वातावरण संरक्षण कहाँबाट सुरु गर्ने ? « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

वातावरण संरक्षण कहाँबाट सुरु गर्ने ?


२५ असार २०७७, बिहिबार


नेपालको संघीय राजधानी काठमाडौँ उपत्यकामा छ जहाँ काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाहरू छन् । गाउँमा बस्नेहरूले राजधानीका सहरहरूमा बस्ने मानिसहरू शिक्षित र सभ्य हुन्छन्, नीति निर्माण गर्छन्, आफै कार्यान्वयन पनि गर्छन् भन्ने विश्वास गर्दछन् । यति बेला हामी नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालमा छौँ । सात प्रदेशका सात राजधानी पनि सहरमा नै स्थापना भएका छन् । स्थानीय तहलाई पनि स्थानीय सरकारको रूप दिइएको छ । खासगरि सङ्घीय र प्रादेशिक राजधानीमा नीति निर्माता र कानुन निर्माताको भिड नै छ । आज भोलि नेता र पत्रकार पनि प्रशस्तै छन् । यस्तो अवस्थामा के हाम्रा अगुवाहरूमा वातावरणीय सचेतना छ त ? हरेक वर्ष जुन ५ मा मनाइने विश्व वातावरण दिवस सन् २०२० सम्पन्न भएको छ र अव समीक्षा गर्नु आजको आवश्यकता हो ।

नेपालको संविधान २०७२ ले प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने मौलिक हकको व्यवस्था गरी यसको व्यवस्थापनलाई राज्यको उच्च प्राथमिकता राखेको अवस्था छ । तर हरेक राजधानी वा सहरी क्षेत्रमा कालो धुवाँ छोड्दै ट्रक र बस दौडिएकै छन् । महानगरपालिकमा नै धुलो र फोहरमैला यत्रतत्र देखिएको छ । तीव्र गतिका साथ चर्को ध्वनि सवारी साधन पनि यही सहरमा सञ्चालनमा आएका छन् । वि.स. २०७२ वैशाख देखि प्लास्टिक बन्देज भन्ने सूचना राजपत्रमा नै सीमित छ । अस्पतालजन्य फोहरको व्यवस्थापनको अनुगमनको प्रतिवेदनले के भन्छ ? कसलाई सोध्ने ? नेपालको सङ्घीय राजधानीको भित्री भागबाट बग्ने बागमती नदीको जल पशुपतिमा चढाउन नमिल्ने गरी प्रदूषित भएको धेरै वर्ष भैसकेको छ । विश्वविद्यालय र अनुसन्धान संस्थाहरूका विज्ञहरू पनि प्रतिवेदन प्रकाशन गर्ने बाहेक आफैँ घरबाट निस्कने फोहर नचिनेर कुहिने नकुहिने एकै झोलामा हालेर हतार हतार फोहरमैला लिन आउने ट्रकमा फालिरहेको देखिकै हो । बिचरा फोहर संकलनमा खटिएका भाइ बहिनीहरूको स्वस्थ्यमा के असर परेको छ स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले सोचेका छन् ? अझ कोरोना भाइरसको महामारीमा ज्यानको जोखिम मोलेर रोगबाट भन्दा पनि भोकको लागि सङ्कटपूर्ण जीवन बिताइरहेको छन् ।

मुख्य प्रश्न के हो भने फोहरमैला व्यवस्थापनको बारे कानुन निर्माण गर्ने महानुभावहरूले के वातावरण स्वच्छता कायम राख्न आफैन घर वा डेराबाट स्रोतमा नै फोहर कुहिने र नकुहिने गरी छुटाएर सङ्कलनकर्तालाई पठाएका छन् त ? कहिल्यै स्थानीय सरकारलाई यसबारे प्रश्न गरे त ? उच्च पदस्थहरू वर्षमा कति पटक विदेशको सयर गरेको सम्झना छैन होला, बेलायतमा यस्तो, अमेरिकामा उस्तो भनेर फर्केर आएपछि चकलेट वाडदै हिँडेको पाइन्छ । तर आफ्नो घर र टोलमा कस्तो छ ? ध्यान छैन । वातावरणसँग सम्बद्ध विभिन्न महासन्धि, अभिसन्धी तथा सम्झौताहरूमा भाग लिएको केका लागि हो ? प्रश्नहरूको पहाड बनिरहेका छन् ।

हरेक अंग्रजी वर्षको जुन ५ तारिकका दिन विश्व वातावरण दिवस संसारभर मनाइरहेको पाइन्छ । निकै तामझामका साथ मनाइएको र फेरी पनि यस्ता धेरै दिवस मनाउने तयारी मै छौँ । तर के हामीले समीक्षा गरेका छौँ, व्यक्तिगत रूपमा नीति र कानुन निर्माताले के गरेका छौँ, टोलमा के योगदान दिएका छौँ । के कालो सिसा भएका, आसेपासे पछुवासँग महँगा गाडिमा सवार हुदैंमा वातावरणीय नैतिकता छ भन्ने हुँदैन । किनकि संघीय र प्रदेश राजधानी वरपरका नदी र खोलामा जबसम्म सफा र स्वप्न पानी देखिँदैन तबसम्म नेताहरुकले राजनीतिका ठुला कुरा गर्नु बेकार हुन् । घर, कार्यालय र होटेल, अस्पतालहरूबाट निस्कने फोहर व्यवस्थापन, प्रदूषण नियन्त्रणका कुरा के संविधानमा मौलिक हकको महलमा स्वच्छ वातावरणको हक कायम गर्ने हरफ सीमित कहिले सम्म राख्ने हो ?

स्वच्छ र स्वस्थ वातावरण सहित दिगो विकास, समृद्धि र जनताको सुखमा योगदान हाम्रो सोच छदैछ । संघमा वातावरण संरक्षण परिषद् पनि छ । फोहरमैला व्यवस्थापनको सम्पूर्ण जिम्मा स्थानीय सरकार छ । काठमाडौँ महानगरपालिकाको वातावरण व्यवस्थापन विभागको परिसरमा उभिन नसक्ने गरी प्रदूषण छ । फोहर मैलाबाट मोहर भन्ने नाराले गिज्याइ रहेको छ । चरा चराचुरुङ्गी फोहर पानी खाएर मर्नु पर्ने अवस्था छ । किन मुलुकको राजधानीमा नै कमजोरी हुन्छ ? सहरमा राम्रो भएको पो गाउँमा पनि अनुसरण गर्न सकिन्छ । महानगरपालिका स्थापनाका सूचकहरू के के हुन् र वार्षिक क्यालिण्डरमा के के काम गर्न प्रस्ताव गरिन्छ ?

स्थानीय सरकार केवल दैनिक समस्या समाधानमा दिन काटिरहेका छन् । राजधानीका नदी र खोलामा प्रदूषणको रोकथाम र नियन्त्रणमा खास ध्यान छैन । प्रदूषण पीडित दिन प्रति बढिरहेका छन् तर प्रदूषकबाट क्षतिपूर्ति पाएको समाचार विरलै सुनिन्छ । स्रोतमा नै कुहिने र नकुहिने फोहर छुट्ट्याउने नियमावलीमा मात्रै सीमित छ । सहरी क्षेत्रमा हरियाली विकास र विस्तार गर्नु पर्ने खुला स्थानमा विभिन्न चाहानामा अतिक्रमण भइरहेका छन् तर चोसो छैन । वातावरण व्यवस्थापनका लागि आवश्यक क्षमता अभिवृद्धिका कार्यक्रमको जानकारी सहर बासीलाई त दिइँदैन । स्वच्छ वातावरण अभियान हात्ती आयो फुस्सा भएको छ ।

सरकारबाट तत्कालै प्रदूषकले तिर्नुपर्छ भन्ने संवैधानिक व्यवस्था लागु गरियोस् । सबै प्रतिवेदनहरूमा जनताको पहुँच बढाइयोस् । नमुनाको रूपमा सङ्घीय राजधानी र सात प्रदेश राजधानीहरूमा वायु गुणस्तर मापन केन्द्र स्थापना एवं सञ्चालन र प्रदूषण रोक्ने कार्य तत्काल होस् । तोकिएको मापदण्ड बाहिरका प्लास्टिकको झोलाको प्रयोगमा नियन्त्रण होस । सवारी साधनमा ग्रिन स्टिकरको व्यवस्थाको अनुगमन होस । सहरी नदीमा प्रदूषण नियन्त्रण र स्वच्छ पानी बहाव देख्न पाइयोस् । सार्वजनिक स्थानमा फोहरमैला फाल्न पूर्णरुपले प्रतिबन्ध लगाइ सिसिटिभिवाट अनुगमन होस र वडा कार्यालयबाट नियमन होस । फोहरमैला व्यवस्थापनलाई सरोकारवालाहरूको आय आर्जनसँग जोडी आधुनिक फोहर व्यवस्थापनका प्लान्ट स्थापना र सञ्चालन भएको जानकारी गराइयोस् । खुल्ला, खालि, पर्ति जग्गामा बहुउपयोगि,फल फल्ने, फूल फुल्ने र बास्ना आउने प्रजातिका रुखविरुवा वृक्षारोपण र उद्यान स्थापना सम्पन्न गरियोस् । हरेक सरकारी कर्मचारीहरूको प्रत्यक्ष संलग्नतामा टोल सरसफाइ गराइयोस् ।

कर्पोरेट सामाजिक तथा वातावरणीय उत्तरदायित्व अन्तरगत कर्पोरेट हाउसहरूलाई हरियाली सहर निर्माणका लागि स्थान तोकी जनताले थाहा पाउने गरी सूचना प्रवाह होस । सरसफाइ, फोहरमैला व्यवस्थापन तथा प्रदूषण नियन्त्रणको लागि जनचेतना बढाउन स्थानीय टोल सुधार समिति, इको क्लब, कलाकार, विद्यालयहरू र नागरिक समाज र समुदायसँग सहकार्यको तालिका बनाइ पत्रिकामा छापियोस् र परिचालन गरियोस् । नेपाल स्वच्छ वातावरण महाअभियानलाई संघ, प्रदेश र स्थानीय तहको भूमिका सहितको क्यालिण्डर दैनिक पत्रिकामा प्रकाशन होस । संघ र प्रदेश मन्त्रीहरू, सांसदहरू र मेयरहरू तथा अध्यक्षहरूको नेतृत्वमा निजहरूको कार्यालय र बसोबास गर्ने टोलमा वातावरण स्वच्छताको नमुना क्षेत्र वनाइयोस । नीति र काननू निर्माताहरूको नेतृत्वमा निर्माण भएका कानुन अनुसार टोल सफा र सहर स्वच्छ राख्न सकेमात्र सरकारको वातावरण प्रतिको नैतिक जिम्मेवारी बहन गरेको प्रमाणित हुनेछ ।

पौड्याल सिनामंगल नगरसेवा समाजका महासचिव हुनुहुन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस