निजामती विधेयक(कविता) « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

निजामती विधेयक(कविता)


२० असार २०७७, शनिबार


उनान्सय ओटा राम्रा
एउटा चाहिँ नराम्रो पर्‍यो भने
मान्छेको चरित्र होस वा ऐनका दफाहरू
त्यो मान्छे वा त्यो ऐनको मूल्य
सय हैन शून्य बराबर हुन्छ

जस्तो कि –
दश एघार वर्षे अनुभवको भारी बोकेका
शाखा अधिकृतले उपसचिवको परीक्षा पास गरेपछि
त्यो अनुभवको सर्टिफिकेटले सिँगान पुछ्नु पर्‍यो भने
दुर्गममा जोतिनेले वार्षिक ५ नम्बर पाउने

सुगममा घोप्टिनेले वार्षिक २ नम्बर पाउने
र बढुवाको लागि १० वर्षमा २० नम्बर मात्रै चाहिने भयो भने
सुब्बासापहरुले अधिकृतको परीक्षा दिनै नपाई
फाइल मात्रै समातेर हाकिमको ढोका कुरिरहनु पर्‍यो भने

एउटै आमाका सन्तानहरूलाई
उचाइ, उमेर र रङ हेरेर
मुलघरबाट पाखावारिमा जबरजस्ती भगाइन्छ भने
खोलापारि पुगेपछि फरक्क फर्केर
झोलुगें पुल चुँडाइन्छ

र त्यै खोलामा फालिन्छ भने
जति पेल्यो त्यति निस्कन्छ तेल भनेर तोरीझैँ
सरकारी सुविधाको नाममा पेलिरहिन्छ भने
त्यो ऐन होस वा ऐनको प्रत्यक्ष लाभग्राहीको मूल्य

सय होइन शून्य हुन्छ
मूल्य शून्य हुनु – उपलब्धि शून्य हुनु हो
उपलब्ध शून्य हुनु – काम शून्य हुनु हो
काम शून्य हुनु – कामदार कमजोर हुनु हो
कामदार कमजोर हुनु – काम गराउने कमजोर हुनु हो

महोदय !
मान्छेको चरित्र होस वा ऐनको दफाहरू
दुवैले प्रतिविम्वित गर्नुपर्छ मान्छे वा ऐनको मूल्य
सम्बोधन गर्नुपर्छ व्यवहारिकता
झल्काउनुपर्छ अस्तित्व र सहअस्तित्व
र उभिनुपर्छ आफ्नै धरातलमा ।

संविधान होस कि ऐन
नियमावली होस कि कार्यविधि
हिँड्ने र हिँडाउनेको बाटो स्पष्ट भएन भने
मौलिक हक र वृत्ति विकासको नाममा नयाँ बाटो खनिएन भने
असन्तुष्टिहरू त पोखिन्छ छताछुल्ल बाटोमै

चिप्लिन्छ नि पाइताला
लडिन्छ महोदय
गर्ल्याम्मै ढलिन्छ
र उठ्ने आधार भएन
कसरी पुगिन्छ गन्तव्यमा ?

प्रतिक्रिया दिनुहोस