अहङ्कार व्यवस्थापन « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

अहङ्कार व्यवस्थापन


६ भाद्र २०७७, शनिबार


मानव जातिको इतिहासमा धेरै पटक युद्ध एवं द्धन्द भएका छन् । पहिलो विश्वयुद्ध भयो, केही वर्षपछि पुन: दोस्रो विश्वयुद्ध भयो । त्यसै गरी अमेरिका-भियतनाम युद्ध, भारत-चीन बिच  युद्ध, भारत –पाकिस्तान बिच युद्ध भयो साथै यस प्रकारका युद्धहरू धेरै भइसके र आजसम्म पनि मार्ने मर्ने क्रम चलिरहेको छ । आज पनि विश्वमा एक अर्को देश बिच द्धन्द चलिरहेको छ । राष्ट्रिय स्तरमा नै युद्ध, झगडा, कलह छ । प्रत्येक समाज एवं समुदायमा झगडा छ, एकले अर्कोलाई सताएको छ। मानवको घरघरमा झगडा छ, परिवार-परिवारमा द्वन्द्व छ, व्यक्ति -व्यक्ति बीच लडाई झगडा छ, स्वयम व्यक्ति आफैमासमेत बेचैनी छ ।

समाजमा हत्या, हिंसा, बलात्कार, चोरी डकैतीजस्ता निकृष्ट अपराधहरू दिनदिनै बढ्दो रूपमा छ। समाजमा असमानता बढेको छ, न्याय हराउन पुगेको छ। हुनेले नहुनेलाई हेप्ने,शोषण गर्ने, दमन गर्ने तथा  धन, पद, प्रतिष्ठाको रवाफ देखाउने क्रम बढ्दो छ । पद, पैसा, शक्ति आर्जनलाई नै सफलता मान्ने वर्गको जमात बढ्दो छ । प्रेम, करुणा, दया, समन्याय, समभाव, समान व्यवहार जस्ता शब्दको भाव हराएको छ। मानव जातिको उद्देश्य नै युद्ध, झगडा, कलह, हिंसा वा आपराधिक कार्य गर्नु नै हो की जस्तो देखिएको छ । यस्तो किन हुन्छ भन्दा जब व्यक्तिमा अहङ्कार बढ्दै जान्छ तब अनेक विकृति एवं समस्याहरू देखा पर्न थाल्छ।

धार्मिक मान्यताअनुसार पनि त्रेता युगमा भएको रामायण युद्ध रावणको अहङ्कारले गर्दा भयो । त्यसै गरी द्वापर युगमा भएको महाभारत युद्ध पनि दुर्योधनको अहङ्कारको कारण हुन पुगेको थियो । हामी मनुष्य जागरूक, प्रेमपूर्ण, करुणावान् र उदारह्दयपूर्ण हुनुपर्ने थियो तर त्यसको विपरीत हामी भित्र ईर्ष्या, द्वेष, क्रोध, हिंसा, घृणा, वैमनस्यता, अस्वस्थ्य प्रतिस्पर्धाको भावना, दोश्रोसित तुलना जस्ता नकारात्मक भाव मात्र उब्जन पुगेको छ। यस्ता कर्मले गर्दा मानव नाम मात्रको मानव जस्तो भएको छ, देखावटीरुपमा मात्र सभ्य र सुसंस्कृत देखिएको छ तर मानवभित्र जङ्गली पशुवत व्यवहार सुरक्षित रहेको पाइन्छ । गौतम बुद्ध भन्नुहुन्छ “मनुष्यको जन्म पाउनु दुर्लभ छ, फेरी मनुष्य जीवित रहनु दुर्लभ छ, बुद्धहरूको उत्पन्न हुनु अझ दुर्लभ छ । धेरै मानिसहरूले मनुष्यको जन्म त पाएका छन् तर अनुहारबाट मात्र मनुष्य छन्, खासमा मनुष्य छैनन्, पाशविक आकाङ्क्षाहरू भरिएका छन् । थोरै मनुष्यको रस आयो भने पनि उनीहरूमा ठुलो अहङ्कार आउँछ, आफुलाई अर्को सम्झन्छन्, कोही ज्ञानी सम्झन्छन्, कोही त्यागी भन्छन्, कोही भन्छन् मैले यती गरे, यो गरे सवलाई अहङ्कारले समात्छ” ।

अहङ्कार भनेको अहम् हो । मै हुं भन्ने भाव, घमन्ड र अभिमान नै अहङ्कार हो । आफुलाई सर्वेसर्वा सम्झने क्रिया, भाव, गुण र मपाईत्व भावलाई अहङ्कार भनिन्छ । अहङ्कार भनेको आफू अरू भन्दा श्रेष्ठ हु भन्ने गर्वको भाव हो । इगोले आफ्नो मात्र मान सम्मान, सुख सुविधा र प्रगतिमा आफुलाई केन्द्रित राख्छ । प्रत्येक व्यक्तिमा चरित्र, धन तथा भोग, शक्ति, पद, ज्ञान तथा बुद्धि , यशसमेतका केन्द्रित अहङ्कारहरू हुन्छन् । अहङ्कारको रस लंडाई, झगडा, द्धन्द क्रोध, काम, लोभ, मोह, द्धैष, ईर्ष्या र वासना गर्नमा हुन्छ। व्यक्तिभित्र जबतक अहङ्कारको तृप्ति रहन्छ तबतक दोस्रोको खण्डन गर्नै पर्छ, अहङ्कारको बाटो आफूलाई ठुलो र अर्कोलाई सानो देख्ने हो । मनोविज्ञान अनुसार अहङ्कार चौध प्रकारका हुन्छन् र ती अहङ्काररूपी भूतलाई सात जोडीमा बाँड्न सकिन्छ । प्रत्येक व्यक्तिमा कुनै न कुनै एक प्रकारको भूत हाबी भएको हुन्छ । जस्तै म सही छु-तिमी गलत छौँ, म अमिर हु-तिमी बेइमान हौ, म शक्तिशाली छु-तिमी हाबी नहोऊ, म सबै जान्ने छु-तिमी केही जान्दैनौ, म सल्लाह दिन्छु-तिमीले सल्लाह दिनु पर्दैन, म महान् छुं-तिमी घटिया छौँ जस्ता अहङ्कारका भूतहरू हुन्छन् । ती अहङ्काररूपी भूत जब व्यक्तिउपर हाबी हुन्छन् तब व्यक्तिको बुद्धि, विवेक, चेतना मर्न जान्छ र व्यक्तिले वेहोसी एवं नसाको तालमा कार्य गर्छ साथै पछि होसमा आउँदा पश्चात्ताप गर्नुपर्ने अवस्था हुन्छ।

जसरी महाभारतको युद्धमा अर्जुनले हानेको बाणको तीर र गुरु द्रोणले हानेको बाणको तीर दुवैतर्फबाट आउँदा टकराब भएर ज्वाला बनेको हुन्छ त्यसरी नै एकातर्फ एक जनाको अहङ्कार रुपी भूत म सही छु भन्यो भने अर्को तर्फ उल्टो तिमी बेठिक छौ भन्ने अर्काको भूत आउँछ तब दुवै बिच कलह, झगडा, युद्ध सुरु हुन्छ । परिग्रह चित्त भएका व्यक्तिहरू जस्तै, अस्वस्थ्य प्रतिस्पर्धा गर्ने तथा कालावजारी गर्ने व्यापारी, भ्रष्ट पदाधिकारी र बिचौलियाहरू समेतका व्यक्तिहरूमा जसरी पनि कमाउनु पर्छ र अमीर भई धनमार्फत शक्ति आर्जन गर्नुपर्छ भन्ने भूत हाबी हुन्छ अर्कोतर्फ राजनीतिक दलहरू र तिनका भातृसंगठनहरु पत्रकारहरू र यस्तै अन्य व्यक्तिहरूमा  तिमीहरू बेइमान हौ  भन्ने भूत हाबी हुन्छ जसले गर्दा चन्दा माग्ने, बार्गेनिङ गर्ने जस्ता कार्य हुन्छन् । त्यसै गरी नेतृत्वकर्ता एवं मालिकमा अरुलाई डोमिनेशन गर्ने, होच्याउने र अरूमाथि शासन गर्ने भूत हाबी हुन्छ भने अर्कोतर्फ सहयोगीहरूमा डोमिनेट हुन तयार नहुने, होच्चिन नखोज्ने एवं शासित हुन नचाहने भूत हुन्छ तब त्यहाँ द्धन्द एवं झगडा सुरु हुन्छ ।

अहङ्कार र मनको सम्बन्ध :
गौतम बुद्ध भन्नुहुन्छ “जबतक मन हुन्छ तबतक रोग हुन्छ । शरीर, मन र अहङ्कारको जीवन जीवन होइन, यी तीनबाट मुक्त भएपछि शून्यको र शान्तिको जीवनमा प्रवेश गरी निर्वाण प्राप्त हुन्छ” । अहङ्कार मनको इन्धन हो, मन समस्या हो, अशान्ति हो । मनबाट अहङ्कार जन्मछ, अहङ्कार मनको पहिलो सन्तान हो । अहङ्कारले आफूपछि क्रोध, काम, लोभ, मोह, द्धैष, ईर्ष्या बोकेको हुन्छ । मनले चल्नेवाला व्यक्ति अहङ्कारी हुन्छ, मन सधैँ वासना र अहङ्कारको साथ चल्छ । अहङ्कारी व्यक्ति मनलाई मालिक बनाउँछ, मनको मालिक हुन सक्दैन तर निर्दोष र सरल व्यक्ति मनको मालिक हुन्छ । जब मन मालिक बन्दैन तब निर्दोषता, सरलता पैदा हुन्छ, दम्भ, लोभ र क्रोध मेटिन्छ एवं शान्ति र आनन्द मिल्छ।

यस जगतमा मानिसमा दुई प्रकारका भ्रम छन् एक पदार्थको र अर्को म(इगो, अहङ्कार)को भ्रम । अहङ्कारले चौबीसै घण्टा म, मेरो, मलाई भन्छ निद्रामा समेत म सम्झन्छ । अहङ्कारी व्यक्ति निदाउन सक्दैन । जुन मानिसको म, मेरो, मलाई, मैले धेरै मजबुत हुन्छ त्यसको अरूसँग संयुक्त हुन सक्ने सम्भावना कम हुन्छ किनकि म पर्खाल हो । जबसम्म म रहन्छ तबसम्म अर्को भन्ने भाव नष्ट हुँदैन । अहङ्कार एउटा प्रयोजन हो, जसले धन, शक्ति र पद माग्छ । अहङ्कार पाएर पनि दुखी हुन्छ । भनिन्छ मानिसको घर जति ठुलो हुँदै जान्छ मन त्यति सानो हुँदै जान्छ । अहङ्कारले त्यही माग्छ जहाँ केही पाउने आशा हुन्छ । अहङ्कार त्यहाँ जाँदैन, जहाँ उसले केही पनि पाउँदैन । हामी म लाई केन्द्र राखेर जीवन चलाई राखेका छौ । हाम्रो दृष्टि अहम् केन्द्रित छ तसर्थ हामीलाई अहङ्कारको पर्दाले घरेको छ। भनिन्छ अहङ्कारभन्दा ठुलो अरू पाप छैन बाँकी सारा पाप अहङ्कारबाटै उत्पन्न हुन्छन् ।

अहङ्कारका दूर्गुणहरु:
सन्त कविर भन्नुहुन्छ”अहङ्कार, क्रोध र कल्पनाबाट संसारका मानिसले धेरै धोका खान्छन्, जहाँ अहङ्कार हुन्छ त्यहाँ अनेक विपत्तिहरू आई लाग्छन्, ज्ञानलाई अहङ्कारले नष्ट गर्छ । काम, क्रोध, मोह, अभिमान, अहङ्कार जस्ता दुर्गणहरु जबसम्म हृदयमा निवास रहन्छन् तबसम्म पण्डित र मूर्ख दुवै एक समान हुन्छ”। दोस्रोको नजरमा अहङ्कारी व्यक्तिमा देहायबमोजिमका दुर्गुणहरू रहेका देखिन्छन् जस्तै, धोकेबाज, निन्दक, बेइमान, लोभी, शोषक, भोगी, स्वार्थी, ईर्ष्यालु, कन्जुस, चोर, डाँकु, तानासाह, गुन्डा, नेतागिरी, दादागिरी, चम्चा (चाकडी) द्वेषयुक्त, आतङ्कवादी, मोहग्रस्त, सन्की, दम्भी, कठोर दिल, निर्मोही, मूर्ख, बकवासी, रुढीवादी, कटाक्षी, जिद्दी, अवज्ञाकारी, धूर्त, पाखण्डी, चलाख, यशाकांक्षी, निकृष्ट, पापी, तुच्छ, दुस्साहसी जस्ता दुर्गुणहरू रहेका हुन्छन् ।

अहङ्कारी व्यक्तिमा भय हुन्छ । जब भय हुन्छ तब उ आक्रामक र हिंसक बन्न पुग्छ  तर उ  अरुलाई निर्भय भएको देखाउन खोज्छ । भनिन्छ यस संसारमा भयभीत मानिस पदको खोजी गर्छन् किनकि पदले सुरक्षा दिन्छ । निर्भयता दिन्छ । हिटलरलाई हामीले शक्तिशाली सम्झन्छौ तर उ यति भयवित थिए की भयले गर्दा विवाहसमेत गरेनन्, उनले आफ्नो काँधमा हातराख्‍न कसैलाई दिदैनथिए । विवाह गर्दा श्रीमतीले काँधमा हात राख्न सक्छिन् भनी जीवनभर विवाह नै गरेनन् । मर्नुभन्दा २ घण्टा अगाडी मात्र विवाह गरे।

यस दुनियाँमा जुन ठुला मानिसहरू भनिएका छन्, उनीहरूभित्र ठुलो भय रहेको हुन्छ तर भय छैन भन्ने देखाउन चाहन्छन् । उनीहरू ठुलो पदको खोजमा,  धेरै धनको लोभमा, यशको खोजमा लागिरहेका हुन्छन्। उनीहरू सुरक्षित रहन चाहन्छन् की भोलि रोग, गरिबी, मृत्यु जेसुकै आओस् कुनै डर छैन। भित्रको भयको कारण सुरक्षाको सबै उपाय अपनाउँछन् । धनवान्, पदवान् मानिसहरू जति अहङ्कारी देखिन्छन् त्यति अहङ्कारी सामान्य मानिस देखिँदैन र हुँदैन । धन र पद भएका मानिसहरूमा क्रोध र अहङ्कार बढी हुन्छ । उनीहरूमा यती अहङ्कार हुन्छ की दुईजना जब एक अर्कासँग भेट भए भने पनि पहिला कसले कसलाई नमस्कार गर्ने भन्ने अहंम हुन्छ । अहङ्कारले समर्पणमा वाधा दिन्छ । कोही पनि अहङ्कारले मुक्त नभई समर्पण गर्न सक्दैन।

मेरोपन अर्थात् ममत्वको भाव नै हिंसा भएकोले समग्र हिंसा आफ्नो र पराईको बिचमा तानिएको सीमा रेखाबाट हुन्छ । कुनै पनि म, मेरोको भावना नै मोहको निस्सा हो । क्रोधबाट मोह उत्पन्न हुन्छ, मोहबाट स्मरण शक्ति भ्रमित हुन्छ, स्मरण शक्ति भ्रमित हुनाले मानिस पछारिन्छ । अहङ्कारी व्यक्तिको भाव, विचार, वाणी र उसले गर्ने कार्यमा असङ्गति हुन्छ । जब मानिस अहङ्कारले भरिन्छ तब उसले प्रकृतिसँग समेत शत्रुता राख्छ ।

अहङ्कारबाट मुक्त हुने उपाय :
भनिन्छ ‘व्यक्तिले दुईप्रकारको यात्रा गर्न सक्छ । एक शक्तिको र अर्को शान्तिको । शक्तिको यात्रा अहङ्कारको यात्रा हो । शक्तिले सत्य जान्दैन।अहङ्कारको अनुपस्थितिमा आनन्द प्राप्त हुन्छ ।’ अहङ्कारको पूर्ण अन्त भएमा विनम्रताको आगमन हुन्छ ।

सर्वप्रथम हामीले आफूभित्र कुन प्रकारको अहङ्कारको भूत हाबी छ त्यसप्रति सजग हुनु जरुरी छ । अहङ्कारका विभिन्न भूतप्रति हामी सजग हुन सकेमा अहङ्कार निष्क्रिय हुन्छ र हृदय प्रेमले भरिन्छ । अक्सर हामी आफ्नो अहङ्कारको भूतको पुस्ट्याइँ गर्न कोसिस गर्छौ, तर्क वितर्क गर्छौ, आफ्नो भूतलाई तर्कद्वारा प्रमाणित गर्न खोज्छौ तर यस्तो कार्य गर्दा झन् अर्को अहङ्कारको भूत थप हुन्छ । बुद्ध भन्नुहुन्छ “अहङ्कारका भूत एक दोस्रो प्रति लडी लडी शान्त हुंदैनन । उसको समाप्त गर्न होस तथा चेतना चाहिन्छ । सम्यक् जागृति, सम्यक् स्मृति चाहिन्छ ।” सर्वप्रथम आफ्नो अहङ्कार आफै थाहा पाउने चेष्टा गर्नुपर्छ । जस्तै ,चरित्र केन्द्रित अहङ्कार भएको व्यक्तिले आफ्नो भित्री अपराध बोधमा म खराब हुँ भन्ने बोध एवं स्मृति भएमा पश्चात्ताप गर्छ र अहङ्कार हराउँछ ।

त्यसै गरी धन तथा भोग केन्द्रित अहङ्कार भएको व्यक्तिले म लोभी हु, वासनायुक्त हु भन्ने बोध भएमा उसले दान गर्ने प्रयास गर्दछ । साथै शक्ति, पद र बलको अहङ्कार भएको व्यक्तिलाई सो आफ्नो अपराधहरूको भित्री बोध “म अरुलाई पीडा दिइरहेको छु” भन्ने जब बोध हुन्छ उसले आत्म पीडा महसुस गर्दछ । भाव तथा प्रेम केन्द्रित अहङ्कारको बोध “म मोह ग्रस्त हुँ” भन्ने भएमा उसले पलायन हुने प्रयास गर्दछ । वुद्धि एवं विचारको अहङ्कार भएको व्यक्तिलाई “म चञ्चल, अस्थिर हुँ भन्ने बोध भएमा उसले आफ्नो मनसँग शत्रुता गर्दछ । यसर्थ अहङ्कारको बोध भएमा अहङ्कार हाबी हुन नदिने अन्य कार्य गरिन्छ र ईगो साम्य हुन्छ ।

आध्यात्मिक मान्यताअनुसार  मानिसभित्र क्रोधका चार तल एवं पत्र हुन्छन् । सबभन्दा भित्री पत्र भाव हो । त्यसपछि विचारको तह हो। तत्पश्चात् वाणीको तल एवं पत्र र सबभन्दा बाहिरको तह कर्मको हुन्छ । क्रमशः भाव, विचार, वाणी र कर्मका तल क्रोधका हुन्छन् । जब हामी हिंसाको रूपको कार्य गर्छौ त्यो क्रोधको कर्म बन्छ । विचारमै हामी सजग भयो भने त्यही रोकिन्छ र क्रोधले बिदा लिन्छ । क्रोध अचेतन मनबाट आउँछ । चेतन मनबाट होइन तसर्थ अचेतन मनलाई जगाउनु पर्छ । प्रकाश पुर्‍याउनु पर्छ । निरीक्षण गर्नुपर्छ। वृत्ति जोहाबाट उठ्छ त्यो थाहा पाउनु पर्छ । चित्तको अनुगमन गर्नुपर्छ ।

मान्छेलाई दमन सजिलो छ । सरल छ तर परिवर्तन वा रूपान्तरण कठिन छ । रजनिश ओशो भन्नु हुन्छ “जहाँ अहङ्कार हट्छ त्यहाँ जीवनमा फूल फूल्न थाल्छ, जहाँ झुक्ने अवसर आउँछ त्यहाँ झुक्नु । जहाँ झुक्नको लागि परिस्थिति आयो त्यसै गरी अवसर सम्झनु, यसरी झुकिरह्यो भने अहङ्कार काटिँदै जाने छ । अहङ्कार ढुङ्गाको चट्टान हो समय लाग्छ काटिनमा ।”

अतः अहङ्कार व्यक्ति आफैले निर्मित गरेको धारणा एवं भूत र मानिसको आफ्नो खोजी हो । अहङ्कार मनबाट चुनिएका वस्तुहरूको राशीभूत भएकोले जब मनले चुन्दैन तब त्यहाँ जम्मा पनि हुँदैन र त्यस व्यक्तिमा अहङ्कार पनि हुँदैन । अहङ्कारलाई  निष्क्रिय पार्न प्रेम, मैत्री र करुणा बढाउनु पर्छ । मैत्री र करुणामा म र मेरोको भेद हुँदैन । मैत्रीले दोश्रोलाई हर्षित गर्छ र करुणाले दोस्रोको दुखलाई हटाउन सक्छ । प्रत्येक व्यक्तिले आफूभित्रको अहङ्कारलाई निरीक्षण गर्दै चेतनाको दियो जगाउने प्रयास गर्नु आवश्यक पर्छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस