जति जति म गहिराइबाट नियालेर हेर्छु,
त्यति नै गहिरो लाग्छ तिम्रो प्रेम ।
म जति जति उचाइ नापेर हेर्छु,
त्यति नै उच्च पाउँछु तिम्रो प्रेम ।
स्वार्थ र झुटको लेपन दलेको आभामा होइन,
निर्मम, लज्जास्पद सज्जाभन्दा धेरै पर,
आँखा चिम्लेरै विश्वास गरिदिऊ जस्तो,
हिउँ जस्तै कञ्चन अनि स्वच्छ तिम्रो प्रेम ।
म, जब हृदयले होइन मस्तिष्कले हेर्छु,
मायाले होइन भावशुन्यतामै पुनः नियाल्छु,
लाग्छ, फूल जस्तै कोमल अति सुन्दर,
साँच्चै नै शीतल तिम्रो प्रेम ।
तिमीलाई फुर्काउने मेरो इरादा नठान्नु है,
फूल हौ तिमी, फूलसरि हाँसी राख्नु है ।
भूलमा पनि कसैलाई नदुखाउनु है,
पहराको सुनाखरी बनेर भीरमा र पिरमा पनि,
उल्लास भरी पिरती सधैँ साँची राख्नु है !