मकै महात्म्य « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

मकै महात्म्य


१० श्रावण २०७७, शनिबार


साइबर स्पेस

अहिले बाहिरी शहरका वचेखुचेका सुर्काहरुमा
मकैको बोट र जुँगासहित लागेका घुंगा देख्दा
गाउँले मान्छेको पाखे मन विगतमा जान्छ
गाउँका बारीका पाटाहरूमा पालैपालो हुत्तिन्छ

सम्झनाका तरेलीहरूमा स्मरणरूपी डोरीले तानेर
हाम्रा आँप मुनी हलिदाईले एक जोडी गोरुको सहारामा जोत्दै गरेको
अनि पछाडिपछाडि जाँगे लगाएको “म” झोलाबाट
मकैको बीउ झिकेर हलोले बनाएको खोपिल्टोमा
एक पाइलाको अन्तरमा मकै छर्दै गरेको सम्झिन्छु

मकै छरिसकेपछि दाईभाउजुसँग मिलेर कुराकानी खनेको
मकै छर्नुअघि बारीका ठुला ढुङ्गा हटाएको झारपातको “भुर्कुटी” बालेको
मल बोकेर बारी भरी समानुपातिकरुपमा थुप्रा लाको अनि छरेको
मकैको वोटहरुको बिचबिचमा कोदो गहत रोपेको
कताकति वोडी भेँडरी हुर्केर तरकारी बनाउन टिपेको
मकैको घुँवा भाँचेर डोका डोका घरमा ल्याएको
राती रातीसम्म बसेर मकैको झुत्ती अनि शूली बनाएको
मकै नछिप्पिँदै खेतबारीबाट मकै ल्याएर भगवानलाई समेत चढाएर
मकै पोली त्यसैले पेट भरेको अनि त्यहीताका दशहराको पूजा परेको
यी यादहरूको शृङ्खलासँगै फेरी वर्तमानमा फर्केर गम्भीर भएँ
भाते संस्कृतिको सिकार भएको मकैको आटो अनि ढिँडो खाने चलन
पसलमा पाइने च्याँख्ला पकाउँदा खानेहरूको अल्पमत छ
भुटेको मकैको प्याकेट ल्याएर पनि मकैसँगको नाता कायम छ

अलि अघि गाउँबाट साहिँलो दाइले मकै जोगाउन बाँदर कुरेको भन्दा
बाँदर धपाको, बाँदर मारेर खन्युको रुखमा झुण्डाको दृश्यहरू सम्झिएँ
ठूल्दाईले अस्ति मात्र मकै भाँच्ने हो सके हरिया मकै खान आइज भन्दा
परिश्रम, बाँदरसँगको पैठेजोरी सँगै यति भन्नु नै दाजुको महानता सम्झेँ
मैले भने “हुन्छ दाइ मिल्यो भने आउँछु
केही कागतीका बेर्ना पनि लगाउनु छ ।”

फेरि सम्झेँ “मकै” त झन् म र दाई भन्दा पनि कति जेठो छ ।

Tags :
प्रतिक्रिया दिनुहोस