ग्रामीण विकासका मुख्य मुद्दा « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

ग्रामीण विकासका मुख्य मुद्दा


२९ असार २०७७, सोमबार


भारतका एघारौँ राष्ट्रपति तथा विख्यात वैज्ञानिक अब्दुल कलामले आफ्नो पुस्तक टार्गेट थ्री बिलियनमा ग्रामीण विकासका लागि पुराको अवधारणा अगाडि सारे । पुरा अर्थात् ‘प्रोभिजन अफ अर्बन एमेनिटिज टु रुरल एरियज’ । उनले ग्रामीण क्षेत्रलाई आर्थिक रूपमा सम्पन्न बनाउन र अवसरहरू सिर्जना गर्न ग्रामीण परिवेश अनुसार सहरी सुविधाहरू विस्तार गरिनुपर्दछ भन्ने मान्यताको वकालत गरेँ । उनको आशय थियो ग्रामीण क्षेत्रको अन्धाधुन्ध सहरीकरण नगरी वातावरणीय सन्तुलनलाई ध्यानमा राखी आवश्यक सहरी पूर्वाधारहरू बिस्तार गर्नुपर्दछ । विभिन्न परिमार्जन र परिष्करण गर्दै हालसम्म यो योजना भारतका ग्रामीण क्षेत्रमा कार्यान्वयनमा रहेको छ ।

नेपालको सन्दर्भमा पनि ‘पुरा’ अवधारणाको खाँचो छ । नेपाल गाउँ नै गाउँको बाहुल्यता रहेको क्षेत्र हो । पछिल्लो समयमा ग्रामीण क्षेत्र देखि सहर केन्द्रित बसाइसराइ उच्च छ । अर्को तर्फ ग्रामीण क्षेत्रमा कुनै अध्ययन र योजनाबिनै मनमौजी डोजरे विकास बढेको छ । एकातिर जथाभाबी सहरी संरचनाको निर्माणले हाम्रा सहरहरू ‘सम्पन्न बस्ने सुकुम्वासी बस्ती’ मा रूपान्तरण भएका छन् भने अर्कोतर्फ अन्धाधुन्ध चलेको विकास कार्यले गाउँबस्तीमा वातावरणीय जोखिम र जनधनको क्षति बढेको छ ।

ग्रामीण क्षेत्रको प्रमुख समस्या सहर केन्द्रित बसाइसराइ बनेको छ । खेतीयोग्य भूमिहरू खण्डहर बनेका छन् । घरहरू रङ उडेर उजाड बनेका छन् । बस्तीहरू पातलिएको छ । एकाध घरहरू पनि वैदेशिक रोजगारले ‘युथलेस’ भएका छन्, ‘टुथलेस’ बाकि छन् । जहाँ पहिले जीवन चलायमान हुन्थ्यो, त्यहाँ अहिले घोर शून्यता व्याप्त छ । विद्यालयहरूमा विद्यार्थी सङ्ख्या ह्वात्तै घटेको छ । समग्रमा जन्मदरमा आएको सङ्कुचन र बसाइसराइमा भएको विस्तार सँगै गाउँले जीवन सुनसान छ ।

आखिर किन यस्तो हुदैछ ? सङ्घीय शासन व्यवस्था सँगै गठित स्थानीय सरकारहरूले किन यो ‘क्याराभान’ रोक्न सकिरहेका छैनन् ? किन गाउँघरले नै विदेशिएका युवाका सपना पुरा गर्न सकेनन् ? यी र यस्ता प्रश्नको चुरो कुरो पहिल्याउनु अत्यावश्यक छ ।

सर्वप्रथम किन सहर केन्द्रित बसाइसराइ बढेको छ भन्ने कुरा ठम्याउनु आवश्यक छ । पङ्क्तिकारले हालचालै बसाइँ सरेका २० परिवारसँग सोध्दा अधिकांशको जवाफ छ, गुणस्तरीय शिक्षा र स्वास्थ्य । देश शान्ति प्रक्रियामा गए पश्चात् अधिकांश युवाहरू रोजगारका लागि परदेश जाने क्रमले तीव्रता पायो । जसले गर्दा आम्दानी र आयस्तर बढ्यो । बढ्दो आयस्तर सँगै गुणस्तरीय शिक्षा र स्वास्थ्यको अपेक्षा स्वाभाविक रूपमा बढ्यो । ग्रामीण क्षेत्रमा सुविधाहरूको अभाव नै सहर केन्द्रित बसाइसराइको उत्तोलक बन्यो, जुन निरन्तर चलिरहेको छ ।

विकासको पुनर्परिभाषा
डोजरे विकासलाई मात्र सम्पन्नता मान्ने हाम्रो सोचले गुणस्तरीय शिक्षा र स्वास्थ्यलाई विकासको तल्लो प्राथमिकतामा राख्यो । डाँडाकाँडा भत्काएर टोल टोल र घरपिच्छे बाटो लैजानु नै विकास मान्ने संस्कृतिले हाम्रो समग्र विकास प्रक्रियालाई एकाङ्गि बनायो । त्यो सोच र संस्कृतिबाट घुम्टी नमारी बहुआयमिक र दिगो विकास हुन सक्दैन ।

जनताको नजिकको सरकार स्थानीय सरकार भएकाले स्थानीय तहको बजेटले सम्बोधन गर्नुपर्ने धेरै विषयहरू छन् । बजेटको आकार सानो तर धेरै क्षेत्रलाई समेट्नु पर्ने बाध्यताले सङ्घीय बजेट जस्तै केही सिग्नेचर प्रोजेक्ट ल्याउन कठिन छ । यद्यपि, बजेटको प्रमुख प्राथमिकता छुट्याई सो अनुसार विशेष व्यवस्था गर्न सकिन्छ ।

कोभिड १९ सँगै आएका समस्याहरू सम्हाल्न स्थानीय तहहरू संघर्षरत् छन् । थुप्रै चुनौतीहरू सँग जुध्नु पर्ने अवस्था आएको छ । स्थानीय विकासका लागि यस सङ्कटको घडीमा स्थानीय तहहरूले रोजगारी सिर्जना, गुणस्तरीय शिक्षा र स्वास्थ्यमा विशेष ध्यान दिनु वाञ्छनीय छ ।
उत्पादनमूलक रोजगारी सिर्जना

औद्योगिक क्षेत्रमा तत्कालै बृहत्तर विकास गरी ठुलो मात्रामा रोजगारी सिर्जना गर्न असम्भव रहेकाले कृषि क्षेत्र र यसको इकोसिस्टममा आधारित साना तथा मझौला उद्योगहरूको प्रवर्द्धन मार्फत रोजगारी सिर्जना गर्नु आवश्यक छ । कृषि क्षेत्रको आमूल रूपान्तरण मार्फत कृषिमा आधारित रोजगारी सिर्जना गर्ने प्रशस्त सम्भाव्यता रहेको छ । कृषिमा यान्त्रिकीकरण, आधुनिकीकरण र व्यवसायिकीकरणद्वारा कृषि प्रतिफल उच्च बनाउन सकेमा श्रमका लागि खाडी तथा भारतमा जाने क्रमलाई रोक्न सकिन्छ । त्यसका लागि कृषिमा आधारित सम्पूर्ण प्रणालीमा सुधार हुनु आवश्यक छ । उदाहरणमा लागि गहुँको उत्पादन र उत्पादकत्व अभिवृद्धि गरेर मात्र खास रोजगारी सिर्जना हुँदैन । गहुँमा आधारित साना तथा घरेलु उद्योगहरू प्रवर्द्धन गर्न सकियो भने मात्र रोजगारी सिर्जना हुने गर्दछ । गहुँको उत्पादनमा वृद्धि सँगै बे्रड, बिस्कुट, सातु, पिठो उद्योग, होटेल, कुटानी पिसानी मिलको प्रवर्द्धन गर्नु आवश्यक छ ।

स्थानीय स्तरमा सङ्घीय तथा प्रादेशिक अनुदानका साथै स्थानीय योजनाहरू सञ्चालनमा रहेका छन् । जनसहभागिता र जनश्रमको उपयोग मार्फत पारदर्शी, दिगो र सुशासनयुक्त बनाउने अभिप्रायका साथ उपभोक्ता समितिद्वारा सञ्चालित विकास आयोजनाहरूमा ठुला मेसिन तथा औजारहरूको प्रयोग बढेको छ । कोरोना कहरले सिर्जना हुने बेरोजगारी र गरिबी न्यूनीकरण गर्न यस्ता योजनाहरूमा मानव श्रमलाई प्राथमिकता दिनु पर्दछ । यसले रोजगारी मात्र सिर्जना नभई मूल्यमा विस्तार र फैलावटलाई सहज बनाउँछ । जसले गर्दा गरिबी निवारण एवं सामूहिक मानव जीवन स्तर उकास्न टेवा मिल्दछ । स्थानीय तहहरूको पहिलो प्राथमिकता नै स्थानीय उत्पादित वस्तु तथा सेवा र श्रमको उपयोगमा हुनु पर्दछ ।

शिक्षाको गुणस्तर अभिवृद्धि
नेपाली समाजमा पछिल्लो दशकमा शिक्षाको महत्त्वको बुझाइमा प्याराडाइम सिफ्ट भएको छ । विद्यालयमा लैङ्गिक समता दर बढेको छ । केही दशक अघि सामान्य लाग्ने छोरा र छोरीबिच शिक्षामा विभेद हाल ‘रेयर इन्सिडेन्ट’ बनेको छ । यद्यपि यही समयमा नै सामुदायिक विद्यालय प्रति जनविश्वास ओरालो लाग्यो । भने गाउँघरमा निजी विद्यालयहरू उर्वर बनेको छन् । तर विडम्बना त्यस्ता निजी विद्यालयहरूले पनि सहरिया निजी विद्यालयहरू प्रतिको मोह तोड्न सकेनन्, निरन्तर रह्यो बोर्डिङ स्कुल खोज्दै सहर पस्ने प्रवृत्ति ।

निजी विद्यालयको सम्बन्धमा राष्ट्रव्यापी रूपमा बेला बखत बहस चलेकै हुन्छ । एकाथरी लुट र सामन्तवादको प्रतीक ठान्छन् भने अर्को थरी शैक्षिक प्रणालीको त्राण र इँटा ठान्छन् । यसका सम्बन्धमा हामीसँग दुइटा मात्र विकल्प छ । कि त सामुदायिक विद्यालयको गुणस्तरमा छलाङ मारी निजी विद्यालय भन्दा ज्यादा अब्बलता पस्की विद्यार्थी आकर्षण बढाउने वा निजी विद्यालयहरूको मन्त्रिपरिषद् तोडी नियमन र निगरानीमा राखी सबै विद्यार्थीको पहुँच सुनिश्चित गर्ने ।

नेपालको संविधानले आधारभूत र माध्यमिक स्थानीय तहको अधिकार अन्तर्गत सूचीकृत गरेको छ । माध्यमिक तहसम्मको शिक्षाका लागि नै सहर केन्द्रित बसाइसराइ उच्च छ । विश्वविद्यालय स्तरीय खुद भर्नादर नै हाम्रो अत्यन्तै न्यून छ । आ.व. २०७५/७६ मा उच्च शिक्षामा कुल भर्नादर १२ प्रतिशत मात्र छ भने पन्धौं योजनाको दीर्घकालीन सोच अनुसार आव। २१००/०१ मा ४० प्रतिशत पुर्‍याउने लक्ष्य छ । यी तथ्याङ्क नियाल्दा गाउँघरबाट शिक्षाका लागि हुने मुख्य बसाइसराइ माध्यमिक तहसम्मका लागि हो ।

स्थानीय तहमा नै शिक्षाको गुणस्तर अभिवृद्धि गर्न सकियो भने ठुलो मात्रामा हुने बसाइसराइ रोक्न सकिन्छ । दुर्भाग्यवश स्थानीय सरकारको विकास सूचिमा शिक्षा क्षेत्र प्राथमिकतामा पर्न सकेको छैन । कहीँ कतै शिक्षाको गुणस्तर अभिवृद्धिको प्रयास भएता पनि ती केबल भौतिक संरचनामा केन्द्रित छन् । भवन बनाउने, चौर बिस्तार गर्ने वा । पठन संस्कृतिको अभिवृद्धि गर्ने, शिक्षक क्षमता अभिवृद्धि गर्ने, क्षमतावान् शिक्षकहरूलाई भित्र्याउने, प्राविधिक र व्यावसायिक शिक्षा सुचारु गर्ने जस्ता ‘सफ्टवेयर’मा ध्यानै गएन । शिक्षा क्षेत्रमा रहेको चरम राजनीतिलाई मलजल गरियो । परिणामतः शैक्षिक बेरोजगारको ताँती बढ्यो ।

ज्यान छ र सब छ
कुनै देश वा स्थानमा जन्मेकै आधारमा मानिसको आयु निर्धारण हुने परिस्थिति जति कारुणिक छ, त्यति नै वास्तविक छ । काठमडौं र कर्णालीको औसत आयुमा जुन भिन्नता छ, त्यसलाई नै आधार मान्दा पनि कर्णालीको मान्छे बाच्नकालागि नै काठमडौं बसाई सर्नु न कुनै अपराध हो न त अनुपयुक्त नै । स्वस्थ जीवनको अभिलाषा र प्राप्ति मानवको नैसर्गिक अधिकार हो । सामान्य हात फ्याक्चरदेखि सुत्केरी हुन सहर पस्नु पर्ने बाध्यताले सहर केन्द्रित बसाइसराइ गर्न मानिसहरू विवश छन् ।

गुणस्तरीय स्वास्थ्य सेवाको खोजीमा ठुलो जनसङ्ख्याको हिस्सा सहर पसेका छ । आधारभूत स्वास्थ्य सेवाकै अभावमा ज्यान जाने जोखिम अधिकांश गाउँघरमा यत्र तत्र सर्वत्र व्याप्त छ । सामान्य झाडापखाला देखि सुत्केरी महिलाको अत्यधिक रक्तस्रावले ज्यान गएका घटना नेपालीहरूका लागि नौलो विषय होइनन् । संविधानले स्थानीय तहलाई आधारभूत स्वास्थ्यको अधिकार दिएको छ । स्थानीय तहहरूले आफ्नो विकासको प्राथमिकताको सूचीमा गुणस्तरीय स्वास्थ्य सेवालाई ध्यान दिनु पर्दछ । जति व्यवस्थित उपचार प्रणालीको प्रबन्ध आवश्यक छ त्यति नै स्वास्थ्य सचेतना । सामान्य स्वास्थ्य चेतनाको अभावले गर्दा पनि स्वास्थ्य जोखिम बढेको छ ।

अबको बाटो
सर्वप्रथम स्थानीय तहहरूले विकासको परिभाषालाई जोडेर विकासको साँघुरो सोचबाट मुक्त गरी व्यापक र विस्तृत बनाउनु पर्दछ । चर्पी गए पश्चात् साबुन पानीले हात धुने बानी बसाल्नु पनि विकास वा विद्यार्थीहरूमा पुस्तकालय प्रेम जगाउनु पनि विकास मान्ने संस्कृतिको खाँचो छ । पर्यावरणीय संवेदनशीलता र भौगर्भिक अध्ययन अनुसन्धान सँगसँगै दिगो विकासको अपरिहार्यता छ । ग्रामीण क्षेत्रमा आवश्यकता र सान्दर्भिकताका आधारमा मात्र विकास गरियो भने त्यो विकास दिगो हुन्छ । ग्रामीण क्षेत्रमा व्यापक रोजगारी सिर्जनाका साथै शिक्षा र स्वास्थ्यमा गुणस्तरीयता कायम गर्न सकिया भने पुनः गाँउघरहरूलाई जीवन्त बनाउन सकिन्छ । अन्यथा टोले ठेकदारहरूको हातमा विकासको लगाम दिने हो भने त्यसको मूल्य पुस्तौँ पुस्ता चुकाउनु पर्नेछ ।

लेखक गलकोट नगर कार्यपालिकाको कार्यालयमा प्रशासकीय अधिकृत हुनुहुन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस