनसङ्ख्या सहर र ग्रामीण क्षेत्रमा पुनः वितरण भएको छ ।

म:- धन्यवाद छ, यति सकारात्मक दृश्यहरू देखाउनु भएकोमा । त्यसो भए अब समाधानको बाटो पनि तपाई नै देखाई दिनुस्, सरकार र नागरिकको भूमिका के ?

कोरोना:- सरकारसँग अधिक अपेक्षा गर्ने अवस्था छैन । जहिले श्रावण र भदौ तिर तराईमा बाढी र पहाड तथा हिमालमा पहिरो आउँछ भन्ने थाहा हुदाँहुदैँ प्रभावकारी व्यवस्थापन गर्न सकेको छैन । म त झन् अचानक आएको अतिथि हुँ । तैपनि तत्कालमा सरकारले:-
• अवस्था, परिवेशको मूल्याङ्कन गरी बन्दाबन्दी र स्वास्थ्य प्रोटोकलको व्यवस्थापन गर्ने ।
• फ्रन्टलाईनमा बसेर कार्य गर्ने कर्मचारीको सुरक्षा र मनोबल उच्च पार्ने व्यवस्था गर्ने ।
• उत्पादनका आधारमा कृषि क्षेत्रको वर्गीकरण गरी पकेट तथा एकीकृत रूपमा कृषि प्रणालीको प्रारम्भ गर्ने ।
• हाल न्यूनतम परिपूर्तिको अवस्था भएकोले ५० जनाले कार्य गर्ने ठाउँमा २५ जनाबाट कार्य गर्ने र उत्पादन जारी राख्न तथा प्रविधिको विस्तार गर्न निजी क्षेत्रसँग हातेमालो गर्ने ।
• सबै मजदुरहरूलाई राहत प्याकेज र सार्वजनिक यातायातमा कालोबजारी र अधिक मूल्य उठाउने कार्य बन्द गरी कोभिड-१९ को मापदण्ड अनुसार सञ्चालन गरियो भने मानव जीवन र अर्थतन्त्र बिस्तारै सामान्य तर्फ अग्रसर हुनेछ । यस अलावा नागरिकले:-
• सरकारले जारी गरेको स्वास्थ्य प्रोटोकलको पालना गर्ने, जोखिम व्यवस्थापन कार्यमा सरकारलाई सहयोग गर्ने, नसके हस्तक्षेप नगर्ने ।
• भौतिक दुरीका साथ अत्यावश्यक कार्य सम्पादन गर्ने र स्वतःस्फूर्त रूपमा जागरूक र कर्तव्यपालक नागरिकको व्यवहार प्रदर्शन गर्ने ।

अन्त्यमा,
हामी मानव पर्यावरणीय सञ्जालका अन्तर सम्बन्धित र अन्तर निर्भर सदस्य हौँ । प्रकृति, वनस्पति र गैरमानव जीवको भलोमा हाम्रो भलो छ । जब मानव सभ्यताले प्रकृति, जीवन र समाजलाई यान्त्रिक तथा भौतिकवादी दृष्टिले हेर्न थाल्यो, भौतिक सुखमा आधारित सामाजिक मूल्य अङ्गीकार गर्दा यस्तो सङ्कट सुरु भयो । यो कुनै प्राकृतिक विपद् नभई मानवीय सिर्जित सङ्कट हो भन्ने साझा बुझाई बनाई समाधान खोज्यो भने दिगो समाधान सम्भव छ ।तसर्थ, हाललाई पोजेटिभ कोरोना होस् तर कोरोना पोजेटिभ नहोस् ।

Tags :
प्रतिक्रिया दिनुहोस