ठिक गरेँ वा बेठिक गरेँ ? « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

ठिक गरेँ वा बेठिक गरेँ ?


२० असार २०७७, शनिबार


एका बिहानै
घामको झुल्को सँगै
जङ्गल छेउको खोरियामा
घाँस काट्दै गर्दा
पानी सिम सिम परिरहेथ्यो
मलाई भने हतार थियो
भारी पुर्‍याइ छिटो छिटो
पुगेर घरमा आटो पिठो
गाँस टिपेर फटाफट
सोझिन्थे पाइला स्कुल तिर
प्राय हुन्थ्यो ढिला ढिला ।

सोचमा डुबुल्की मार्दै
मनमा नाना, तर्कना गर्दै
घाँस काट्दै थिएँ
भारी पुग्नै आँटेको बेला
एक्कासि गर्ल्याम्म अठ्ठायो
थाहा छैन
पछाडि को आयो
मलाई त्यहीँ पल्टायो ।

चढ्यो म माथि
मेरो हात अठ्ठायो
मेरो खुट्टा अठ्ठायो
अनुनय विनय गरेँ
रोइकराई गरेँ
तर ऊ बज्र थियो
राक्षस, नर पिचास थियो
मेरो बिन्ती के सुन्थ्यो ?

म छटपटिएँ
प्रतिकार गरिरहेँ
झुरुम्म हातका चुरा फुटे
चिच्याउन खोजेँ जोडले
मुखमा मेरो रुमाल कोच्यो
मेरो गाला टोक्यो
मेरो छाती चिथोर्‍यो
शरीर थिचिरह्यो
उकुसमुकुस भयो
गला दबायो
सासै अड्के जस्तो
सारा संसार अँध्यारो भयो ।

मृत्यु समीपै आएसरि भो
चलमलाउन खोजेँ
उपाय चल्दै चलेन
कसो कसो
मेरो एउटा हात छुट्यो
उसको गुप्ताङ्ग भेटेँ
जोडले अठ्ठाएँ, निमोठिदिएँ
ऊ जुरुक्क उठ्यो
रन्थनिँदै कक्रक्क पर्‍यो ।

मेरो होसै हरायो
म पागल भएँ
दुर्गा सम्झेँ, काली सम्झेँ
महिषासुरको कहानी सम्झेँ
उछिट्टिएको हँसिया भेटेँ
उसै माथि प्रहार गरेँ
रगत भलभल उम्लिरह्यो
शरीर थर थर काँपी रह्यो
क्रन्दन उसको सुन्दा सम्म
अनगिन्ती मैले प्रहार गरेँ
मैले ठिक गरेँ
वा बेठिक गरेँ ?
हो, जज साहेब
मैले उसको हत्या गरेँ ।
…..अस्तु……

Tags :
प्रतिक्रिया दिनुहोस