तीन वर्ष तीन महिनालाई नियाल्दा « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

तीन वर्ष तीन महिनालाई नियाल्दा


१४ असार २०७७, आइतबार


समयको स्वभाव नै चलायमान हुनु हो । समयसँगै हामी के कति गतिशील भयौँ, परिवर्तनमैत्री भयौँ वा अझ भनौँ बदलिँदो परिस्थितिलाई के कसरी लियौँ र के कस्ता समस्यासँग पैठेजोरी खेल्नुपर्‍यो, पारिवारिक मात्र हैन व्यावसायिक जीवन र राष्ट्रसेवाका लागि के कति योगदान गर्‍यौँ भन्ने विषय समीक्षाका विषय हुन सक्छन् । समीक्षाबाट पाठ सिकियो भने अगाडि बढ्ने थप ऊर्जा प्राप्त हुन्छ ।

मैले निजामती सेवामा प्रवेश गर्नुअघि पुरै २ वर्ष निजी विद्यालयमा फुल टाइम विज्ञान शिक्षकको रूपमा काम गरेँ । २०५२ साउन १ बाट प्रारम्भ भएको सरकारी जागिरको अवधि अव केही दिनमै २५ वर्ष पूरा हुँदैछ । तर यस छोटो लेखमा उल्लेख गर्न खोजिएको ३ वर्ष ३ महिनाको सन्दर्भ भने २०७३ चैत्र १० देखि यताको अवधि हो । सो दिन सहसचिव पदको लिखित परीक्षाको नतिजा प्रकाशित भई उत्तीर्ण भएको समाचार आएको थियो । निजामती सेवामा प्रतिस्पर्धात्मक तवरले पुगिने माथिल्लो पद भनेको सहसचिव हो र यसका लागि आफूलाई काबिल साबित गरेर देखाएको एउटा सन्दर्भ र उत्तीर्ण भएपश्चात् कर्म क्षेत्रमा रहँदा निभाएको भूमिका र कामप्रति देखाएको समर्पणलाई इमानदारितापूर्वक पाठकहरूसमक्ष सेयर गर्नका लागि यो लेखको साहारा लिएको हुँ ।

तीन वर्ष तीन महिनाको प्रसङ्ग उठाएर त्यसअघिको अवधि कम अर्थपूर्ण थियो भन्न खोजेको कदापि होइन । त्यसअगाडिका २२ वर्षको पनि आफ्नै गतिशीलता र महत्त्व छ, समय मिल्दा सो अवधिका उकालीओरालीयुक्त बाँकीहरूलाई लेखमार्फत पस्कने नै छु । कमैलाई अवगत हुन्छ कि रोल्पा जिल्लाको विकट तालावाङको जीवनशैली देखि कैलालीका सुकुम्वासी बस्तीका स्वास्थ्य सम्बन्धी पीडाहरूजस्ता थुप्रै स्थानका तथ्यांककीय र सामाजिक पाटोबाट बुझ्ने मौका केन्द्रीय तथ्याङ्क विभागको प्राविधिक कर्मचारी छँदा पाएको थिएँ भने सशस्त्र द्वन्द्वकालको चरम अवस्थामा कालिकोट र बर्दिया जिल्लामा सुरक्षासँग सम्बन्धित निकायमा कार्यरत रहँदाको अवस्थादेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय योजना आयोग, महालेखा नियन्त्रक कार्यालय अन्तर्गत जिल्लामा रहने कार्यालयको प्रमुखको रूपमा बागलुङ र सिराहामा कार्यरत रहँदा एवं तत्पश्चात् महालेखा नियन्त्रक कार्यालयमा आइटी शाखा प्रमुख हुँदा वा सहरी विकास मन्त्रालयमा आर्थिक प्रशासन शाखा प्रमुखका रूपमा कार्यरत रहँदा सम्भव भएका कार्यसम्पादनसहित समाजलाई बुझ्ने र विकासलाई चिन्ने विषय पनि कम रोचक छैनन् । २२ वर्ष अवधि रहेको उक्त कालखण्डले नै मलाई वर्तमान दिएको छ सिकाई दिएको छ अनि केही गर्ने विहङ्गम दृष्टिकोण प्रदान गरेको दाबी गर्दछु ।

यस लेखमा भने सहसचिव लिखित परीक्षा उत्तीर्ण गरेपछि हालसम्म मुख्यरुपमा देशलाई चिन्न बुझ्न र छाम्न गरेको पहल तथा कार्यालयको कार्यप्रकृति अनुसार र आफ्नै सक्रियतामा आफूलाई प्राप्त म्यान्डेटअनुसार सम्भव भएका कामलाई सारमा प्रस्तुत गरेको छु । अवश्य पनि सो अवधिमा सम्भव भएका कामहरू नेतृत्वको सकारात्मक दिशानिर्देश तथा सपोर्ट एवं टिमका सदस्यहरूको सक्रिय सहभागिता एवं ऊर्जाका कारण सम्भव भएको मेरो आफ्नो ठहर रहेको छ ।

सहसचिवको तयारी गरिरहँदा सहरी विकास मन्त्रालयमा आर्थिक प्रशासन शाखाको प्रमुखको रूपमा कार्यरत थिएँ । पुगनपुग १ वर्षको सो मन्त्रालयको कार्यावधिमा लेखापालन, लेखापरीक्षण, बेरुजु फर्छयौँटका अलावा पहिलोपल्ट मन्त्रालय र मातहतका निकायमा आन्तरिक नियन्त्रण निर्देशिका तयार गरी कार्यान्वयनमा ल्याइएको थियो । परीक्षा तयारीको नाउँमा कार्यालय अनुपस्थित हुने वा कामलाई पन्छाउने जस्ता गलत अभ्यास गर्नुपरेन । मात्र प्राप्त भएको खाली समयको उचित प्रयोग गरी आफूलाई अपडेट गर्ने काममा आफूलाई अभ्यस्त राख्नु सफलताको कारण हो भन्ने मेरो ठम्याइ छ । चैत्र १० गते लिखित परीक्षाको नतिजाबारे जानकारी पाउनु अगाडि नै मन्त्रालयको सानो टिम सुदूरपश्चिमका केही जिल्लामा पुगी सहरी विकासका कार्यक्रम अनुगमन गर्ने कार्यक्रम बनिसकेको थियो । सोहीअनुसार हामीहरू सुदूरपश्चिम पुग्यौँ ।

डडेलधुराका आयोजना हेरिसकेर त्यहाँको उग्रतारा मन्दिर दर्शन गर्‍यौँ भने डोटी दिपायलस्थित सहरी विकास तथा भवन निर्माण कार्यालयको निरीक्षण तथा छलफल पछि त्यहाँका कार्यालय प्रमुखसहितको हाम्रो टोली खप्तडसम्मको यात्रामा निस्कियो । खप्तडको घाँसे मैदान एवं त्यहाँका प्राकृतिक एवं सांस्कृतिक धरोहरहरू खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने रहेछन् र यो भूभाग सेती अञ्चलका चार जिल्लाहरू डोटी बझाङ बाजुरा र अछामको सङ्गम क्षेत्रमा पर्ने रहेछ । डोटीबाट शुरुभएको यात्रा सूर्योदयदेखि सूर्यास्तसम्म खप्तड बाबाको आश्रम र मन्दिर नजिक पुगेर पूर्ण थकित शरीरलाई विश्राम दिने अवस्थामा गएर टुङ्गियो । खप्तड पवित्र भूमिको ऐतिहासिक, साहसिक, रोमाञ्चक र रमाइलो यात्रा गरिरहँदा यो स्थानमा पुनः आउन पाइयोस् भन्ने मनमा लागिरहेको थियो । खप्तडबाट फर्केपछि हामीहरू अछामको साफेवगर, मंगलसेनमा रहेका परियोजनाहरू र कैलालीको धनगढीमा रहेका परियोजना अवलोकनसमेत गरी काठमाडौँ फर्किदा १ हप्ता बितेको थियो । सो भ्रमण गरिरहँदा मनमा भने कता कता पहिलो पटक परीक्षामा समावेश गरिएको प्रस्तुतीकरण परीक्षा र त्यसपछि हुने अन्तरवार्तालाई के कसरी राम्रो बनाउने अनि तयारी गर्ने समय कतै फिल्डतर्फ गएर त बिताइन ? भन्ने खालको भयमिश्रित सन्देह लागिरहेको भएतापनि जीवनमा पहिलो पटक खप्तड भूमि पुगेर घुमेर अनि बुझेर फर्कन पाएकोमा भने थप ऊर्जा प्राप्त गरेको अनुभूति भइरहेको थियो । खप्तड स्वामी रहने गरेको आश्रम, उनले प्रयोग गर्ने पानीको धारो लगायत उनको जीवनसँग जोडिएका चिजवस्तुहरु हेर्ने मौका पाइयो । यस्तो महसुस भयो कि नेपालको महत्त्वपूर्ण भूभागमा पुगेर प्रकृतिको नजिकबाट बुझ्ने अवसर मिल्यो ।

चैत्र १० देखि १६ सम्मको पश्चिम यात्रापछि मन्त्रालयको नियमित कामका साथमा प्रस्तुतीकरण परीक्षा तयारीमा लागियो । चैत्र २७ गते प्रस्तुतीकरण परीक्षा भयो । त्यसपछि एकै पटक २०७४ वैशाख २२ मा सो प्रस्तुतीकरण सामग्री पेश मूल्याङ्कन समूहसमक्ष प्रस्तुत गर्ने तथा सोही दिन दिउसो अन्तरवार्तामा सरिक भइयो । वैशाख २६ गतेसम्म अन्तरवार्ता सञ्चालन भयो र सोही दिन भएको अन्तिम नतिजामा सि नं ५ मा नाम आयो । वैशाख ३० गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार जेठ १ गते नियुक्ति पत्र बुझियो र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा हाजिर गरियो ।

संयोग यस्तो पर्‍यो कि सहसचिव हुनु र संविधान अनुसार हुने स्थानीय र प्रतिनिधिसभा चुनावमा अनुगमनकर्ताको रूपमा काम गर्ने अवसर मिल्यो । स्थानीय चुनावमा ताप्लेजुङ जिल्ला र सङ्घीय चुनावमा खोटाङ जिल्लाको केन्द्रीय अनुगमनकर्ताको जिम्मेवारीमा रही काम गरेँ । दुवै जिल्ला मेरो लागि पहिलो पटकको भ्रमण पनि थिएँ । मिलेसम्म सबै स्थानीय तह तथा स्थानहरू पुग्ने जमर्को गरेँ उक्त अवधिमा। खोटाङको हलेसी र ताप्लेजुङको पाथीभरा पुग्ने रहर कसलाई नहोला । यी र यस्ता हाम्रा सांस्कृतिक धरोहरहरूले हाम्रो देशलाई चिनाएका मात्र छैनन् एकताको सूत्रमा बाँधेका पनि छन् । दुवै जिल्लामा स्थानीय प्रशासन र अन्य सरोकारवालाको पूर्ण सहयोग प्राप्त गरी विना कुनै विवाद चुनाव सम्पन्न भएको प्रतिवेदन बुझाइयो । त्यसपछि भने कुनै राम्रो मन्त्रालय वा कार्यालयको प्रतीक्षा गर्नुभन्दा रिक्त भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा काज पदस्थापन लिई सो कार्यालयमा काम प्रारम्भ गरेँ । प्राधिकरणमा झण्डै १ वर्ष र त्यसपछि भरतपुर महानगरपालिकामा डेढ वर्ष र हाल कार्यरत वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा पुगनपुग ८ महिना कार्यरत रहँदा सम्पादन भएका प्रमुख कार्यहरूलाई वुँदागतरुपमा प्रस्तुत गरेको छु :

कार्यालय तथा मुख्य मुख्य कार्यसम्पादन वा उपलब्धिहरू
१. राष्ट्रिय पुनर्निर्माण प्राधिकरण

• विपद्पछिको पुनर्निर्माण प्रक्रियामा संलग्न आधिकारिक केन्द्रीय निकायमा काम गर्ने अवसर प्राप्त भयो ।
• Livelihood promotion का कार्यक्रमहरू सञ्चालन, पुनर्निर्माण लैङ्गिकताको विषयमा संवाद गर्ने, जोखिममा रहेका समूहहरूको पहिचान तथा उनीहरूको हकमा पुनर्निर्माण सहजीकरण के कसरी गर्न सकिन्छ भन्नेमा सरोकारवालासँगको परामर्शमा सूचकहरू विकास गरिएको ।
• भूकम्पपीडितहरूका गुनासोहरूको सम्बोधनका लागि तथ्याङ्क, सूचना प्रणाली एवं निर्णयाधार तयार गर्ने सम्बन्धमा निरन्तर संयोजन र सुपरीवेक्षण
• सूचना सम्प्रेषण, भूकम्प प्रभावित जिल्ला तथा स्थानीय तहहरूसँग संवाद एवं पुननिर्माणका लागि वातावरण निर्माण

२. भरतपुर महानगरपालिका

  •  सङ्घीयता कार्यान्वयनको प्रारम्भिक चरणमा नेपालकै मुटुमा रहेको र चर्चामा रहने महानगरपालिकामा प्रशासन प्रमुखको जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त भयो ।
  •  महानगरपालिका र मातहतका वडा कार्यालयहरूको सुसञ्चालनका लागि निष्ठावान् र कर्मशील कर्मचारीहरू परिचालन तथा अनियमितता एवं भ्रष्टाचारजन्य क्रियाकलापमा शून्य सहनशीलता अवलम्बन
  •  स्रोत, सम्भावना र समस्यामा आधारित नीति तथा बजेट निर्माणमा निरन्तरको पहल र यसका लागि भिजनिङ एवं तथ्यमा आधारित नीतिका लागि विज्ञहरूको परिचालन गरिएको
  •  भू उपयोग योजना निर्माणका साथै कृषि र पशुपालनमा प्राथमिकताका साथै लघु तथा मझौला उद्योग एवं पर्यटकीय क्रियाकलापमा जोड दिइएको
  •  वातावरणीय सरसफाइलाई अभियानकै रूपमा अघि बढाइएको
  •  भरतपुर महानगरपालिकालाई सहयोगापेक्षी सडक मानवरहित बनाउने अभियानमा सक्रिय सहभागिता
  •  सेवा प्रवाहमा सूचना तथा प्रविधिको प्रयोगमा जोड

३. वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग

  •  स्वच्छ बजार निर्माण तथा उपभोक्ताको सरोकार रहेको क्षेत्रमा काम गर्ने अवसर प्राप्त
  •  कानुनले परिकल्पना गरेका मापदण्ड तथा कार्यविधिहरू निर्माणमा जोड
  •  विज्ञ परिचालन तथा सरोकारवालाबिच निरन्तर संवाद
  •  सूचना तथा सञ्चार प्रविधिको प्रयोग बढाई सेवा प्रवाहको प्रभावकारिता वृद्धि
  •  कोभिडको कारण लागू भएको लकडाउनको समयमा समेत प्रभावकारीरुपमा बजार अनुगमन गरी आपूर्ति प्रणाली र बजार मूल्यलाई नियमन गरिएको
  •  गरिमा धानको बीउ भनेर अन्य बीउ बेच्ने आयातकर्ता एवं विक्रेता, ग्याँस, सर्जिकल लगायतको उपभोग्य सामानमा व्यावसायिक कार्य वा कालोबजारी गर्ने व्यापारिक फर्म तथा सरकारले तोकेको दरभन्दा बढी शुल्क लिने अस्पताललाई समेत कानुनअनुसार कारबाही गरिएको
  •  विभाग र मातहत कार्यालयका साथै सबै जिल्ला प्रशासन कार्यालयका अधिकृत स्तरका कर्मचारीलाई बजार निरीक्षण अधिकृत तोकी कामलाई व्यापक बनाइएको ।

विभागमा कार्यरत रहेको केही महिनापछि जिल्लास्तर र प्रदेशस्तरमा उपभोक्ता हक अधिकारको संवाद गर्ने कार्यक्रमको क्रममा पूर्वका दुई जिल्ला सङ्खुवासभा र भोजपुर पहिलो पटक पुग्ने अवसर जुट्यो । अब भने आफू पुग्न बाँकी नेपालका जिल्लाहरू ५ वटा मात्र बाँकी छन् । छिटै पुग्ने धोको मनमा पालेको छु ।

तीन वर्ष तीन महिनाका माथि उल्लेखित प्रसङ्गहरू समष्टिमा देशलाई चिन्ने बुझ्ने र आफूलाई प्राप्त जिम्मेवारीलाई निष्ठापूर्वक पूरा गर्ने विषयसँग सम्बन्धित छन् । यहाँ नअटाएका थुप्रै कामहरू पनि यसबिचमा भए भने कतिपय कामहरू यसबिचमा सम्भव भएको भए सम्बन्धित संस्था र सिङ्गो देशका लागि थप योगदान पुग्ने पनि हुन सक्थ्यो । अपेक्षा गर्नु र नतिजा आउनुको बिचमा परिवेशजन्य र अन्य संस्थासँगको सापेक्षतामा हुने कामहरूले सिर्जना गर्ने वातावरण पनि जिम्मेवार हुने गर्दछ ।

सारमा भन्नुपर्दा आफुसम्वद्ध संस्थाको हित एवं सोभन्दा माथि नेपाल र नेपालीको हितलाई दृष्टिगत गरी आफ्नो काम कर्तव्यलाई निर्दिष्ट गर्नु तथा कामलाई थप प्रभावकारी बनाउन अन्य व्यक्ति वा संस्थाको विज्ञता वा सहयोग प्राप्त गर्नु मेरो मुख्य कार्यनीति रहेको विषय जानकारी गराउँदछु । राष्ट्रसेवा गर्ने बाँकी अवसरमा समेत विधि, विश्वास र समूह भावनाका अलावा आफ्नो यही कार्यनीतिलाई थप परिष्कृत गर्दै प्रयोगमा ल्याउने र आफुसंलग्न कामको भ्यालु एड गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । अस्तु ।

प्रतिक्रिया दिनुहोस